‘राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’

‘हामीले इतिहासका पाठहरूलाई सिकेनौँ भने इतिहासले हामीलाई केही पनि पाठ सिकाउँदैन तर हामीलाई कठोरतासाथ दण्ड दिन्छ ।’

–रबर्ट हेल्ब्रोनर, एक्काईसौँ शताब्दीको पुँजीवाद, पृष्ठ १५२

‘जबसम्म मानिसहरूले हरेक प्रकारको नैतिक, धार्मिक, राजनीतिक प्रकार, घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै वर्गीय स्वार्थको खोजी–नीति गर्न जान्ने छैनन् तबसम्म उनीहरूले राजनीतिमा सधैँ नै धोकाबाजी र आत्मवञ्चनाको सिकार बनिरहनु पर्नेछ ।’

–भी आई लेनिन, सङ्कलित रचना सङ्ग्रह, खण्ड २३, पृष्ठ ४०–४८, ऐरावती प्रकाशन (मार्क्सवादका तीन स्रोत र तीन सङ्घटक अङ्ग)

मानव जातिको प्रगति र शान्ति कसरी गर्न सकिएला भनेर समाजशास्त्री र चिन्तकहरूले प्राचीनकालदेखि नै अनेकौँ अन्वेषण र प्रयोग गर्दै आएका छन् र त्यो प्रक्रिया आजसम्म जारी छ । नेपालमा २००७ सालयता पटकपटक राजनीतिक परिवर्तन, विद्रोह, जनआन्दोलन र सङ्घर्ष भएका छन् । तर देश झन्झन् पराधीन हुँदै गएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाको सङ्कुचन भएको, जनता प्रताडित भएको र भविष्य अन्योलपूर्ण भएको सर्वत्र महसुस भएको छ । त्यसप्रकारको अवस्थासँगै यसको कारण र विकल्प के हुनसक्छ त ? भन्ने विषयमा बहस भइरहेको छ । यो कार्यपत्र यिनै विषयमा केन्द्रित छ ।

(क) ऐतिहासिक पृष्ठभूमि

बीसीई छैटौँ शताब्दीपूर्व नै अस्तित्वमा आएको युनानी दर्शनले वाद–विवाद र संवादलाई सत्यमा पुग्ने अर्थात् सत्यको अन्वेषण गर्ने आधार मान्थ्यो । उनीहरू चिन्तनको आधार धर्म, परम्परा र संस्कारलाई मान्दैनथे । धर्म र परम्परामा आधारित राज्य व्यवस्थाको विकल्प सोच्थे । तथ्य र तर्कद्वारा युक्तिसंगत भए स्वीकार गर्ने अन्यथा अस्वीकार गरिन्थ्यो । युनानी दर्शनका महान् दार्शनिक सोफिस्ट, सुकरात, प्लेटो त्यसका प्रणेता थिए । सुकरात शिल्पकार, कलाकार र राजनीतिज्ञहरू व्यक्तिगत हित–अहितका आधारमा नभएर समाजको हितमा सोच्नुपर्ने बताउँथे । चिन्तक र बौद्धिक तप्काले समाज परिवर्तनमा भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रवाह गरेकै कारण एथेन्सको सत्ताले उनलाई विष पियाएर हत्या गर्यो । त्यसैगरी सन् १७४८ मा प्रसिद्ध दार्शनिक, कलाकार तथा लेखक जिन ज्याक रुसो (१७१२–१७७८) ले परम्परागत चिन्तनप्रति प्रहार गर्दै ‘विज्ञान र कलाको उन्नतिले नैतिक जीवन उन्नत गर्यो कि भ्रष्ट गर्यो ?’ प्रश्न उठाएका थिए । राज्य र धर्मको कोपभाजनका कारण रुसो फ्रान्सबाट निर्वासन जान बाध्य भए । युरोपमा कतै शरण नपाएपछि पेरिस फर्केका रुसोले २ जुलाई १७७८ मा मानसिक सन्तुलन गुमाएर मर्नुपर्यो । पश्चगामी युरोपले उनको ज्यान लियो । तर उनको मृत्युको ११ वर्षपछि भएको फ्रेन्च क्रान्ति (५ मे १७८९–नोभेम्बर १७९९) को प्रेरणास्रोत नै रुसो मानिए । पृथ्वीका साधनस्रोत सबै श्रमिकको साझा हुनुपर्छ भन्ने मत राख्ने कार्ल हेनरिक माक्र्स (१८१८–१८८३) एक्ला दार्शनिक होइनन् । दार्शनिक पाइथागोरस (बीसीई ५८०/५७२–५००/४९०, युनान) ले ‘मित्रको वस्तुमाथि सबै मित्रको समान अधिकार (Friends’ goods are common goods)’ भनेका थिए जहाँ उत्पादनमाथि साझा स्वामित्व हुनुपर्ने विचार थियो ।

पूर्वीय सभ्यता पनि भौतिकवाद र अध्यात्मवाद, जनतन्त्र र निरङ्कुशताबीचको सङ्घर्ष पार गर्दै र विकसित हुँदै आएको छ । आर्यहरूको एउटा समूह दक्षिणएसियामा आएपछि हजारौँ वर्षसम्म गणराज्य थियो । समाजका प्रबुद्ध नरनारीहरू शास्त्रार्थमा भाग लिन्थे । विचार मन्थनमा श्रेष्ठ साबित भएका व्यक्तिहरूद्वारा जनपरिषद् गठन गरिन्थ्यो । जनपरिषद् नै राज्य सञ्चालनको साधन हुन्थ्यो । बीसीई ४२० सम्म पूर्वीय दर्शनमा गणराज्य र जनपरिषद् लोकप्रिय थिए । त्यसैगरी युरोपियन चिन्तक डेनिस दिदेरो (सन् १७१३–१७८४) ले ‘प्रकृतिले कसैलाई पनि अर्कोलाई आदेश दिने अधिकार दिएको छैन, स्वतन्त्रता दैवी दान हो’ भनेका थिए । पूर्वीय दर्शनमा राजावाद, ब्राह्मणवाद, मूर्तिवादका विरुद्धको धाराका रूपमा बुद्धवाद आयो । करिब ५ सय वर्षसम्म त्यसले समाजमा सकारात्मक भूमिका नर्वाह गर्यो । जब भिक्षुहरू नै ठूल्ठूला मठाधीश बनेर विलासी जीवन बिताउन थाले, विकृति बढेर गयो । बुद्धवाद अध्यात्मवादको नियन्त्रणमा गयो । इसामसिहले रोम साम्राज्यका विरुद्ध दास र पीडितहरूका पक्षमा ‘एक न्यायपूर्ण ईश्वरीय राज्य’ स्थापनाको आवाज उठाएका थिए । धार्मिक आदर्शसहितको विद्रोहलाई राजद्रोह ठहर गरी उनलाई शूलीमा चढाइयो । मोहम्मदका विचारहरू अरबको कबिलातन्त्री विविधता, बहुलता आदिका कारणले फैलिएका युद्ध, लुटपाट, अराजकता, अशान्तिजस्ता सामाजिक विकृति र अत्याचारका विरुद्ध थियो । यसरी मानवसभ्यताको उषाकालदेखि नै सत्ताले यथास्थितिको पक्ष लिने, त्यसका विरुद्धको आवाजलाई दमन गर्ने र त्यसका विरुद्ध प्रचलित मूल्य र कानुनको बर्खिलापमा नउभिएसम्म समाज एक पाइलो पनि अघि नबढ्ने हुँदै आएको छ । यसरी बलिदानको अथाह प्रक्रिया पूरा गरेर नै मानवसभ्यताको विकास हुँदै आएको छ । हरेक विद्रोह र बलिदानपछि समाज गुणात्मक वा मात्रात्मक रूपले अघि बढ्दै यहाँसम्म आइपुगेको छ । नेपाली समाजको ऐतिहासिक पृष्ठभूमि पनि योभन्दा भिन्न छैन ।

(ख) समाजवाद र नवमार्क्सवाद

कम्युनिस्ट पार्टीको घोषणापत्र जारी भएदेखि महान् बहस (सन् १९५७–१९६०) हुँदै आजसम्म पनि पुँजीवादी ध्रुवबाट मार्क्सवादमाथि आक्रमण भइरहेको छ । त्यसले समयानुकूल आक्रमणको शैलीलाई प्रभावकारी बनाउँदै गएको छ । त्यसै क्रममा बीसौँ शताब्दीको मध्यबाट साम्राज्यवादका पृष्ठपोषक चिन्तकहरूले नयाँ विचारहरू सार्वजनिक गरेका थिए जसमध्ये उत्तरआधुनिकतावाद मुख्य थियो जसमध्ये १९ औँ शताब्दीको मानवताविरोधी, तार्किकताविरोधी, नित्सेवादी विचार सापटी लिएर तथा त्यसैलाई छायाँकपी गरेर मानवद्रोही विचार–पुञ्ज निर्माण गर्यो जसबाट एडोल्फ हिटलर (१८८९–१९४५) र बेनिटो मुसोलिनी (१८८३–१९४५) को प्रेरणा–स्रोत निर्माण भयो जसमा स्पेङ्गलरको प्रकृतिवादविरोधी विचार, रुसी सर्वखण्डनवाद, नवकान्टवादी अज्ञेयवादलाई घालमेल गरेर ‘आधुनिक कक्टेल’ निर्माण गरिएको थियो । त्यही हतियारलाई उचालेर इतिहासको अन्त्य, पदार्थको अन्त्य, कविताको अन्त्य, दर्शन र विचारधाराको अन्त्य भन्न थालियो । जापानी मूलका अमेरिकी प्राज्ञ फ्रान्सिस फुकोयामा (१९५२) अग्रपङ्क्तिमा आए । बर्लिनको पर्खाल ढलेपछि त्यो प्रदूषित हावा झनै तीव्र भयो । त्यसको प्रकोपबाट कयौँ मार्क्सवादी चिन्तकहरू पनि प्रदूषित– सङ्क्रमित हुन थाले । त्यसैक्रममा माक्र्सवादमा संशोधन हुनुपर्ने आवाज उठ्न थाल्यो । कुनै समयमा उत्तरआधुनिकतावादले क्रान्तिकारी माक्र्सवादमाथि जुन आक्रमण गरेको थियो, त्यसैप्रकारको आक्रमण उत्तरमार्क्सवाद र नवमार्क्सवादले गर्न थाले जो मार्क्सवादको सारतत्व अथवा माक्र्सवादको आधारभूत मूल्यमाथि प्रहार गरेर भुत्ते बनाउन चाहन्थे । त्यसलाई लेखक सन्नी सिंहको शब्दमा ‘रेडिकल प्याकेज’ गरिएको पत्रु सामान भन्न सकिन्छ । त्यसको दार्शनिक स्रोत नित्से र हाइजेनबर्ग नै हो ।

नेपालमा नवमार्क्सवादको सङ्क्रमण मनमोहन अधिकारी, मदन भण्डारी, केपी ओली हुँदै प्रचण्डसम्म विस्तारित भएको छ । त्यसप्रकारका नवमार्क्सवादीहरूले भन्ने गरेको समाजवादसँग क्रान्तिकारी मार्क्सवादको ‘गोरु बेचेको साइनो’ पनि छैन । उनीहरूको समाजवाद एक झुण्ड पुँजीवादीहरूको ‘ट्रेडमार्क’ मात्रै हो ।

(ग) प्रजातान्त्रिक समाजवाद

अक्टोबर क्रान्ति भनिने रुसी समाजवादी क्रान्ति र त्यसको विश्वव्यापी प्रभावबाट पुँजीवादी विचार र व्यवस्थामाथि गम्भीर प्रश्न उठ्यो । समाजवादी प्रभावबाट बच्न अनेक विचार र प्रणालीको परिकल्पना गरियो । त्यसप्रकारका चिन्तकमध्ये मोहनदास कर्मचन्द गान्धी (१८६९–१९४८, भारत) एक हुन् । उत्पादनका साधनमाथि पुँजीपति वर्गको एकाधिकार र पुरानो शोषणमा आधारित व्यवस्था यथावत् राखेर सामाजिक न्याय र अवसरको समानता वकालत गर्ने व्यवस्थाको कल्पना नै गान्धी समाजवाद हो । ‘एकजना मानिसले यति मात्र लिने अधिकार छ जति उसको पेट भर्नका लागि पर्याप्त हुन्छ । त्योभन्दा बढी लिनु चोरी हो’, उनको विचार हो । भूमि सामूहिक स्वामित्वमा हुनुपर्ने र श्रम नगर्नेको अधिकार नहुने उनको विचार थियो । मार्क्सको समाजवाद द्वन्द्वात्मक भौतिकवादमा आधारित छ भने गान्धीको समाजवाद आदर्शवाद र पूर्वीय दर्शनको उदार तथा मानवतावादी पक्षमा आधारित छ । आध्यात्मिक प्रक्रियाबाट निजी स्वामित्वको अन्त्य गर्ने र वर्गसङ्घर्षलाई अस्वीकार गर्ने गान्धी विचारलाई पश्चिमा चिन्तकहरूले क्रान्तिकारी चिन्तन भनेका छन् । गान्धीको प्रभाव र समाजवादप्रतिको जनआकर्षणलाई मत्थर पार्ने उद्देश्यले जवाहरलाल नेहरू, विश्वेश्वरप्रसाद कोइरालालगायत समकालीन नेताहरूले ‘प्रजातान्त्रिक समाजवाद’ को परिकल्पना गरे । उनीहरूले पुँजीवादबाट ‘प्रजातन्त्र’ र अर्थप्रणालीमा ‘समाजवाद’ मिसाएर नयाँ व्यवस्था (बे्रन र बे्रडको मिश्रण) को परिकल्पना गरे जसलाई ‘प्रजातान्त्रिक समाजवाद’ भनिएको छ । समाजवादी सत्ताहरूको विघटनसँगै युरोपको लोककल्याणकारी राज्य पुरानै यात्रामा फर्केझैँ बीपीको समाजवादको चर्चा निस्तेज हुँदै गएको छ । गान्धीले निजी स्वामित्व अन्त्यको वकालत गरेका थिए भने प्रजातान्त्रिक समाजवादीहरूले निजी स्वामित्वको संरक्षण गरेका छन् । यो विचार मार्क्सवादबाट पुँजीवादलाई प्रतिरक्षा गर्ने क्रममा आएको चिन्तन हो ।

(घ) राष्ट्रिय समाजवाद

नेपाली जनतामा समाजवाद लोकप्रिय बनेको र विश्व–पुँजीवाद सङ्कटबाट अघि बढिरहेको वर्तमान अवस्थाका कारण समाजवाद नचाहने, पुँजीवादको वकालत गर्न नसक्ने र राष्ट्रभक्तिको बर्को ओडिरहनुपर्ने बाध्यताका कारण पूर्वपञ्चहरूको एउटा तप्काले ‘राष्ट्रिय समाजवाद’ भन्न थालेको छ । राष्ट्रिय राजनीतिमा ‘भेल छोप्ने’ उपभोक्तावादी चिन्तनबाट प्रभावित यो धाराको कुनै दार्शनिक चिन्तन र विरासत छैन । यसले समाजवादको लोकप्रियता नै प्रकट गर्दछ । यो पुँजीवाद र सामन्तवादको घालमेल गर्न चाहने पुँजीवादकै शाखा हो ।

(ङ) काल्पनिक समाजवाद

द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको जगमा नउभिएको समाजवादी चिन्तनलाई कार्ल मार्क्स (१८१८–१८८३) ले काल्पनिक समाजवाद (Utopian Socialism) नामकरण गर्नुभएको थियो जसमा सेन्ट साइमन (१७६०–१८२५), चाल्र्स फुरिये (१७७२–१८३७), रोबर्ट ओबेन (१७७१–१८५८) प्रमुख छन् । यिनीहरूको समाजवाद प्राप्तिको बाटो भौतिक र वैज्ञानिक आधारमा नभएर सुधारवादी थियो । उनीहरू आध्यात्मिक तथा मानवताको प्रचारद्वारा समाजवाद स्थापना गर्ने कल्पना गर्थे । बीसीई ६०० वर्षअगाडि नै समाजवाद शब्दको प्रयोग भएको भए पनि प्लेटोले समाजवादको सर्वप्रथम स्पष्ट व्याख्या गरेका थिए । उनीहरू शैक्षिक र नैतिक प्रचार, समाज सुधार, सहकारी आन्दोलनद्वारा शोषणको अन्त्य चाहन्थे । प्लेटोले त त्यसअघि नै महिला, बच्चाबच्ची र जमिनको सामूहिकीकरणको प्रस्ताव गरेका थिए । चार्टिस्ट आन्दोलन (१८३८–१८४८) ले मजदुरको अधिकार प्राप्त गर्ने, मजदुर सरकार स्थापना गर्ने, आर्थिक र सामाजिक सुधार गर्न चाहन्थ्यो । सर्वहारा र पुँजीपति वर्गको विज्ञानको गति धिमा रहेको तर शोषण र उत्पीडनबाट मुक्तिको ‘पवित्र कल्पना’ गर्ने यसप्रकारको समाजवादी धारालाई काल्पनिक समाजवाद भनिन्छ । पुँजीपति र सर्वहारा वर्गको प्रारम्भिक र अविकसित अवस्थाको सङ्घर्षको अभिव्यक्ति काल्पनिक समाजवाद हो ।

(च) वैज्ञानिक समाजवाद

अठारौँ शताब्दीको औद्योगिक क्रान्तिले पुँजीपति वर्ग र सर्वहारा वर्गको उदय भयो । विज्ञान र प्रविधिमा अकल्पनीय विकास भयो । प्राचीन मान्यता र धार्मिक अन्धविश्वासहरू धराशायी भएर गए । त्यस्तो वस्तुगत परिस्थितिले आधुनिक समाजवादको अनुकूल वस्तुगत अवस्था सिर्जना गर्यो । पुँजीवादका विरुद्ध सर्वहारा वर्गको राज्यसत्ता स्थापना भएको समाज व्यवस्था नै समाजवादी व्यवस्था हो जसमा सर्वहारा वर्गको अधिनायकत्व हुन्छ । यसलाई पुँजीवादबाट साम्यवादमा सङ्क्रमण गर्ने सङ्क्रमणकालीन व्यवस्था मानिन्छ । उत्पादनका साधनहरू सामाजिकीकरण भए पनि पुँजीवादका जन्मचिह्नहरू कायमै रहन्छन् । ‘योग्यताअनुसारको काम, कामअनुसारको दाम’ राज्यको श्रमनीति हुन्छ । समाजवादी व्यवस्थाका सन्दर्भमा एङ्गेल्स भन्नुहुन्छ, ‘इतिहासको भौतिकवादी धारणा र अतिरिक्त मूल्यद्वारा पुँजीवादी उत्पादनको रहस्यको उद्घाटन– यी दुई महान् आविष्कारहरूका लागि हामी मार्क्सप्रति आभारी छौँ । यी आविष्कारहरूसँगै समाजवाद एक विज्ञान बन्न गयो ।’ इतिहासको भौतिकवादी धारणाअनुसारको व्यवस्था हुनाले यो वैज्ञानिक व्यवस्था हो । अर्कोतिर मार्क्सदेखि लेनिनको युगसम्म आउँदा सामन्ती समाजवाद, निम्न पुँजीवादी समाजवाद, जर्मन समाजवाद, पुँजीजीवी समाजवाद, काल्पनिक समाजवादजस्ता अनेक विचारहरू प्रकट भएपछि विभिन्न रूपका समाजवाद र वास्तविक समाजवादको भेद छुट्ट्याउन (सार र रूपको एकत्व कायम गर्न) ‘वैज्ञानिक समाजवाद’ पदावली प्रयोग गरिएको थियो । नेपालमा त प्रजातान्त्रिक समाजवाद, एक्काईसौँ शताब्दीको समाजवाद, समावेशी समाजवाद, राष्ट्रिय समाजवादजस्ता ‘ऐँजेरु समाजवाद’ को प्रदूषित वायु प्रवाह भइरहेका कारण क्रान्तिकारी माओवादीहरूले ‘वैज्ञानिक समाजवाद’ पदावली प्रयोग गर्नुपर्ने भएको छ ।

(छ) राजनीनिक समस्या र समाधान

नेपालमा राजनीतिक समस्या कायम रहेकोमा सबै सहमत देखिन्छन् तर विकल्पमा अनेकता छ । विकल्पको अन्तिम निर्णयकर्ता तथा न्यायाधीश जनता हुन् । पूर्वीय दर्शनमा समाज र चिन्तनको समस्या शास्त्रार्थ गरेर टुङ्गो लगाउने गरिन्थ्यो । ऋषि यज्ञवल्क्यको समूहले शास्त्रार्थमा पराजित हुँदै गर्दा ऋषि विदग्ध शाकल्यको शिरोच्छेदन गरे भने गार्गी वाचक्नवीलाई त्यसै गर्ने धम्की दिए । त्यसपछि नै पूर्वीय दर्शन र समाजमा बौद्धिकताको स्थान बाहुबलले कब्जा गर्यो । आज पनि बौद्धिकता र जनमतमाथि बन्दुक र विदेशी शक्तिकेन्द्रको शासन चलिरहेको छ ।

नेपालको राजनीति सामान्यतः २०० वर्षदेखि र विशेषतः वि.सं.२००७ सालदेखि मूलतः एउटै राजनीतिक चरित्र, समस्या, रसायन र जोखिमबीच अघि बढिरहेको छ । संसदीय प्रजातान्त्रिक व्यवस्था, पञ्चायती व्यवस्था, राजाको प्रत्यक्ष शासन, गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था गरी फरक नामधारी व्यवस्थाअन्तर्गत पटकपटक संविधान निर्माण र संशोधनको नाटक गरे पनि वास्तविक राजकीय कार्यकारी अधिकार र सार्वभौमिकता जनताको तहमा चेतनशील ढङ्गले जानै नदिई सामन्तवादको केन्द्र, केही दलका टाठाबाठा र विदेशीको इसारामा नियन्त्रित छ । यो शासकीय पद्धतिमा सयौँ वर्षदेखि १ प्रतिशतले बाँकी ९९ प्रतिशत श्रमजीवी जनतामाथि अन्यायपूर्ण शासन लादिरहेको छ । राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र, प्राकृतिक स्रोतको परिचालन (जलस्रोत तथा खनिज पदार्थलाई कौडीको मूल्यमा शक्तिराष्ट्र र स्थानीय दलाललाई खुसी पार्न उपहारस्वरूप दिइएको) र राष्ट्रिय सुरक्षालगायतमा वास्तविक रूपमा नेपाल स्वतन्त्र नहुनु नै आजसम्मको मूल समस्या र पछौटेपनका कारण हुन् ।

समाज, श्रम र उपभोक्तालाई अत्यधिक दोहन गर्ने सार्वभौम पुँजीवादी चरित्रअनुसार नै सन् १९३० को दशकमा संसारले भोगेको महामन्दी हुँदै पछिल्लो समय २००७–०९ को वित्तीय सङ्कटले दलाल पुँजीवाद र साम्राज्यवादको गहिरो मरणोन्मुख सङ्कटलाई देखाउँछ । नेपाल सामन्तवादबाट पुँजीवादमा प्रवेश नगरी दलाल पुँजीवादमा प्रवेश गरेकाले बहुआयामिक सङ्कट र जटिलता उत्पन्न गरेको छ । दलाल पुँजीवादले समाजलाई सधैँ सङ्कट र अस्थिरतामा राखेर श्रमजीवी वर्गले सिर्जना गरेको मूल्यलाई दोहन गरी व्यक्तिले खडा गरेको निगमको नियन्त्रणमा ल्याएको छ । निगमकै प्रत्यक्ष नियन्त्रणमा राजनीति चलेको हुन्छ । त्यसैले सामन्तवाद र पुँजीवादमा नाम मात्रको कागजी प्रजातन्त्र हुन्छ । शक्तिको स्रोत दलालहरू हुने भएकाले वास्तविक प्रजातन्त्र सम्भव हुँदैन । वैज्ञानिक समाजवादमा मात्र वास्तविक प्रजातन्त्र र जनमतको सम्मान हुन्छ । जनबलबाट स्थापित वैज्ञानिक समाजवादले प्रकृति, समाज, राज्यसत्ता, वर्ग/क्रान्तिलाई भौतिकवादी तरिकाले अध्ययन गर्ने, बुझ्ने र सञ्चालन गर्दछ ।

जनयुद्ध र गणतन्त्र स्थापनालगायत आन्तरिक र बाह्य विश्वव्यापी कारणले नेपाली समाजको विशेषता परिवर्तन भएको छ । दलाल पुँजीवादको शोषण, बढ्दो ऋणभार र असमानताले गर्दा विज्ञ पेसाकर्मी र मध्यम वर्गसमेत पीडित भएकाले क्रान्तिका लागि मित्रशक्ति बनेको छ । अहिलेसम्म आन्दोलन र सङ्घर्षमा भाग नलिएका जनता एकीकृत जनक्रान्तिमा सहभागी भइरहेका छन् । सूचना–प्रविधिको विकास र आफन्तबाट विप्रेषण प्राप्त गर्ने घरपरिवारको सङ्ख्या बढ्दै गएकाले गाउँ र सहरको भिन्नता कम हुँदै गएको छ । शक्तिराष्ट्रबीचको भूराजनीतिक घर्षणले नेपालको महत्व तथा चुनौती बढ्दै गइरहेकाले स्वाधीन राजनीतिक व्यवस्थामार्फत राष्ट्र/जनताको भूराजनीतिक जोखिम प्रतिरोधी क्षमता बढाउनसमेत क्रान्ति सम्पन्न गर्नुपर्दछ । देशभक्त शक्तिको बलियो उपस्थितिले समाजवादी क्रान्तिलाई सहयोग पुगिरहेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशाले यी विशेषतालाई ध्यान दिई क्रान्तिका विभिन्न आधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्दछ । वैज्ञानिक दर्शन, क्रान्तिकारी पार्टी, विज्ञान–प्रविधि, जनसेना, मोर्चालगायत एकीकृत जनक्रान्तिका आधार मात्र नभई समाजवादको स्थापना, रक्षा र विकासका साधनसमेत हुन् । सामन्तवादी केन्द्रको अवसानपछि दलाल पुँजीवादको नेतृत्वमा राजकीय शक्ति रहेकाले वैज्ञानिक समाजवादको स्थापनाबाट मात्र पूर्ण राजनीतिक क्रान्ति सम्पन्न भई जनताको प्रजातन्त्र स्थापना हुने देखिन्छ ।

संसदीय पुँजीवादी व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थालाई तालिकामा तुलना गरेर अध्ययन गर्न सकिन्छ । :


नेपालमा हरेक एक दशकमा विद्रोह वा जनआन्दोलनको चक्र जारी छ । २०५२ सालमा जनयुद्ध सुरु भयो । त्यसको कारणबारे विद्वान् प्रदीप गिरी भन्छन्, ‘जङ्गल सुकेको थियो, माओवादीले सलाई कोरेर आगो सल्कायो ।’ २००७ सालमा नेपाली जनताले काङ्ग्रेसलाई साथ दिएका थिए तर काङ्ग्रेसले जनअपेक्षा र आवश्यकता पूरा गर्न सकेन । गिरी भन्छन्, ‘बीपीले राजनीनिक परिवर्तन गर्न सक्नुभएन । पूर्णता दिनुपर्छ भन्ने लाग्यो । रुस, चीनमा झट्का दिइयो । नेपालमा ‘हलाल क्रान्ति’ भयो, छिनाल्न सकिएन । यसमा विदेशीको भूमिका छ । यो विषय टुङ्गो लाग्नुपर्छ ।’ कार्ल मार्क्सले पुँजीवादको व्याख्या गर्ने क्रममा ‘जहाँ सम्पत्तिको केन्द्रीकरण हुन्छ, त्यहीँ राजनीतिको पनि केन्द्रीकरण हुन्छ’ भन्नुभएको थियो । आज विश्वको राजनीति शक्तिराष्ट्रहरूको हातमा केन्द्रित भएको छ र गिरीले भनेझैँ विद्रोह र जनआन्दोलनहरू सम्झौतामा टुङ्गिएका छन् र उपरिसंरचनामा सामान्य हेरफेर गरेर कुलीन वर्गको सत्ता र शक्ति निरन्तर कायम छ । समस्या यहीँनेर छ । आर्थिक, राजनीनिक र सांस्कृतिक स्वतन्त्रता, सामाजिक प्रतिष्ठा र समान अधिकार सबै नागरिकको अपेक्षा र जन्मजात अधिकार हो । नेपाल पक्ष रहेको संयुक्त राष्ट्रसङ्घ, मानवअधिकारको विश्वव्यापी घोषणापत्र (१९४८, धारा १) मा भनिएको छ, ‘सबै व्यक्ति जन्मजात स्वतन्त्र र प्रतिष्ठा एवम् मानवअधिकारमा समान छन् ।’ नेपालमा भएका व्यवस्थाले आफू नै पक्ष रहेको संयुक्त राष्ट्रसङ्घका प्रतिबद्धताहरू उल्लङ्घन गर्दै आएको छ । जनतालाई हरेक ५ वर्षमा सरकार छान्न, दलाल पुँजीवादका कारिन्दा छान्न दिइन्छ तर आजसम्म व्यवस्था छान्न दिइएको छैन । त्यसैले ‘संसदीय पुँजीवादी व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्था’ एउटा छान्ने अधिकार दिइनुपर्छ । वैज्ञानिक समाजवादप्रति जनमत बढ्दै गएको वर्तमान अवस्थामा लोकतन्त्र वा जनतन्त्रप्रति विश्वास गर्नेहरूले व्यवस्था छान्ने अभिमतलाई बल प्रयोग गरेर दमन गर्दा हिंसात्मक विद्रोह बाध्यकारी विकल्प बन्न जान्छ । आज श्रम र पुँजी, दलाल शक्ति र देशभक्त शक्ति, परतन्त्र र स्वतन्त्र प्रवृत्तिबीच अन्तरबिरोध बढ्दै, शत्रुतापूर्ण बन्दै गएको छ । यो अन्तरविरोधलाई शान्तिपूर्ण ढङ्गले समाधान गरिएन भने राजनीति हिंसात्मक चरणमा जान सक्छ । त्यसैले जनमतसङ्ग्रहको माध्यमबाट राजनीतिक समस्याको समाधान गर्नु देश र जनताको हितमा हुन्छ ।

सारांश

दलाल पुँजीवादले आफैँले उत्पन्न गरेको सङ्कट टार्न फौज परिचालन गर्दछ र सम्पत्तिको दुरुपयोग गरेर सबैलाई खरिद गर्दछ । फौज र पैसाको बलमा निरङ्कुश दिशामा हिँड्छ । पैसा विदेशी बैङ्कमा, छोराछोरी विदेशमा, आफ्नो ज्यान देशमा, मन र पक्षधरता विदेशमा ‘ग्रिन कार्ड’ बोकेर उच्च ओहोदामा रहनु दलाल पुँजीवादको चारित्रिक विशेषता हो । सेना, प्रहरी र युवालाई आधुनिक दासका रूपमा विदेशमा बेचेर प्राप्त विप्रेषणबाट शासन चलाउँछ । त्यही भ्रष्ट, पतीत, अनैतिक, देशद्रोही रजगज कायम गर्न शक्तिकेन्द्रको चाकडी, जनदमन र शोषण गर्नु दलाल पुँजीवादको दैनिक काम हो । नेपालको वर्तमान राजनीतिक, आर्थिक र सांस्कृतिक अवस्था आफ्नो समयको एन्टोनियो ग्राम्सीको अवस्थासँग धेरै हदसम्म मिल्दो छ । ग्राम्सी भन्छन्– सङ्कट ठ्याक्कै केमा निर्भर छ भने पुरानो मरिरहेको छ तर नयाँ जन्म लिन सकिरहेको छैन । यस अन्तरकालमा सबै प्रकारका रुग्ण लक्षणहरूले जन्म लिने गर्छन् । नयाँको जन्म अनिवार्य भएको तर पुरानैले शासन गर्दा चौतर्फी समस्याहरू देखापरेका छन् । भीमदत्त पन्तको हत्या, मदन भण्डारीको रहस्यमय हत्या, राजा वीरेन्द्रको वंशनास हुँदै नेकपामाथि लगाइएको प्रतिबन्ध र दमनको शृङ्खला हेर्दा दलाल पुँजीवादका विरुद्ध लड्न कति कठिन छ भन्ने स्पष्ट हुन्छ तर स्वतन्त्रता र अधिकारका निम्ति प्रतिरोध सङ्घर्षको विकल्प छैन । आज साम्राज्यवादी शक्तिहरूबीच शक्ति सन्तुलन बिग्रेको छ र भयानक बन्दैछ । श्रम र पुँजीका बीचमा अन्तर्विरोध बढ्दै गएको छ र पुँजीवाद वैचारिक, आर्थिक, सांस्कृतिक रूपले सङ्कटमा फस्दै गएको छ । चीन–अमेरिका व्यापार युद्ध, अमेरिका–युरोपबीचको बढ्दो प्रतिस्पर्धा र तनाव, अमेरिकी समाजको स्खलन र आर्थिक सङ्कट, अफगानिस्तानबाट अमेरिकी गठबन्धनको लज्जास्पद पलायन, उदारवाद र भूमण्डलीकरणको असफलता र राष्ट्रिय मुक्ति आन्दोलनको बढ्दो सफलताका पछिल्ला घटनाले पुँजीवादको असफलता र वैज्ञानिक समाजवादलाई अनिवार्य विकल्पका रूपमा उभ्याउँदै लगेको छ ।

सन्दर्भ सामग्री

१. कम्युनिस्ट पार्टीको घोषणापत्र, मार्क्स–एङ्गेल्स, अग्निपरीक्षा जनप्रकाशनगृह प्रा.लि., काठमाडौँ ।
२. मार्क्स–एङ्गेल्स, सङ्कलित रचनाएँ, खण्ड ३, भाग १, पृष्ठ ६५, प्रगति प्रकाशन, मास्को, १९७८ ।
३. पुँजीवाद कि वैज्ञानिक समाजवाद, विप्लव, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग, नेपाल कम्युनिस्ट पार्टी ।
४. वैज्ञानिक समाजवादका विशेषताहरू, विप्लव, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग, नेपाल कम्युनिस्ट पार्टी ।
५. हिमाली दर्शन, मोहन बैद्य ‘किरण’ साझा प्रकाशन, काठमाडौँ ।
६. मार्क्सवादी दर्शन, मोहन वैद्य ‘किरण’, प्रगतिशील अध्ययन केन्द्र, काठमाडौँ, २०६७ ।
७. पूर्वीय दर्शनमा भौतिकवाद, रामराज रेग्मी, जागरण बुक हाउस, काठमाडौँ ।
८. विज्ञान और मार्क्सवादी दर्शन के सम्बन्धोँ का एक अवैज्ञानिक और अज्ञानतापूर्ण पाठ : एक आलोचना– सनी सिंह ।
९. राजनीतिक विचारधारा र विश्लेषण, प्रा. गोपाल सिवाकोटी, पैरवी प्रकाशन, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :