झापामा दीप प्रज्वलनसहित विविध कार्यक्रम गरी पार्टी पुनर्गठन दिवस मनाइयो

झापामा दीप प्रज्वलनसहित विविध कार्यक्रम गरी पार्टी पुनर्गठन दिवस मनाइयो

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाले आठौँ पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ । जिल्ला पार्टीको आयोजनामा शिवसताक्षीस्थित दुधेमा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरूबीच दिउँसो १ बजे शुभ कामना आदानप्रदान र चियापान समारोह भएको थियोे भने साँझ दमक चोकमा दिप प्रज्वलनसमेत गरिएको थियो ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज सुमन लिम्बु, पार्टी केन्द्रीय सदस्य एवम् पाँचथर÷ताप्लेजुङ इन्चार्ज जोखिम, पार्टीका जिल्ला सचिव प्रशान्त, कार्यालय सचिव सञ्जय राई लगायत जिल्ला नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै जिल्ला इन्चार्ज लिम्बुले पार्टी पुनर्गठनको औचित्य शानदार रुपले पुष्टि भएको बताए । दशबर्षे महान् जनयुद्धको उपलब्धिलाई प्रचण्डहरूले गद्दार गरेको र क्रान्तिकारी पार्टीलाई घोर दक्षिणपन्थी संशोधनवादी बनाएकाले विद्रोह गर्नुपरेको उल्लेख गर्दै नेता लिम्बूले जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादी व्यवस्था नै अबको विकल्प रहेको उल्लेख गरे । सहिद तथा घाइते, अपाङ्ग योद्धाहरूलाई सम्झँदै उनले जनताको सपना पूरा गरेरै छाड्ने उद्घोषसमेत गरे ।

जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले शुभकामना आदानप्रदान गरेका थिए । शुभकामना आदानप्रदान तथा चियापान समारोह पश्चात् नेकपाले झापाको दमक, मेचीनगर, भद्रपुर लगायतका स्थानमा दिप प्रज्वलन गर्दै पार्टी पुनर्गठन दिवस सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :