नेकपाद्वारा रुपान्देहीको विभिन्न स्थानमा पार्टी पुनर्गठन दिवस मनाइयो

नेकपाद्वारा रुपान्देहीको विभिन्न स्थानमा पार्टी पुनर्गठन दिवस मनाइयो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले जिल्लाका बुटवल, सैनामैना, देवदह, शुद्वोधन, सियारीलगायत स्थानमा आठौँ पार्टी पुनर्गठन दिवस भब्य रूपमा मनाएको छ ।

बुटवलको मजुवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिले जनताका सपनाहरूलाई मसानघाटमा पुर्याइएकोले क्रान्तिको सपना पूरा गर्न मुक्तिको मसाल बनेर नेकपा पुनर्गठन गरिएको बताए । उनले सुकुम्बासी बस्ती उठाएर बैकल्पिक व्यवस्था नगरी राष्ट्रिय पुँजीपति वर्गलाई तहसनहस गरेर दलालहरूले खोलेको उद्योग जनताका लागि मान्य नहुने बताए । कृतिले अहिलेको सरकार दलाल पुँजीपति वर्गको भएको भन्दै यसबिरूद्व शान्तिपूर्ण सङ्घर्ष गर्ने बताउँदै यसलाई कमजोर ठानिए बम बनेर पड्किन तयार भएको बताए । उनले नेपाली जनताले धेरै पटक भोट हालेपनि दलालहरू बाहेक जनताको जीवनमा परिवर्तन नभएको भन्दै यसका बिरूद्व सङ्घर्ष जरुरी भएको बताए । संसदीय चुनाव दलालहरूको चुनाव भएको भन्दै यसका बिरूद्व जनमतसङ्ग्रह गर्नुपर्ने बताउँदै यसका लागि पार्टी तयार रहेकोे नेता कृतिले बताए । उनले एमसीसीको नाममा अमेरिकी सेनाको कृडास्थल बनाउने कोसिस गरिए प्रतिरोध गर्नेसमेत बताए ।

जनक्रान्तिका लागि महान् सहिद परिवार सङ्गठन नेपालका केन्द्रीय सचिव जया पौडेलले मजदूर सुकुम्बासी जनताको समस्याको समाधान नेकपाले गर्ने बताउँदै त्यसका लागि एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताइन् । उनले दलाल संसदीय व्यवस्थाबाट श्रमिक सुकुम्बासी जनताको समस्या समाधान नहुने बताइन् ।

नगर सेक्रेटरी बिरेन्द्र बिकको अध्यक्षता, जिल्ला सदस्य एनबी शाहीको स्वागत र जिल्ला सदस्य पारस राहादी मगरको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा सङ्ग्रामी परिवारले जनवादी गीतनाँच प्रस्तुत गरेको थियो ।

त्यसैगरी सैनामैनामा आयोजित सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी बिश्वासले प्रचण्ड–बाबुरामले जनयुद्ध र सहिदका सपनाहरूलाई धोका दिएका कारण नेकपा पुनर्गठन गरिएको बताउँदै सम्पूर्ण श्रमिक जनताको नेतृत्व नेकपाले गर्ने बताए । कार्यक्रममा सैनामैना सेक्रेटरी बर्सालेसमेत बोलेका थिए । त्यस्तै शुद्वोधन सियारीमा भएको सभालाई नेकपा जिल्ला सदस्य नवीन थारू, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य एवम् शुद्वोधन/सियारी सेक्रेटरी सन्तोष सुवेदीले सन्बोधन गरेका थिए भने ओमसोतियामा भएको सभालाई नेकपा जिल्ला सदस्य तथा जिल्ला जनसरकार प्रमुख शिशिर र जिल्ला सदस्य जसवन्तले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :