राष्ट्रिय स्वाधीनतामा खेलकुदको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वाधीनतामा खेलकुदको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय समितिको आयोजनामा आज “राष्ट्रिय स्वाधीनतामा खेलकुदको भूमिका” विषयक बृहत अन्तरक्रिया कार्यक्रम अन्तर्राष्ट्रिय पौडी परिषर, सातदोबाटो ललितपुरमा भव्य रुपले सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यक्रम निकै सान्दर्भीक र समयसापेक्षित भएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चनले दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारणले गर्दा नेपालको राष्ट्रिय स्वाधीनता जहिले पनि सङ्कटमा पर्दै आएको र यसको असर खेलकुद क्षेत्रमा समेत प्रत्यक्ष परेको बताए । उनले भने, `आज राष्ट्रको अवस्था दयनीय छ, राष्ट्रको अवस्था जुन प्रकारको दयनीय छ, त्यस्तै खेल र खेलकुद क्षेत्रको अवस्था पनि दयनीय नै देखिन्छ । यो अवस्थालाई बदल्न हामी सबै जुट्नुपर्ने आवश्यकता आएको छ ।`

राज्यसत्ता नबदलिकन खेल क्षेत्र नबदलिने भन्दै उनले त्यही राज्यसत्ता बदल्नकै लागि आफूहरु लागिरहेको बताए ।


उनले भने, `खेल क्षेत्र राज्यको ठूलो प्रतिष्ठासँग जोडिएको हुन्छ, खेलाडी जन्माउने, टिकाउने र प्रोत्साहनको केन्द्र बनाउने र अन्तर्राष्ट्रिय मेडल प्राप्त गर्ने राज्यको पोलिसी चाहिन्छ तर अहिलेको दलाल संसदीय राज्य व्यवस्थाको योजना, दृष्टिकोण नै छैन त्यसैले अब खेल क्षेत्र बदल्नका लागि खेलाडी लगायत सबै एकताबद्ध भएर यो व्यवस्थालाई बदलेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौँ । जनमतद्वारा जनमत संग्रहद्वारा राज्य व्यवस्था बदल्यौँ ।`
अहिले राष्ट्रघाती एमसीसी परियोजनालाई नेपालमा लागु गरेर स्वाधीनतालाई दाउमा राख्न चाहने दलाल सत्ताधारीहरुलाई त्यस्तो नगर्न नेता कञ्चनले चेतावनी दिए ।

उनले भने, `कुनैपनि हालतमा एमसीसी परियोजना लागु गर्नु हुदैन यसले सिधै अमेरिकालाई वैधानिक प्रवेश गराउने छ, यो सहि छैन आज प्रस्तुत अवधारणापत्रले पनि त्यो कुरा बोलेको छ, अवधारणापत्रमा उठाइएका कुराहरु सहि छन् त्यो दिशामा सम्पूर्ण खेल क्षेत्र जानुपर्ने कुरामा सबै खेलाडीहरु र खेल क्षेत्रलाई अनुरोध छ ।`

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल गणतान्त्रिक खेलकुद महासंघका फ्याक्सन इन्चार्ज चिरण पुन मिलनले खेलकुदको भूमिका विषयक अवधारणापत्र पेश गरेका थिए । अवधारणापत्र पेश गर्दै उनले राष्ट्रको संङ्कटग्रष्त अवस्था र खेलकुद क्षेत्रले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरे । राज्य र खेलकुद क्षेत्रले भोग्नुपरेको समस्याको बारेमा यस्तो संङ्कटग्रष्त अवस्थामा राज्यसत्ता, सरकार, खेलकुद क्षेत्र, खेलाडी, राष्ट्रिय स्वाधीनताबारे के निकास हुन सक्ला त ? जसले सिङ्गो खेलकुद क्षेत्र र राष्ट्रलाई सही दिशातर्फ लैजाने भूमिका खेल्न सकोस् ! यसमा दुई दृष्टिकोण मुख्य हुन आउछ । एक ः राज्य र खेलकुदको यहि संरचनालाई कायम राखेर सुधार गर्दै जाने । दोश्रो ः राज्य र खेलकुदको यो संरचनालाई वैज्ञानिक ढंगले आमुल परिवर्तन गरेर जाने । यसमा दोश्रो विकल्प सहि भएको अवधारणापत्रमा नेता मिलनको जोड थियो ।

कार्यक्रममा नेपाल खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, एसियन फुलबल संघका उपाध्यक्ष गणेश थापा, खेलकुद कर्मचारी संघका अध्यक्ष रन्जन थापा, एन्फाका अध्यक्ष कर्मछिरिड्ड शेर्पा लगायतले आधारपत्रमा आधारित रहेर खेलक्षेत्रको विकासमा खेल्नुपर्ने भूमिका र राष्ट्रिय स्वाधीनताबारे मन्तव्य राखेका थिए । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्रबहादुर चन्दले गरेका थिए भने कार्यक्रमको संचालन संगठनका महासचिव विनोद चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :