नेकपासहित आठ राजनीतिक दलहरूले राष्ट्रघाती एमसीसीविरुद्ध सङ्घर्ष गर्ने

नेकपासहित आठ राजनीतिक दलहरूले राष्ट्रघाती एमसीसीविरुद्ध सङ्घर्ष गर्ने

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीलगायत आठ राजनीतिक दलहरूले नेपाली जनताको आवाजलाई बेवास्ता गर्दै राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वन गर्न खोज्ने मतियारहरूलाई नेपाली जनताले माफि नदिने स्पष्ट पारेको छ । साथै मङ्सिर २७ गते एमसीसीको काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने, मङ्सिर २८ गते संसद भवन घेराउ गर्ने, मङ्सिर २४ गते २६ राजनीतिक दल/सङ्गठनहरूले घोषणा गरेको कार्यक्रमलाई समर्थन गर्दै सफल पार्ने र आगामी परिस्थितिलाई हेरी थप सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा, नेपालका अध्यक्ष चित्रबहादुर केसीले बुधबार संयुक्त प्रेस विज्ञप्तिमार्फत सङ्घर्षको कार्यक्रमलाई सशक्त पार्न देशका कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू र आम नेपाली जनतालाई व्यापक सहभागिताको निम्ति हार्दिक अपिलसमेत गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशको सार्वभौमिकता भन्दा माथि रहने गरि गरिएको चरम राष्ट्रघाती र जनघाती एमसीसी सम्झौता राष्ट्रिय राजनीतिमा फेरि मडारिएर आएको छ । विगतमा नेपाली जनताको सङ्घर्षको बलले पारित हुन नसकेको एमसीसी सम्झौतालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद्‌बाट अनुमोदन गराएर लागू गर्ने धृष्टताकासाथ तयारी गरिरहेको सूचनाहरू सार्वजनिक भैरहेका छन् ।’

संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त प्रयोजनका लागि आगामी मङ्सिर २८ गते संसद अधिवेशन आह्वान् गरिएको छ । डिसेम्बर १३ मा एमसीसीको न्युयोर्कस्थित केन्द्रीय कार्यालयमा बैठक बस्दै छ । यो सँगै पछिल्ला घटनाक्रमले नेपाली दलाल शासकहरू राष्ट्रिय स्वाधिनतामाथि अमेरिकी साम्राज्यवादी आक्रमणलाई अन्तिम रूप दिँदैछन् भन्ने कुरा प्रष्ट हुन आउँछ । यसका विरुद्धको सङ्घर्षलाई शसक्त बनाउनु र खारेज गर्नु नेपाली जनताको जीवन मरणको विषय बन्न गएको छ । नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका निम्ति एमसीसी सम्झौता खारेज गर्न हामी कम्युनिस्ट पार्टी र मोर्चाहरूले संयुक्त सङ्घर्षको आह्वान् गरेका छौँ ।’

संयुक्त विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सङ्घर्षको कार्यक्रमलाई सशक्त पार्न देशका कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्त शक्तिहरू र आम नेपाली जनतालाई व्यापक सहभागिताको निम्ति हार्दिक अपिल गर्दछौँ । नेपाली जनताको आवाजलाई बेवास्ता गर्दै एमसीसी सम्झौता कार्यान्वन गर्न खोज्ने मतियारहरूलाई नेपाली जनताले माफि नदिने कुरासमेत स्पष्ट पार्न चाहन्छौँ । कार्यक्रमहरू : मङ्सिर २७ गते एमसीसीको काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने, मङ्सिर २८ गते संसद भवन घेराउ गर्ने, मङ्सिर २४ गते २६ राजनीतिक दल/सङ्गठनहरूले घोषणा गरेको कार्यक्रमलाई समर्थन गर्दै सफल पार्ने र आगामी परिस्थितिलाई हेरी थप सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिने छ ।’ संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :