प्रचण्ड–केपीले अब फेरि बहुमत ल्याए राजालाई सत्ता बुझाउँछन् : एटम

प्रचण्ड–केपीले अब फेरि बहुमत ल्याए राजालाई सत्ता बुझाउँछन् : एटम

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एटमले प्रचण्ड–केपीले फेरि बहुमत ल्याए सत्ता राजालाई बुझाउने बताएका छन् । प्रचण्ड र केपी ओलीको नक्कली कम्युनिस्ट पार्टी भएको बताउँदै उनले पहिला बहुमत ल्याएर सत्ता काँग्रेसलाई बुझाएको र फेरि बहुमत ल्याए राजालाई सत्ता बुझाउने बताए ।

जनपत्रकार सङ्गठन नेपाल कर्णाली प्रदेशको बैठकलाई सम्बोधन गर्दै नेता एटमले भने, ‘नेपालमा प्रचण्ड र केपी ओलीले नक्कली कम्युनिस्ट पार्टी चलाएका छन् । पहिला दुबै मिलेर बहुमत ल्याए । अन्तिममा फुटेर काँग्रेसलाई सत्ता बुझाए । फेरि पनि यीनैले बहुमत ल्याए अब राजालाई सत्ता बुझाउँछन् ।’ उनले संसदीय चुनावले देशमा निकास नहुने पनि बताए । यसको उत्तम विकल्प भनेको अब जनतालाई व्यवस्था चुन्न दिनुपर्ने उनको भनाई छ । नेपालमा संसदीय व्यवस्था फालेर वैज्ञानिक समाजवाद स्थापना नगर्दासम्म समस्या समाधान नहुने उनले बताए ।

जनमतसङ्ग्रह गरेर नयाँ व्यवस्था चुन्नुपर्ने उनले बताए । चुनाव प्रजातन्त्रको सौन्दर्य हो भन्ने पार्टीहरूले व्यवस्थाको चुनाव किन गर्न नसकेको भन्दै उनले प्रश्न गरे । व्यवस्था चुन्न जनमतसङ्ग्रहमा नजानु भनेको फासिवादी चरित्र प्रदर्शन गर्ने कार्य भएको उनले बताए । नेता एटमले नेपालमा ठूला मिडिया पैसाको लागि जे पनि गर्न तयार भएको बताए । विदेशीको लाखौँ डलर खाएर नेपालका केही मिडियाहरूले राष्ट्रघाती एमसीसीको विज्ञापनसमेत बजाउने कार्य गरेको उनले बताए । पत्रकार जनमुखी हुनुपर्ने बताउँदै उनले जनताको पक्षमा काम गर्न पत्रकारहरूलाई आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :