पार्टी पुनर्गठन दिवसका अवसरमा पाल्पामा जनसभा

पार्टी पुनर्गठन दिवसका अवसरमा पाल्पामा जनसभा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले तानसेन सदरमुकाममा जनसभा सम्पन्न गरेको छ । पार्टी पुनर्गठन दिवसका अवसरमा जनसभा आयोजना गरिएको हो ।

तत्कालीन प्रचण्ड नेतृत्वमा नेपाली जनक्रान्ति अधुरो, अपूरो र धोका भएको भन्दै मोहन वैद्यको नेतृत्वमा २०६९ सालमा प्रचण्डबाट विद्रोह गरी नेकपा–माओवादी गठन गरिएको थियो । वैद्य नेतृत्वको पार्टी पनि गोलचक्करमा फसेको भन्दै २०७१ साल मङ्सिर ८ गते वैद्यलाई ३ बुँदे पत्र बुझाएर सम्बन्धविच्छेद गरी नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन गरेको घोषणा महासचिव विप्लवले गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी–माओवादी हुँदै दाङमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दाङमा राष्ट्रिय भेला गरी थबाङमा आठौँ महाधिवेशनमार्फत एकीकृत जनक्रान्तिको कार्यदिशा तय गरेको थियो ।

त्यसपछि नेकपाले मङ्सिर ८ गतेको दिनलाई क्रान्तिकारीहरुले अवसरवाद र छद्म संशोधनवादबाट गरेको सङ्गठित विद्रोह ऐतिहासिक भएको र नेपालमा पुनः क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेको सुखद अवसर ठानी पार्टी पुनर्गठन दिवस मनाउने गरेको छ । मङ्सिर ८ गतेकै दिन माओवादी जनयुद्ध उत्कर्षमा पुगेको र जनमुक्ति सेना नेपाल घोषणा भएको थियोे । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले सदरमुकाम तानसेनमा पार्टी स्थापना दिवस मनाएको हो ।

उक्त अवसरमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज भुसालले शुभकामना मन्तव्य दिँदै प्रचण्डहरुले क्रान्तिलाई धोका दिएको कारण क्रान्तिकारीहरु पुनर्सङ्गठित भई श्रमजीवी सर्वहारा वर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको बर्ताए । उनले क्रान्तिकारी पंङ्क्तिलाई जनक्रान्तिमा सङ्गठित हुन अपिल पनि गरे ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज धीरेन्द्राकुमरी उपाध्याय, नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य विजय बुढामगर, अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लङ्कबहादुर राना, जनपत्रकार सङ्गठन लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष मुक्ति गैरे, नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष गोविन्द भट्टराई, नेपाल पत्रकार महासङ्घका सचिव यज्ञमूर्ति तिमिल्सिनालगायत अतिथिका रुपमा सहभागी थिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य उपाध्याय र सहिद परिवारका आकाशले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य जनपरिषद् नेपाल पाल्पा जिल्ला प्रमुख मीनबहादुर आले नेपालले राखेका थिए । कार्यक्रमको सञ्चालन श्रमिक समुदाय नेपालका केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य निसान विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :