विप्लवका नेताहरुलाई रोल्पामा भव्य स्वागत

विप्लवका नेताहरुलाई रोल्पामा भव्य स्वागत

रोल्पाः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेताहरुलाई रोल्पामा भव्य स्वागत गरिएको छ । रोल्पाको जुगारमा आज पार्टीको एक प्रशिक्षण कार्यक्रमका लागि उपस्थित नेताहरुलाई स्थानीय जनताहरुले अबिर मालासहित स्वागत गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाठा सुवासको अध्यक्षतामा शुरु भएको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर विषम रहेका थिए भने अन्य अतिथिमा भक्तपुर जिल्लाका पूर्व डिसिएस बुद्दिलाल पुन समेतको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि विषमले नेपाल कम्युनिस्ट पार्टीसँग राज्यले गरेको तीन बुदे सम्झौता कार्यान्वयन गर्नमा राज्यले ढिला सुस्ति गरेकोप्रति चर्को आपत्ति व्यक्त गरेका थिए । राज्य आफैले गरेको सम्झौताप्रति जिम्मेवार बन्न आग्रह गर्दै नेता विषमले सम्झौता अक्षरंस पालना नगरे राज्यले ठूलो मुल्य चुकाउन तयार रहन समेत चेतावनी दिए ।

दलाल संसदिय व्यवस्थाको विकल्पमा नेकपाले अघि सारेको वैज्ञानिक समाजवाद नै उपयुक्त विकल्प रहेकै कारण पार्टीलाई जनताहरुले अतुलनीय साथ दिएको भन्दै उनले पार्टी एकताको हल्ला सत्य नरहेको बरु क्रान्तिले आवश्यक ठाने फेरी बलिदान गर्न पार्टी तयार रहेको स्पष्ट पारे । मुलुकको राजनीतिक परिवर्तनमा रोल्पाले गरेको बलिदान संस्थागत गर्न पार्टी निरन्तर संघर्षमा रहेको र फेरि नेकपाबाट जनतालाई धोका नहुने नेता विषमले दाबी गरे ।

दशवर्षे जनयुद्वका समयमा एक इमान्दर र त्यागी नेताको परिचय बनाएका रोल्पा‍ली नेता “विषम”ले जनयुद्वका एजेण्डा र उपलब्धीहरु प्रचण्ड लगाएतले दलाल संसदवादको टोकरीमा मिल्काएपछि पुनः नेकपाले क्रान्तिको झण्डा उठाएको स्पष्ट पारे । साथै उनले एकिकृत जनक्रान्तिको बाटोमा रगत बगाउनु भएका महान् शहिदहरुको सपना क्रान्तिकै माध्यमबाट पूरा गरिने प्रण समेत व्यक्त गरे ।

कार्यक्रममा त्रिवेणी गाउँपालिका भित्रका सबै गाउँकमिटी इन्चार्ज एवं सेक्रेटरीहरुले आआफ्नो क्षेत्रका पार्टीको संगठनात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । प्रस्तुत अधिकांश रिपोर्टमा पार्टीले अवलम्वन गरेको एकिकृत जनक्रान्ति, राज्यको चरम दमन, प्रतिबन्ध हुदै राज्यसँगको तीन बुदे सम्झौतासम्म आइपुग्दा जनस्तरमा नेपाल कम्युनिस्ट पार्टीले थप उचाई हासिल गरेको स्पष्ट पारिएको थियो । केहि समय भावुकता र केहि समय उत्साहपूर्ण वातावरणमा रहेको प्रशिक्षण कार्यक्रममा बोल्ने पूर्व जनमुक्ति सेनाहरुले आफुहरुले मुलुकको राष्ट्रियता र स्वाधीनताको निमित्त हतियार चलाउन बिर्सिएको हैन विश्राम मात्र लिएकाले आवश्यक परे विष्पोट रहन तयार रहेको अभिव्यक्ति दिएका थिए ।

रोल्पा जिल्लाका सेक्रेटरी दिनेश विक्रम चन्द मानवले संचालन गरेको उक्त प्रशिक्षण कार्यक्रममा रोल्पा जिल्लाका विषेश कमिटी सदस्य सन्तोष सुवेदी प्रयासले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ता, पूर्व जनमुक्ति सेनाहरु, जनयुद्वका घाइते अपांग र शहिद बेपत्ता परिवारका सदस्यहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :