इलाममा महासचिव विप्लवलाई भव्य स्वागत, क्रान्ति जारी रहेको उद्घोष

इलाममा महासचिव विप्लवलाई भव्य स्वागत, क्रान्ति जारी रहेको उद्घोष

इलाम : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहितका केन्द्रीय नेताहरूलाई इलाममा भव्य स्वागत गरिएको छ ।

मङ्गलबार इलामको फिक्कल बजारमा प्रशिक्षण दिन पुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्य असल लगायतका नेताहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले अबिर र माला लगाएर नारा जुलुससहित भव्य सम्मान गरेका हुन् । महासचिव विप्लवसहितको टोलीलाई स्वागत गर्न फिक्कल उद्योग बाणिज्य सङ्घका अध्यक्षसहितको टोली पनि आएको थियो ।

उपस्थित नेताकार्यकर्तालाई सम्बोधन गर्दै महासचिव विप्लवले प्रचण्डबाट विद्रोह गरेर किरणको नेतृत्वमा गठन भएको पार्टी र किरण बादलहरूबाट धेरै आशा गरेको तर उनीहरूले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेपछि त्यसबाट पनि विद्रोह गरेर एकीकृत जनक्रान्तिको बाटोमा आइपुगेको बताए । पुँजीवाद रहँदासम्म क्रान्ति सम्भव रहेको उल्लेख गर्दै महासचिव विप्लवले पार्टीले गरेको विद्रोह, पार्टी पुनर्गठन र एकीकृत जनक्रान्तिको बाटोबारे नेता कार्यकर्तालाई स्पस्ट पारेका थिए ।

यो क्रान्ति साँढेलाई दाइ गरेको जस्तो नभएर विशाल लक्ष्यका साथ गरिएको उल्लेख गर्दै महासचिव विप्लवले विदेशी दलालहरूले सिङ्गो माओवादीलाई खाल्डोमा हाल्ने योजना बनाएको तर त्यसबाट आफूहरू विद्रोह गरेर अगाडि बढेपछि दलालहरूले नेपाल कम्युनिस्ट पार्टी सिध्याउन प्रतिबन्ध लगाएको बताए । प्रतिबन्ध लगाएर २ महिनामा सिध्याउने धम्की दिने केपी–प्रचण्डहरू आफैँ सिध्धिन पुगेको उल्लेख गर्दै विप्लवले नेता आफैँ सचेत भएन भने यसले अन्तरद्वन्द निम्त्याउने र क्रान्ति असफल हुने बताए ।

महासचिव विप्लवले पार्टीले सरकारसँग तीनबुँदे सहमति गरेर आएपनि सहमति अनुसार सरकारले कार्यान्वयन नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी राष्ट्रियताको पक्षमा, भ्रष्टाचारका विरुद्ध, सामाजिक विभेद तथा जातीय छुवाछूतका विरूद्व, सुकुम्बासीहरूको पक्षमा तथा महँगी, तस्करीका विरूद्ध निरन्तर लडिरहने उद्घोष गरे ।

त्यसैगरी पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शनले मन्तव्य राख्दै उपस्थित नेता तथा कार्यकर्ताहरूलाई एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादबारे प्रस्ट पार्दै पार्टीले उठाएको जनमतसङ्ग्रहको एजेन्डा कमल थापाहरूले भने जस्तो गणतन्त्र की राजतन्त्र भन्ने नरहेको स्पष्ट पार्दै गलत प्रचारबाजीको भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिए । पार्टीको कार्यनीति नबुझेर केही साथीहरू पलायन भएको भन्दै नेता सुदर्शनले पार्टीको कार्यनीति र सिद्धान्तप्रति सबै नेताकार्यकर्ता प्रस्ट हुनुपर्ने बताए । उनले नेपालमा राणाशाषण, पञ्चायत, राजतन्त्रको अन्त्य भएपनि त्यसको प्रवृत्ति कायम नै रहेको भन्दै त्यसका विरुद्ध क्रान्ति आवश्यक रहेको बताए । साथै सुदर्शनले राज्यसत्ताका अङ्गहरू नबदलिकन समाजवाद नआउने उल्लेख गरे ।

महासचिव विप्लवको स्वागत पछि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्य असल, केन्द्रीय सदस्य एवम् ताप्लेजुङ, पाँचथर इन्चार्ज जोखिम, केन्द्रीय सल्लाहकार कमिटीका होम बिद्रोही लगायतको आतिथ्यता रहेको थियोे । मेची अञ्चलका १५० जना नेता तथा कार्यकर्ताहरूको सहभागितामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य सुमन लिम्बुले गरेका थिए भने कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज सुमनसिंहले गरेका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य पार्टीका केन्द्रीय सदस्य जोखिमले राखेका थिए भने त्यसपश्चात झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट जिल्ला कमिटीको तर्फबाट प्रतिनिधिहरूले पालैपालो रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :