प्रचण्डसँग तत्काल पार्टी एकता असम्भव : विप्लव

प्रचण्डसँग तत्काल पार्टी एकता असम्भव : विप्लव

म्याग्दीः नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकता सम्भव नभएको बताएका छन् । जिल्ला सदरमुकाम बेनीमा मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै महासचिव विप्लवले बाहिर हल्ला चलाइएजस्तो माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको बताएका हुन् ।

‘बाहिर हल्ला चलेको छ– प्रचण्ड र विप्लवबीच एकता हुँदैछ भनेर’, उनले भने, ‘एकता र सहकार्यका लागि नयाँ विचार, लक्ष्य र उद्देश्यका विषयमा छलफल हुनुपर्छ ।’ स्मरणीय छ, महासचिव विप्लवले यसअघि नै नेकपाको कार्यदिशा र नेतृत्व स्वीकार गर्ने पार्टीहरूसँग मात्र एकता हुने बताइसकेका छन् ।
उनले थपे, ‘एकता आवश्यक छ तर पद र स्वार्थका लागि मात्र होइन । जनतालाई केन्द्रमा राखेर सोच्न र पुराना नेताहरूले नेतृत्व हस्तान्तरण गर्नुपर्ने सर्त राखेका छौँ ।’
सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले आश्चर्य प्रकट गरे । तीनबुँदे सहमतिलाई लिएर भ्रामक हल्ला फैलाइएको भन्दै उनले भने, ‘उतिखेर बाहिर हल्ला चल्यो केपीसँग मिल्यो रे । अब त गृहमन्त्री बन्ने रे । व्यक्तिगत स्वार्थका लागि तीनबुँदे सहमति भएको होइन ।’

‘म अहिले तपाईंहरूका बीचमा इमानदारीपूर्वक भन्छु– दुईचार करोड रूपैयाँ र सातवटा मन्त्रालय पाइएको थियो’, उनले भने, ‘केपीजीले आफ्नो स्वार्थका लागि दर्जन बढी विधेयक र अध्यादेश ल्याए पनि हाम्रा कमरेडहरूलाई जेलमा राखेर कानुनको बाधा छ भन्नुभयो ।’ उनले थपे, ‘अहिले प्रचण्ड र शेरबहादुरजीहरू पनि तीनबुँदे सहमति कार्यान्वयनबाट भाग्न खोजिरहनुभएको छ ।’

उनले वर्तमान सरकार भ्रष्टचारमा डुबेको र एनसेलविरुद्ध लड्न खोज्दा आफूहरूलाई प्रतिबन्ध लगाइएको प्रस्ट पारे । उनले देशमा संसदीय व्यवस्था असफल भएको भन्दै नयाँ व्यवस्थाका लागि जनमतमा जानुपर्ने बताए । अदालतका न्यायाधीशहरूले संविधान हातमा लिएको पनि उनले बताए । ‘नेपालमा दलाल पुँजीवादी व्यवस्था अर्थात् संसदीय व्यवस्था असफल भइसक्यो । जनताको व्यवस्था नभएपछि हरेक दिन सङ्कटमा फस्दै जानु, समस्यमा पर्नु अनिवार्य छ’, उनले थपे, ‘दुईतिहाइ हुँदा पनि सरकार ढल्यो, संसद् ढल्यो । कानुनहरू पनि लथालिङ्ग छन् । तपाईंहामी देखिरहेका छौँ– अदालतमा कुटाकुट छ । त्यसैले यो व्यवस्था असफल भयो भनेका हौँ ।’
महासचिव विप्लवले न्यायाधीशहरूले संविधान हातमा लिएको प्रस्ट पार्दै भने, ‘पहिले हामीलाई तपार्इंले कानुन हातमा लिनुभयो भनेर प्रश्न सोध्ने न्यायाधीशहरूले अहिले संविधान हातमा लिएका छन् ।’

महासचिव विप्लवले नेपालमा मगर समुदायको ठूलो योगदान रहेको उल्लेख गरे । ‘मगर जातिको इतिहास हजारौँ वर्षको छ । क्रान्तिका लागि, देशको हरेक परिवर्तनका लागि र दोस्रो विश्वयुद्धमा समेत मगर समुदायको ठूलो भूमिका छ’, उनले भने, ‘विभिन्न कालखण्डमा शासकले खोसेको मगर जातिको पहिचान, अधिकार, भाषा र मगरात फिर्ता पाउनुपर्छ ।’

कार्यक्रममा नेकपा केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले देशको हरेक परिवर्तन र दोस्रो विश्वयुद्धमा समेत मगर समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । कार्यक्रममा उमा भुजेल, रामबहादुर विक, अनेमसङ्घ क्रान्तिकारीकी सचिव उषा घर्ती, म्याग्दी जिल्ला सेक्रेटरी सुशीला विक लगायतले बोलेका थिए ।

मोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू यसप्रकार रहेका छन् : अध्यक्ष निरू थापामगर, उपाध्यक्ष सुदर्शन थापामगर, महासचिव इन्द्र घर्तीमगर, सचिव दुर्गा थापामगर, कोषाध्यक्ष भीमप्रकाश पुनमगर, सदस्यहरू बेलबहादुर सारु मगर (नवलपुर), हरिप्रसाद घर्तीमगर (कपिलवस्तु), भूमिकर्ण घर्तीमगर (बागलुङ), नन्दराम थापामगर (बागलुङ), धनबहादुर पुनमगर (म्याग्दी), ईश्वरी तारामुमगर (रूपन्देही), माया काउछामगर (रूपन्देही), आसमती सोमैमगर (नवलपुर), शारदा थापामगर (चितवन), हीरा थापामगर (चितवन), डीके रोकामगर (थबाङ), हरिबहादुर थापामगर (काठमाडौँ), कविता पुनमगर (रोल्पा), श्रीकृष्ण थापामगर (लमजुङ), जितबहादुर खपाङ्गी मगर (काभ्रे), गणेश रानामगर (धादिङ), दिनेश सारुमगर (सिन्धुली), विशाल मगर (धनकुटा), करण घर्तीमगर (रोल्पा), कर्णबहादुर थापामगर (दैलेख), चरित्र थापामगर (दोलखा), मोहनसिंह सिङ्जाली मगर (स्याङ्जा), तीर्थ पुनमगर (कास्की), धनबहादुर थापामगर (तनहुँ), गणेश रानामगर (पाल्पा), कोपिला आलेमगर (पाल्पा), लालबहादुर घर्तीमगर (कपिलवस्तु), सागर पुनमगर (अर्घाखाँची), हीरा पुनमगर (रूपन्देही), रुद्र श्रीसमगर (गुल्मी), नेत्र झाँक्रीमगर (थबाङ), सिबेन्द्र पुनमगर (दाङ), मालती रानामगर (दाङ), गमवीर थापामगर (प्युठान), पिङ्की बुढामगर (प्युठान), पूर्ण बुढामगर (रोल्पा), पुष्पा घर्तीमगर (रोल्पा), पहल पुनमगर (कैलाली), उषा थापामगर (कन्चनपुर), दानबहादुर थापामगर (डँडेल्धुरा), रामबहादुर घर्तीमगर (दैलेख), यामबहादुर राम्जालीमगर (सुर्खेत), वजन रानामगर (काठमाडौँ), विष्णु रानामगर (काठमाडौँ), ज्योति थापामगर (काठमाडौँ), देवीराम थापामगर (भक्तपुर), बालकुमारी खपाङ्गीमगर (ललितपुर), दिलकुमार रखालमगर (मोरङ), जङ्गबहादुर पुर्जा (इलाम), प्रेम बुढामगर (सल्यान), जितबहादुर खपाङ्गीमगर (रामेछाप), बमबहादुर पाइजा मगर (म्याग्दी) ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :