अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले जागरण अभियान सञ्चालन गर्ने

अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले जागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ प्रदेश नं. ३ स्तरीय बैठक तथा मजदुर जागरण अभियानको उद्घाटन सम्पन्न भएको छ । तीन महिने मजदुर जागरण अभियानले मुख्य दुईवटा विषय वैज्ञानिक समाजवादको स्थापना र श्रमिक अधिकारको स्थापनाालाई मुख्य लक्ष्य बनाएको अभियानमा व्यापक सङ्गठन निर्माण, सदस्यता वितरण र श्रमिकहरूलाई जागरण पैदा गरिने छ ।

पार्टीका केन्द्रीय सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज मिलनको प्रमुख आथिथ्यतामा मङ्गलबार काठमाडौँमा बैठक सम्पन्न भएको हो । बैठकमा बोल्दै प्रमुख अतिथि मिलनले राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवादी हस्तक्षेप बढिरहेको, मूल्यवृद्धि, भ्रष्टाचार, कालोबजारी, तस्करी, कमिसनखोर, विचौलियाहरूको विगविगीले गर्दा जनताका दैनिक जीवन निकै कष्टकर बन्दै गइरहेको बताए । देश गम्भीर सङ्कटमा पर्दै गएको यस्तो अवस्थामा श्रमिकहरूको अधिकार स्थापित गर्न एकजुट हुनुपर्ने बेला आएको भन्दै मिलनले देशमा हुने राजनीतिक आन्दोलनहरूमा मजदुर सङ्गठनले नजिकबाट सहभागिता जनाउनुपर्ने जिम्मेवारी भएकोले यसलाई पूरा गर्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले निकै सचेतपूर्वक अघि बढ्नुपर्ने कुरा बताए ।

एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न चाहने आफ्नो पार्टीको उद्देश्य रहेको भन्दै इतिहासको गर्भिलो यात्रालाई पूरा गर्न सबै लामबद्ध हुनुपर्ने भन्दै मिलनले आजको वस्तुनिष्ट र वैज्ञानिक कार्यनीति भनेको जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवादमा पुग्न जनतामा जानु रहेको बताए । यस्तै बैठक तथा जागरण अभियानमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष विनोद थापाले आफ्नो सङ्गठनले सही विचार अघि सारेको भन्दै सही विचार र दृष्टिकोणलाई व्यापक जनता र श्रमिकहरूलाई एकताबद्ध गर्न कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरे ।

बैठक तथा जागरण अभियानको अध्यक्षता तथा सञ्चालन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ३ का इन्चार्ज शिसिर थापाले गरेका थिए । बैठकमा महासङ्घका केन्द्रीय सदस्य तथा प्रदेश ३ उपत्यका विशेष क्षेत्रका इन्चार्ज सरोज न्यापानेले अभियानको आचार निर्देशिका वाचन गरे । बैठक तथा जागरण अभियान प्रदेश अन्तरगतका सबै जिल्लाहरूका औद्योगिक क्षेत्र र प्रतिष्ठान केन्द्रित हुनेछ । प्रदेश ३ पूर्वि विशेष क्षेत्रमा सङ्गठनका केन्द्रीय सदस्य तथा इन्चार्ज जीत थामी, पश्चिम विशेष क्षेत्रमा केन्द्रीय सदस्य तथा पश्चिम विशेष क्षेत्रका इन्चार्ज राजकुमार मगर, प्रदेश नं. ३ उपत्यका विशेष क्षेत्रमा केन्द्रीय सदस्य तथा इन्चार्ज सरोज न्यौपाने र पेशागत सङ्घको टोलीमा भीम शर्मा, रामचन्द्र थापा, मोहन घले, लालबहादुर तामा, जुना दहाल, विशाल सुव्वा, सन्तोष तिवारी, भुवन विसी रहेको टोली निर्माण भएको छ ।

सबै जिल्लाहरूमा जिल्ला अध्यक्षको नेतृत्वमा अभियान टोलीको विभाजन गरिएको छ । अभियानमा वालपेन्टिङ, झन्डा ब्यानर टाङ्ने, सङ्गठन विस्तार गर्ने, सदस्यता वितरण गर्ने लगायतका कर्याक्रमहरू सञ्चालन गर्ने योजना बनेको छ । बैठक तथा श्रमिक जागरण अभियानमा यसक्षेत्रमा कार्यरत केन्द्रीय सदस्यहरू तथा जिल्लाका अध्यक्ष तथा संयोजकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :