वैज्ञानिक समाजवादका विशेषताहरू २

वैज्ञानिक समाजवादका विशेषताहरू २

३) सामाजिक विशेषता

१) देश र जनताका लागि जीवन बलिदान गर्ने महान् सहिद तथा बेपत्ता योद्धा, घाइते योद्धाहरूलाई विशेष सम्मानसहित उहाँहरूको त्यागलाई आदर्शीकरण गरिनेछ । सहिद तथा बेपत्ता योद्धा परिवरको शिक्षा, रोजगारी सुनिश्चित गरिनेछ । घाइतेहरूको भरणपोषण र बालबच्चाको शिक्षा, रोजगारी सुनिश्चित गरिनेछ । बिरामी, अशक्त नागरिकका लागि सुरक्षा भत्ताको व्यवस्था गरिनेछ । पारिवारिक समस्या एवम् सामाजिक स्रोतको अभावले गर्दा सामान्य जीवनयापन, स्वास्थ्यजस्ता समस्यामा परेका बिरामी, अशक्त नागरिकलाई राज्यले सेवासुविधा उपलब्ध गराउनेछ ।

२) सामन्ती व्यवस्थामा लादिएको अमानवीय जात व्यवस्थालाई उत्मूलन गरिनेछ । राज्यको नेतृत्वमा वर्गविहीन, जातिविहीन, धर्मविहीन नयाँ एवम् समान मानव जातिको निर्माण गरिनेछ ।

३) समाजमा सामाजिक संस्कार, संस्कृतिको संरक्षण गर्दै धार्मिक अन्धविश्वास, बोक्सी, धामीझाँक्री प्रथालाई राज्यले उन्मूलन गर्नेछ । हरेक नागरिकलाई वैज्ञानिक ज्ञानद्वारा प्रशिक्षित गर्ने अभियान चलाइनेछ ।

४) शिक्षा र स्वास्थ्य, यातायात, सूचनाजस्ता विषयलाई राज्यले आफ्नो स्वामित्वमा लिनेछ । यी क्षेत्रका विभेद र असमानतालाई अन्त्य गर्नेछ ।

५) शिक्षा, स्वास्थ्यलाई व्यापारीकरणबाट मुक्त गरिनेछ । साथै तीमाथि हरेक नागरिकका लागि आधारभूत रूपले समान अधिकार स्थापित गरिनेछ ।

६) सुत्केरी आमा, गर्भवती महिला एवम् बालबालिकाको सेवासुरक्षालाई राज्यले विशेष रेखदेख गर्नेछ । उनीहरूको स्वास्थ्य विकासमा जोड दिइनेछ ।

४) सांस्कृतिक विशेषता

१) वैज्ञानिक समाजवादी राज्यले वैज्ञानिक जनसंस्कृतिको सिर्जना, विकास, संरक्षण गर्नेछ ।

२) नेपालको ऐतिहासिक विकासक्रममा जनताले निर्माण र विकास गरेका जनसंस्कृतिहरूको संरक्षण एवम् संवद्र्धन गर्नेछ ।

३) राज्यले समाजलाई कुप्रभाव पार्ने अन्धविश्वास, शोषण, विभेद, छाडा अश्लील, वेश्यावृत्ति, जुवातास, लागूपदार्थ बेचबिखन, प्रयोग र चोरीडकैतीलाई रोक्नेछ ।

४) हरेक नागरिकले समय र श्रमलाई अधिकतम् सदुपयोग गर्ने संस्कारको विकास गर्नेछ ।

५) दुःखी, बिरामी, अशक्त, बूढापाका, पछि परेका नागरिकलाई मानवीय भावना राखेर सेवा गर्ने संस्कार निर्माण गर्नेछ ।

६) ज्ञान र श्रमलाई स्वदेशमै राखेर उत्पादनलाई निर्यात गर्ने संस्कृतिको विकास गर्नेछ ।

७) आफ्नो जनताको इतिहास, गौरव, पौरख, संस्कृतिको संरक्षण र विकास गर्ने गरी कार्यक्रमहरू विकास गर्नेछ ।

८) विदेशीको चाकरी गर्ने, मागेर–हात पसारेर खाने पराश्रित आदत, संस्कारको अन्त्य गर्नेछ ।

५) सुरक्षा नीति र विशेषता

१) वैज्ञानिक समाजवादले आफ्नो देश र जनताको रक्षालाई केन्द्रमा राखेर सुरक्षाप्रणालीको योजना बनाउनेछ । देशमाथि कुनै वैदेशिक हस्तक्षेप, अतिक्रमण एवम् हमला हुन दिनेछैन । देशको हित हुनेबाहेकका सबै सन्धि–सम्झौताहरू खारेज गरेर समानता एवम् पञ्चशीलका सिद्धान्तअनुसार नयाँ सन्धि–सम्झौता गर्नेछ ।

२) राज्यले देशको रक्षा गर्न योग्य जनशक्तिको विकास गर्न हरेक १६ वर्ष पुगेका युवालाई सैन्य तालिम दिनेछ । नियमित सेनाको सङ्ख्या ठिक्क राखेर ठूलो सङ्ख्यालाई जगेडा शक्तिका रूपमा तयार गर्नेछ ।

३) आधुनिक विज्ञान–प्रविधि र वैज्ञानिकहरूको विकासमा जोड दिएर सुरक्षाप्रविधि स्वदेशमै उत्पादन गर्नेछ ।

४) जन्मभूमिको स्वाधीनतालाई केन्द्रमा राखेर आमजनतालाई देशको रक्षकमा रूपान्तरण गर्ने चेतनाको विकास गर्नेछ ।

६) कानुनी विशेषता

१) वैज्ञानिक समाजवादी राज्यको अवधारणाअनुसार समाजवादी मूल कानुन निर्माण गरिनेछ ।

२) केन्द्रदेखि स्थानीय (गाउँ तहसम्म कानुनी व्यवस्थाअनुसारका न्यायालयहरू निर्माण गरिनेछ ।

३) हरेक कानुनहरू नागरिकहरूको सुविधालाई केन्द्रमा राखेर निर्माण गरिनेछन् ।

४) हरेक नागरिकका लागि न्याय निःशुल्क एवम् सर्वसुलभ हुनेछ ।

७) अन्तर्राष्ट्रिय नीति

१) वैज्ञानिक समाजवादी राज्यले सबै मित्र एवम् छिमेकी देशहरूसँग पञ्चशीलको सिद्धान्तका आधारमा मैत्री सम्बन्ध कायम गर्नेछ ।

२) भारतसँग विगतमा गरिएका असमान सन्धि– सम्झौताहरू खारेज गर्नेछ ।

३) विश्वभरका श्रमिक जनताको न्यायपूर्ण सङ्घर्षलाई सहयोग गर्ने नीति अवलम्बन गर्नेछ ।

४) भूमण्डलीकृत पुँजीवादले विश्वका कुनै पनि देशमा गर्ने राजनीतिक, आर्थिक, सैनिक, सांस्कृतिक अतिक्रमण र हस्तक्षेपको विरोध गर्नेछ ।

५) विश्वमा न्याय, समानता, मानवता, स्वतन्त्रता, शान्ति एवम् समृद्धिका पक्षमा सहकार्य गर्नेछ ।

८) शैक्षिक र स्वास्थ्यका विशेषताहरू

१) वैज्ञानिक समाजवादले शिक्षा र स्वास्थ्यलाई राज्यले आफ्नो स्वामित्व एवम् दायित्वभित्र लिनेछ । यसले शिक्षा र स्वास्थ्यमाथिको वर्गीयता एवम् विविध चरित्रलाई अन्त्य गरी एकरूपता र समानतामा ल्याउनेछ ।

२) राज्यले शिक्षा र स्वास्थ्य निःशुल्क उपलब्ध गराउनेछ । हरेक नागरिकले आफूले चाहेको शिक्षा समान रूपले हासिल गर्न पाउनेछ ।

३) शिक्षा वैज्ञानिक, प्राविधिक, जीवनोपयोगी बनाउनेछ । यसले शिक्षित बेरोजगारी एवम् अदक्षतालाई समाप्त पारिदिनेछ । साथै इतिहास र नैतिक शिक्षालाई पनि अनिवार्य बनाइनेछ ।

९) प्राकृतिक साधन–स्रोत

१) वैज्ञानिक समाजवादले देशको प्राकृतिक स्रोत–साधनको अध्ययन, अनुसन्धान, संरक्षण र परिचालन गर्दै अधिकतम् रूपले आफ्नै उन्नति, समृद्धिका लागि सदुपयोग गर्नेछ ।

२) प्राकृतिक स्रोत–साधनमाथि स्थानीय जनताको अधिकार सुनिश्चित गर्दै उनीहरूको हित र उन्नतिका लागि उपयोग गर्नेछ ।

३) देशको प्राकृतिक स्रोत–साधनको असुरक्षित, अनियन्त्रित एवम् अराजक दोहन गर्न प्रवेश गर्ने विदेशी निगम पुँजीवादी एवम् एकाधिकार पुँजीवादीहरूलाई रोक्नेछ । लगानी भित्र्याउनुपरेमा राष्ट्रहित हुने गरी उनीहरूलाई नियमन गर्नेछ ।

१०) विज्ञान र प्रविधि

१) वैज्ञानिक समाजवादले विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र प्रयोगलाई राज्यको दायित्वभित्र राखेर विकास गर्नेछ ।

२) विज्ञान र प्रविधिको विकासद्वारा आमनागरिकको चेतना निर्माण, आर्थिक उत्पादन, सामाजिक रूपान्तरण र राष्ट्रहितको रक्षा गर्न विशेष जोड दिनेछ ।

३) विज्ञान र प्रविधिलाई आमनागरिक, विशेषतः नयाँ पिँढीका लागि अनिवार्य अनुसरणको विषय बनाउनेछ ।

११) पर्यावरण संरक्षण

१) वैज्ञानिक समाजवादले स्वच्छ प्राकृतिक पर्यावरणलाई मानव जीवनको अभिन्न पक्ष बनाउँछ । यसले कृत्रिम तरिकाले वा मानव क्रियाकलापबाट हुने वातावरणीय प्रदूषणलाई रोकेर जीवनमैत्री बनाउनेछ ।

२) पर्यावरणीय समस्या विश्वव्यापी समस्या भएकाले जुनजुन राष्ट्र यसको संरक्षण र शुद्धताका पक्षमा उभिन्छन् उनीहरूसँग सहकार्य गर्दै विश्वपर्यावरणको संरक्षणका पक्षमा कार्य गर्नेछ ।

१२) सूचना–सञ्चार

१) वैज्ञानिक समाजवादले सूचना–सञ्चारलाई हरेक नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गर्नेछ ।

२) हरेक नागरिकका लागि सूचना प्रवाह गर्ने र प्राप्त गर्ने समान आधिकारको व्यवस्था गरिनेछ ।

३) सूचना प्रवाह गर्दा तथ्यमा आधारित हुनुपर्ने नियम कडाइपूर्वक लागू गरिनेछ ।

४) तथ्यहीन, आधारहीन, व्यक्तिको चरित्रहत्या गर्ने, छाडा, अश्लील समाचार एवम् सूचना प्रवाह र प्रचार गर्न रोक लगाइनेछ ।

५) राज्य र जनतालाई क्षति पुग्ने कुनै पनि सूचना र समाचार प्रचार गर्न पाइनेछैन ।

७) सम्भावना र परिणाम

नेपालको अर्थराजनीतिक सङ्कटलाई निकास दिने मुख्यतः तीनवटा सम्भावना एवम् परिणाम देखिन्छन् । पहिलो, देश वैज्ञानिक समाजवादी व्यवस्थामा प्रवेश गर्नेछ । दोस्रो, संसदीय व्यवस्थामै चक्कर मार्न पुग्नेछ । तेस्रो, राजतन्त्रसहितको संसदीय व्यवस्थामा फर्किनेछ ।

पहिलो सम्भावनामा राज्य र सबै राजनीतिक पार्टीहरूले जनताको चाहनालाई आत्मसाथ गर्नेछन् । पुँजीवाद कि वैज्ञानिक समाजवाद भन्ने मुद्दामा जनमतद्वारा फैसला गर्ने सहमति बन्नेछ । जनमत लिनका लागि राजनीतिक सभा, राजनीतिक परामर्श सम्मेलन वा समीक्षासभा आयोजना हुनेछ । त्यसबाट सहमति भएअनुसार प्रगतिशील संयुक्त सरकार बन्नेछ । त्यसैको नेतृत्वमा जनमतसङ्ग्रह हुनेछ र दलाल पुँजीवादी सत्ता एवम् संसदीय व्यवस्थाको अन्त्य भएर वैज्ञानिक समाजवाद आउनेछ । यस मोर्चामा देशभक्त शक्ति, प्रगतिशील लोकतन्त्रवादी र नेपाली सेना पनि सहकार्यमा आउनेछन् । यो सम्भावना वास्तविकतामा बदलियो भने नेपालले यो शताब्दीमै नयाँ सभ्यतातिर प्रवेश गर्ने अवसर प्राप्त गर्नेछ । देश साँच्चै नै श्रमिक जनताको हातमा आउनेछ । यहाँका सारा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सम्बन्धहरू वैज्ञानिक समाजवादी सिद्धान्तअनुसार खडा हुनेछन् । देशमा शोषण, विभेद, उत्पीडन, दमन, विद्रोह समाप्त हुँदै जानेछन् । मुठीभर दलाल पुँजीपति वर्गबाहेक सबै नागरिकले नौलो र उत्तम जीवन प्राप्त गर्नेछन् । नेपाल नयाँ युगमा प्रवेश गर्नेछ । विश्व–मानवइतिहासमा एउटा नयाँ आयाम थप हुनेछ ।

दोस्रो सम्भावना राज्यले जनचाहनालाई स्वीकार गर्नेछैन । राजनीतिक पार्टीहरूका बीचमा पनि सहमति जुट्न सक्नेछैन । दलाल पुँजीपति वर्गका प्रतिनिधिहरू अग्रगमनका विरुद्धमा आउनेछन् । प्रगतिशील संयुक्त सरकार बन्नेछैन र जनमतसङ्ग्रह पनि हुनेछैन । देशमा दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नै कायम रहनेछ । संसदीय चुनाव हुनेछ । पार्टी कोही सरकारमा, कोही प्रतिपक्षमा रहनेछन् । देश अहिलेको भन्दा पनि अस्थिरतामा भासिनेछ । आर्थिक अवस्था झन् बिग्रिएर जानेछ । विदेशी हस्तक्षेप र अतिक्रमण बढ्नेछ । देशमा दलालहरूको जगजगी हुनेछ र चौतर्फी सङ्कट पैदा हुनेछ । जनताले सङ्कटको निकास अर्को बाटो अर्थात् विद्रोहको बाटोबाट खोज्नु पर्नेछ ।

आधारभूत रूपले यही व्यवस्था रहेर पनि कार्यकारी प्रणालीमा परिवर्तन हुने सम्भावना पनि आउन सक्छ । कार्यकारी प्रणाली परिवर्तन भएमा यहाँ संसदीय व्यवस्था त रहनेछैन तर वैज्ञानिक समाजवादी व्यवस्था पनि आउनेछैन । बीचबाट संविधान संशोधन गर्दै शासकीय प्रणालीसम्म परिवर्तन हुनेछ । कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) प्रत्यक्ष निर्वाचनबाट आउने प्रणाली लागू हुनेछ । यो विकल्पमा पुगेपछि केही समय स्थिरताको अनुभवजस्तो हुनेछ तर यसले सत्ता र वर्गविभेदको अवस्थालाई परिवर्तन गर्न सक्नेछैन । कार्यकारीको रूपले दलाल पुँजीपति वर्गको स्वेच्छाचारिता एवम् लुटखसोटलाई समाधान दिनेछैन । यो केही समयमै उदाङ्गो हुनेछ र जनताले वैज्ञानिक समाजवादको विकल्पमा पुनः जानै पर्नेछ ।

तेस्रो झिनो सम्भावना नेपालमा कुनै तरिकाले राजतन्त्र पुनस्र्थापना हुनेछ । कुनै कार्यकारी अधिकार नहुने भए पनि नेपालमा एक तहको पश्चगमन हुनेछ । सम्भव भएसम्म दलाल पुँजीपति वर्ग र संसद्वादको एउटा हिस्सालाई राजतन्त्रसँग साझेदारीमा लगिनेछ । यसबाट नेपाली श्रमिक जनताले राजनीतिक अधिकारको त कुरै नगरौँ, प्रगतिशील शक्तिसम्मले पनि केही फाइदा पाउने छैनन् । फेरि पनि फाइदा दलाल पुँजीपति वर्ग र विदेशी मालिक वर्गले नै लिनेछन् । नेपाल पुनः नयाँ खालको धु्रवीकरण र सङ्घर्षको चरणमा प्रवेश गर्नेछ ।

सारसङ्क्षेपमा भन्दा सत्ता र व्यवस्थामा पैदा हुने सङ्कट मूल सङ्कट हो । यसले जसरी राज्यभित्रका सारा सम्बन्धमा प्रभाव पार्दछ ठीक त्यसैगरी सबै वर्ग, शक्ति र प्रवृत्तिहरूलाई पनि प्रभाव पार्दछ । उनीहरू आआफ्नो दृष्टिकोणअनुसार चलखेल गर्न र सक्रिय हुन्छन् । सङ्कटको बेला कुन प्रवृत्तिले शक्ति हत्याउँछ वा नियन्त्रण गर्छ भन्ने कुनै निश्चितता हुँदैन । परन्तु सबै वर्ग र प्रवृत्ति बराबर प्रभावकारी र सफल हुन सक्दैनन् । त्यसैगरी सबै सम्भावनाहरू पनि समान हुँदैनन् । तीमध्ये एउटा वर्ग, प्रवृत्ति र सम्भावना मुख्य भएर अगाडि आउँछ ।

नेपाली जनताको ऐतिहासिक चरित्र एवम् वर्तमान चाहनाअनुसार कम्युनिस्ट पार्टी, सर्वहारा वर्ग एवम् वैज्ञानिक समाजवादको सम्भावना प्रमुख देखिन्छ । राजतन्त्रात्मक संसदीय व्यवस्था लामो प्रयोगबाट असफल भई समाप्त भइसकेकाले कुनै अनिष्टकारी दुर्घटना विशेषतः विदेशी हस्तक्षेपको आडमा बाहेक त्यो फर्किने सम्भावना छैन । त्यसैगरी २००७ सालदेखि २०१७ सालसम्म दस वर्षको शासन र २०४६ देखि २०७८ सम्म तीस वर्षको शासन, जम्मा चालीस वर्षको संसदीय व्यवस्थाको शासन र निरन्तर असफलताका कारण विभिन्न षड्यन्त्रद्वारा टिक्नेबाहेक जनसमर्थनमा यसको सफलता र निरन्तरता असम्भव छ । परन्तु वैज्ञानिक समाजवादी व्यवस्था अब कुनै सिद्धान्तको विज्ञले मात्र बुझ्ने विषयबाट आमजनताले व्यवहारतः पनि आवश्यक ठान्ने र छान्ने विषय बनेको छ । यसबाट भन्न सकिन्छ– ऐतिहासिक आवश्यकता, जनताको समर्थन, कम्युनिस्ट पार्टीको भूमिका र पहल सबैबाट वैज्ञानिक समाजवादको विकल्प र सम्भावना नै मुख्य देखिन्छ ।

निष्कर्ष

समाज जब जागरण र रूपान्तरणको उच्च चरणमा पुग्छ, पुरानोको विघटन र नयाँको सङ्घटन, पुरानो पतन र नयाँको उत्थान, पुरानोको अस्त र नयाँको उदय अनिवार्य आवश्यकता बन्न पुग्छ तब यस्तो बहसमा एक–दुई वा केही व्यक्ति र समूह मात्र होइन, सिङ्गो समाज नै हेलिन पुग्छ । नेपाल अहिले त्यस्तै युगान्तकारी बहसमा सहभागी बनिरहेको छ । बहसको विषय छ– वैज्ञानिक समाजवाद कि पुँजीवाद–संसद्वाद ?

दलाल पुँजीवादले जति लोकतन्त्र, संविधानवाद, संसद्वादको चर्चा गरे पनि यसले अभूतपूर्व असफलता र सङ्कट भोग्नु परिरहेको छ । जति स्थिरता र शान्तिको डङ्का पिटे पनि अस्थिरता र विद्रोहको सामना गर्नु परिरहेको छ ।
नेपालमा सङ्कटको कारणबारे अनेकौँ विचारविमर्श भइरहेका छन् । विभिन्न पक्षहरू पनि छन् तथापि दलाल पुँजीवादी अर्थराजनीतिक सम्बन्ध र जनताको वैज्ञानिक समाजवादी चाहनाबीचको अन्तरविरोध र सङ्घर्ष नै यो सङ्कटको मुख्य कारण हो ।

सङ्कटको निकासबारे पनि फरकफरक धारणाहरू व्यक्त भएका छन् । विविध वर्गहित र वर्गदृष्टिअनुसार धारणाहरू देखा पर्नु स्वाभाविक भए पनि सङ्कटको जनवादी, अग्रगामी, क्रान्तिकारी निकास वैज्ञानिक समाजवादी व्यवस्था नै हो ।

देश कुन दिशामा बढ्ला भन्ने सन्दर्भमा विविध सम्भावनाहरू छन् तर जनचाहना र तथ्यहरूले मार्गनिर्देश गर्ने सम्भावना वैज्ञानिक समाजवाद नै हो । भूमण्डलीकृत पुँजीवादी चलखेल र दलाल पुँजीवादी संसद्वादीहरूका जालझेलका कारण संसदीय व्यवस्थामा घुम्ने, अझ त्योभन्दा पछि फर्किने सम्भावना पनि आउँदैन भनेर भन्न सकिँदैन परन्तु संसदीय व्यवस्थाको निरन्तरताले स्वयम् भित्र हुर्किरहेको राजनीतिक, आर्थिक, सांस्कृतिक अन्तरविरोध र सङ्कटलाई सुल्झाउनेछैन, बरु नयाँ रूपमा झन् विस्फोटक बनाइदिनेछ ।

आज नेपालमा दशकौँदेखि चलेका वर्गसङ्घर्ष, राजनीतिक सङ्घर्ष, सशस्त्र विद्रोह, जनयुद्ध, एकीकृत जनक्रान्ति र जनताको परिवर्तनकारी चाहनाको विशिष्ट वस्तुस्थितिमा शान्तिपूर्ण जनमतद्वारा दलाल पुँजीवादी सत्तालाई वैज्ञानिक समाजवादमा रूपान्तरण गर्न सकिने सम्भावना देखापरेको छ । त्यस युगान्तकारी रूपान्तरणलाई पूरा गर्ने पुलको भूमिका जनमतसङ्ग्रहको कार्यनीतिक कार्यक्रमले गर्न सक्छ । राज्य यो रूपान्तरणको सम्भावनाप्रति उत्तरदायी बन्ने वा जनतालाई विद्रोहका लागि बाध्य पार्ने उसैको हातमा छ । नेपालमा वैज्ञानिक समाजवादले अहिले नै जन्म लेला वा देश अझै एउटा सङ्क्रमणबाट गुज्रिनुपर्ला, फैसला भइसकेको छैन तर जनताले अपेक्षा गरेको अग्रगामी, जनवादी, परिवर्तनकारी, क्रान्तिकारी निकास वैज्ञानिक समाजवाद नै हो र त्यो एक दिन आइछोड्नेछ भन्नेचाहिँ निश्चित छ ।

नेपाली जनमतको भार वैज्ञानिक समाजवादतिर ढल्किसक्दा पनि एकथरी मान्छेहरू बैरागै लाग्ने गरी पुँजीवादको जुवाबाट बाहिर आउन मानिरहेका छैनन् । उनीहरूलाई निजी स्वार्थले सजिएको जुवामुनि जोतिने आदत परिसकेको छ, ‘स्वर्ग’ लैजाने दया देखाउँदा पनि दुर्गन्धित नालीको माग राखेर परेसान गरिरहेका छन् । तथापि वैज्ञानिक समाजवादका मौलिक एवम् उन्नत विशेषताहरू नै यस्ता छन्, पुँजीवादी संसदीय व्यवस्थाले जति नै छलछाम, तिकडम, षड्यन्त्र गरे पनि आफ्नो असफलता जोगाउन सक्नेछैन । उदाउँदै गरेको बिहानीलाई घनघोर रातले ठाउँ छोड्नु परेजस्तै पुँजीवादी सत्ता र संसदीय व्यवस्थाले वैज्ञानिक समाजवादका लागि आफ्नो ठाउँ छोड्नैपर्छ । आउनुस्, धर्तीमा सभ्यता रोप्ने श्रमिक नागरिकहरू, मजदुर, किसान, बुद्धिजीवी, महिला, दलित, उत्पीडित समुदायहरू, नेपाली क्षितिजमा जगमगाउँदै उदाउन खोजिरहेको वैज्ञानिक समाजवादी सभ्यतालाई स्वागत गर्न अँगालो फैलाएर अघि बढौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :