नेकपा रोल्पा पश्चिम कमाण्डको राजनीतिक प्रशिक्षण सम्पन्न

नेकपा रोल्पा पश्चिम कमाण्डको राजनीतिक प्रशिक्षण सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा पश्चिम कमाण्ड स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको घर्तीगाउँमा आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ ले कार्यकर्ताहरूलाई राजनीतिक प्रशिक्षण दिएका थिए ।

नेता विषमले प्रशिक्षणको क्रममा जनमतसङ्ग्रहका लागि प्रगतिशील सरकारको गठन गरि वैज्ञानिक समाजवादी व्यवस्थाको बिकल्प आजको आवश्यकता रहेको प्रस्ट्याएका थिए । १० बर्षे जनयुद्धको नेतृत्वले धोका दिंदा वैज्ञानिक समाजवादका लागि पुनः एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेको उनले बताए ।

एक फरक प्रसङ्गमा विषमले भने, ‘एकता बिषयमा प्रचण्डले भ्रम पारेका छन्, चुनावमा हार बेहोर्ने भएपछि विप्लवसँग सहकार्य गर्नसके भोट बटुल्न सकिने आशयबाट एकताको लागि कृष्णबहादुर महरालाई प्रयोग गरेका छन् र कार्यकर्ताहरू देखिएको तिब्र असन्तुष्टि मत्थर पार्न प्रचण्डले एकताको हल्ला फिजाएका छन् ।’

एमसीसी योजना नेपालमा भित्रिय राष्ट्रिय मुक्तिको लडाइँ हुने खतरा रहेको विषमले बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय मुक्तिको लडाइँ हुनेछ ।’

रोल्पाको पश्चिम क्षेत्र अन्तर्गतका ३ वटा गाउँपालिकाका पार्टी कार्यकर्ताहरूलाई केन्द्रित गरी एकदिने संयुक्त प्रशिक्षण भएको थियो । नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुबासको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्दले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य बिशेष कमिटी सदस्य सन्तोष सुबेदी ‘प्रयास’ ले दिएका थिए ।

माडी गाउँ कमिटी इन्चार्ज सन्दिप, गंगादेव गाउँ कमिटी इन्चार्ज किरण र परिवर्तन गाउँ कमिटी इन्चार्ज पृथ्वीले पार्टीको सङ्गठनात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । यस्तै जबस सङ्गठन प्रमुखहरू अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला अध्यक्ष प्रेमबहादुर वली, युवा सङ्गठन नेपालका अध्यक्ष डिल्लीरमण वलीलगायतले सङ्गठनात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रशिक्षणमा जबसका प्रमुख तथा प्रतिनिधिहरू, सहिद परिवार, पूर्व जनमुक्ति सेना, पुराना नेता तथा कार्यकर्ताहरूलगायत सयौँको सहभागिता रहेको थियो । नेकपाले यसअघि रोल्पाको सुलिचौर, त्रिबेणीमा राजनीतिक प्रशिक्षण सम्पन्न गरिसकेको छ भने थबाङ लगायतका ठाउँहरूमा प्रशिक्षण हुने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :