नेकपा कञ्चनपुरले मनायो आठौँ पार्टी पुनर्गठन दिवस

‘प्रचण्ड–बाबुराम जस्ता गद्दारहरूले विश्वासघात र धोका दिएपछि जन्मिएको पार्टी हो नेकपा’

नेकपा कञ्चनपुरले मनायो आठौँ पार्टी पुनर्गठन दिवस

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले आठौँ पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रमका बीच मनाएको छ । नेकपाले दिउँसो जिल्ला भरिका नेताकार्यकर्ताको उपस्थितिमा पार्टी कार्यालय महेन्द्रनगरमा मैनबत्ती बाली, अबिर लगाएर पार्टी पुनर्गठन दिवसको उपलक्ष्यमा एक अर्काबीच सुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’ ले प्रचण्ड–बाबुराम जस्ता गद्दारहरूले आम नेपाली जनतामाथि विश्वासघात र धोका दिएपछि जन्मिएको हाम्रो पार्टी नेकपा विगत आठ वर्ष यता जनतामा लोकप्रिय र स्थापित भएको बताए । ‘हामीले विभिन्न आरोह अवरोहका बीच नयाँ संश्लेषणसहित नयाँ कार्यदिशा एकीकृत जनक्रान्ति तय गरी विद्यमान अवस्थाको हाम्रो देशको दलाल संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि सङ्घर्ष गर्दै आएका छौँ ।’ उनले भने, ‘हामी अहिले नै पद र स्वार्थका यही संसदीय व्यवस्थामा जाने वा कसैसँग पार्टी एकता कदापी गर्दैनौँ । जसरी अहिले माके निकटले पार्टी एकताको नाममा भ्रम छर्न खोजेका छन् त्यो गलत रहेको छ ।’ इन्चार्ज महानले अबका दिनहरूमा समाजवादी आन्दोलनलाई झन् सशक्त बनाएर लग्ने कुरा राख्दै सबैलाई सुभकामना दिएका थिए । यस्तै साधारण शाखा सेक्रेटरी कमल विकले पनि सुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला सचिव तथा कार्यक्रमका अध्यक्ष रमेश परियारले आगामी दिनमा पार्टी नेतृत्वको जिम्मेवारीलाई उच्च गरिमामा राख्ने कुरासहित सुभकामना दिँदै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम युवा सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला सचिव भुवन कुँवरले सञ्चालन गरेका थिए ।

साँझ जिल्लाको मुख्य शहर महेन्द्रनगरसहित सबै पार्टी नगर समितिले दिप प्रज्वलन गरी पुनर्गठन दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :