दलित मुक्ति मोर्चाको नाम फेरिएर श्रमिक मोर्चा नेपाल राखियो

दलित मुक्ति मोर्चाको नाम फेरिएर श्रमिक मोर्चा नेपाल राखियो

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन दलित मुक्ति मोर्चाको नाम फेरिएर संगठनको नाम श्रमिक मोर्चा नेपाल भएको छ ।

धनगढीमा सम्पन्न पाँचौं राष्ट्रिय सम्मेलनले संगठनको नाम फेर्ने निर्णय गरेको थियो । कार्तिक २७, २८ र २९ गते सुदूरपश्चिमको धनगढीमा चलेको राष्ट्रिय सम्मेलनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको सहभागितामा नाम परिवर्तन गरेको संगठनका अध्यक्ष रामलाल विश्वकर्माले बताए ।

सो सम्मेलनले विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । मोर्चाको उपाध्यक्षमा जितेन्द्र महरा (मोरङ), महासचिवमा त्रिलोचन बिश्वकर्मा (भोजपुर), सचिवमा उमेश सिके (कास्की), रामकुमार पासवान (सिराहा) र कोषाध्यक्षमा जानकी बराह (रुपन्देही) लगायत ६१  सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

संगठनले जारी गरेको विज्ञप्तिमा दलित शब्दको विकल्पमा श्रमिक समुदाय राखिएको उल्लेख गरिएको छ । सङ्गठनको राजनीतिक रणनीतिक लक्ष वर्णव्यवस्थामा आधारित जातव्यवस्था उन्मूलन र दलाल पूजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको संगठनका अध्यक्ष विश्वकमाले बताए ।

मोर्चाको कार्यनीतिक लक्ष उत्पीडित श्रमिक समुदायको राजनीतिक र आर्थिक अधिकार प्राप्ति र जातमा आधारित सबैखाले विभेद र छुवाछूतको अन्त्य गर्नका लागि एकल तथा संयुक्त संघर्ष रहेको उनको भनाई छ ।

चौतर्फी नेतृत्व विकास, राजनीतिक र आर्थिक समृद्धिका साथै सामाजिक–सांस्कृतिक अन्तरघुलनका लागि व्यापक जनपरिचालन र जागरण अभियान सञ्चालन गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजिविका लगायतका अन्य कार्यहरु गर्ने मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :