तीनबुँदे सहमति बिरुद्धको षड्यन्त्र सत्ताको पराजित मानसिकताको उपज : सुमनसिंह

तीनबुँदे सहमति बिरुद्धको षड्यन्त्र सत्ताको पराजित मानसिकताको उपज : सुमनसिंह

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले आठौँ पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाएको छ । इलामको माइ नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा पार्टी पुनर्गठन दिवसको शुभकामना आदानप्रदान, प्रशिक्षण र पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य होम खतिवडालाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंह थिए भने विशिष्ट अतिथि होम खतिवडा थिए ।

कार्यक्रममा शुभकामना तथा प्रशिक्षण मन्तव्य राख्दै सुमनसिंहले सत्ता पराजित भएकै कारण तीनबुँदे सहमतिबिरुद्ध षड्यन्त्र हुन थालेको बताए । यो सत्ताको पराजित मानसिकताको उपज भएको उनले बताए । राष्ट्र र जनताविरुद्ध लाग्नेहरू तीनबुँदे सहमतिबाट भाग्न खोजिरहेका छन् भन्दै उनले छलफलबाट निकास दिन तयार नभए जनताले बल प्रयोग गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने बताए । एकीकृत जनक्रान्ति बलिदानको मार्ग हिडेर आएको हुनाले बलिदानको मार्गलाई अझैँ शसक्त बनाउन हामीले आज प्रण गर्नुपर्छ भन्दै कार्यकर्तालाई बलिदान गर्न तयार छु भन्ने भावनाको बिकास गर्नुपर्ने बताए । सिंहले पार्टी पुनर्गठन दिवसको शुभकामना दिँदै यो पार्टी बिश्वभरीका श्रमिक जनता र सिङ्गो पृथ्विको निम्ति सधैँ अग्रदस्ता, मुक्तिदुत बन्ने कुराको बिश्वासका साथै प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो पार्टीका नेताहरू फुकिफुकि पाइला चाल्दै अगाडि बढेको हुनाले धेरै शङ्का उपशङ्का नगर्न कार्यकर्ताहरूलाई अनुरोध गरे । उनले यो धर्तिमा छिट्टै वैज्ञानिक समाजवादको झन्डा फहराउने कुरा शुनिश्चित रहेको कुरा कार्यक्रममा सहभागीहरूलाई बताए ।

त्यस्तै केन्द्रीय सल्लाहकार समितिका सदस्य होम खतिवडाले इलाम जिल्ला रत्नकुमार जस्ता क्रान्तिकारीको रगत बगेको जिल्ला भएको हुनाले यहाँ कम्युनिस्टहरू बलियो रहेको बताए । वास्तविक कम्युनिस्ट पार्टी हाम्रो पार्टी भएको हुनाले पार्टी जनतामा पुगे छद्म कम्युनिस्टहरू पत्तासाफ हुने बताए । उनले इलाम चमैतामा रहेको रत्नकुमारको जीवन र सुरुङ्गबाट सिक्नुपर्ने बताए । इलाममा बिस्तारै क्रान्तिप्रति जनताको बिश्वास बढ्न थालेको, अहिले इलाममा एकीकृत जनक्रान्ति खोज्नेहरूको घुइँचो लाग्न थालेको उनले बताए ।

कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरू, जनवर्गीय सङ्गठनका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य जिल्ला कमिटीका अविनाशले राखेका थिए । कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सचिव मौसमले गरेका थिए । उनले कार्यक्रम समापनको क्रममा पार्टी पुनर्गठन दिवसको शुभकामना दिँदै अबको एकाध बर्षमा इलामबाट शंसोधनवादी कम्युनिस्टहरूलाई पत्तासाफ गरेर वास्तविक कम्युनिस्टहरूको सत्ता चलाउने उद्घोष गरे । उनले सबैले पार्टीको योजनालाई गतिशील ढङ्गले कार्यान्वयन गर्न सुझाब दिँदै, कार्यक्रम समापन गरेका थिए । त्यस्तै सोही साँझ माइनगरपालिकास्थित शितली बजारमा भव्य रुपमा दिप प्रज्वलन गर्दै नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :