नेकपाका सचिवालय सदस्य सुदर्शनलाई सर्लाहीमा स्वागत

नेकपाका सचिवालय सदस्य सुदर्शनलाई सर्लाहीमा स्वागत

सर्लाही : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई सर्लाहीमा सहिद परिवार र स्थानीय जनताले स्वागत गरेका छन् । बिहीबार बेलुका सर्लाही पुगेका नेता सुदर्शनलाई एक कार्यक्रमबीच त्यहाँका स्थानीय जनता र सहिद परिवारले स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रमपछि बोल्दै सुदर्शनले मधेशी जनताको पूर्ण मुक्तिको लागि सामन्ती वर्गमा व्यक्ति सत्तामा होइन, आधारभूत वर्गबाट आएका जनताका असली प्रतिनिधि सत्तामा पुग्नुपर्ने बताए । मधेशी जनतामा भएको उत्पीडन र सबैखाले उत्पीडनको अन्त्य वैज्ञानिक समाजवादमा मात्र हुने भन्दै सुदर्शनले वर्तमान व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद मात्र भएको बताए ।

पार्टी एकताबारे चलेका चर्चाहरूको बारेमा सहभागीहरूले राखेको जिज्ञासाको बारेमा बोल्दै सुदर्शनले कार्यदिशा र कार्यक्रम नमिलेसम्म एमाओवादी या कुनै पार्टीसँग एकता नहुने भन्दै सुदर्शनले पार्टी एकताको लागि राजनैतिक वैचारिक कार्यदिशा र कार्यक्रम मिल्नु पहिलो शर्त हुने बताए । राज्यसत्ता नपल्टाइकन यही व्यवस्थामा चुनाव भएमा केही फाइदा नहुने भन्दै व्यवस्था छान्ने चुनाव जनमतसङ्ग्रहको चुनाव भएमा आफ्नो पार्टीले भाग लिने बताए ।

सबै समस्याको समाधान वैज्ञानिक समाधान वैज्ञानिक समाजवाद भएको कारण यसको स्थापना नै हाम्रो उद्देश्य रहेको भन्दै सुदर्शनले नेपालमा आत्मसर्पणवादी प्रवृतिका नेताहरूको कारण राष्ट्रियता कमजोर बनेको बताए । यसको लागि सबै सचेत नागरिकहरू एकजुट हुन आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै पुर्व माओवादी नेता श्रीचन राय यादवले अहिलेसम्म भएका सबै कम्युनिस्ट पार्टीले पुँजीवादी व्यवस्थाको अभ्यास गरेको कारण सर्वहारा वर्गको उत्थान नभएको बताए । अहिलेसम्मका नेताहरूले वर्ग मधेशी जनताको पक्षमा होइन कि दलालहरूका पक्षमा काम गरको बताए । अहिलेसम्मका सबै मधेशी नेताहरूले जनताको मत लिएर सत्तामा पुग्ने र आफ्नो वर्ग परिवर्तन गरे दलाली गर्ने काम गरेको तर मधेशी जनताको पक्षमा काम नगरेको बताए । जनताको मुक्तिको लागि सर्वहारा वर्ग तथा मधेशी समुदायको उत्थानको लागि दलालमाथि पैदा गर्ने दलाल संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :