एकीकृत जनक्रान्तिलाई स्वीकार गरि संसदीय व्यवस्था त्यागे मात्र प्रचण्डसँग पार्टी एकता हुन्छ : नेता आदर्श

एकीकृत जनक्रान्तिलाई स्वीकार गरि संसदीय व्यवस्था त्यागे मात्र प्रचण्डसँग पार्टी एकता हुन्छ : नेता आदर्श

काभ्रेः नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्शले प्रचण्डले नेपाली क्रान्तिलाई धोका दिएपछि क्रान्तिलाई निरन्तरता दिन र शहिदका सपना पूरा गर्न उद्घोष गरेको मंसिर ८ गते विशेष दिन भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी काभ्रेले आठौं पार्टी पुनर्गठन दिवस तथा २१ औं जनमुक्ति सेना दिवसको अवसरमा आयोजना गरिएको पिकनिक कार्यक्रममा शुभकामना मन्तव्य दिँदै आदर्शले यस्तो बताएका हुन् ।

उनले भने, `विचलनकारीहरुबाट विद्रोह गरेको आज ७ वर्ष पूरा भई ८ वर्षमा लागेको छ, एकीकृत जनक्रान्तिको कार्यदिशाले गति लिएपछि राजनीतिक, सांगठनिक, विचार र सिद्दान्तमा पार्टीले नयाँ छलांग मारेको छ, पार्टीलाई नयाँ ढंगले स्थापित गरेको छ, यो नेपाल र सर्वहारा जनताको लागि खुशीको कुरा हो ।`

एक अर्को प्रसंगमा नेता आदर्शले माओवादी केन्द्र र नेकपा बिचको एकता हल्ला भ्रमपूर्ण प्रचार भएको भन्दै यस्तो भ्रममा कोही पनि नपर्न आग्रह गरेका छन् ।

उनले सामान्य भेटघाट, छलफललाई अतिरन्जित पारी पार्टी एकताको भ्रम छरेर कार्यकर्ता र जनतालाई भ्रममा पार्ने कोसिस गरिएको बताए । राजनीतिक रुपमा कमजोर भएका, विचार र सिद्दान्तबाट विचलित भएकाहरुले पार्टी एकताको भ्रम छरेर नालायकीपन देखाएको बताए ।

उनले भने, `एकता विरोधी हामी छैनौँ, प्रचण्डहरुले हाम्रो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिलाई मान्ने र संसदीय व्यवस्थाबाट अलग भए मात्र प्रचण्डसँग एकताको कुरा अगाडि बढ्न सक्छ, अन्यथा यो कल्पना बाहिरको कुरा हो, त्यही डुङडुङति गन्हाउने असफल भैसकेको दलाल संसदीय व्यवस्थामा चुर्लुम्म डुबेकाहरुले पार्टी एकताको कुरा गरेको सुहाउदैन, यो राम्रोसँग बुझ्न जरुरी छ ।`

यस्तै नेता आदर्शले २०३६ सालमा राजा विरेन्द्रले जनमत संग्रह घोषणा गरेको तर अहिलेको दलाल पुजिवादी संसदीय व्यवस्थाको नेतृत्व गरेका दलहरुले दरबारियाहरुसम्मको हैसियत राख्न नसकेको बताए । उनले दलाल संसदीय व्यवस्था फेल भैसकेको अवस्थामा वैज्ञानिक समाजवाद कि दलाल पुजिवादी संसदीय व्यवस्था भन्ने विषयमा जनमत संग्रह गर्दा आफुहरु पत्तासाफ हुने डरले थुरथुर कामिरहेको बताए । संसदीय व्यवस्था पूर्ण रुपमा फेल भैसकेकाले एकीकृत जनाक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रममा प्रतिबद्द हुन नेता कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनतालाई उनले आह्वान समेत गरे ।

आफु कुर्चीमा बस्दा एमसीसी पास गर्छौ भन्ने तर सत्ता बाहिर हुँदा एमसीसी पास गर्न हुँदैन भन्ने नेपालका नेताहरुको चरित्र देखिएकाले नेताहरु अर्काको दलाली गर्ने, लोभलालचमा फस्ने, देश र जनताप्रति पूर्ण जिम्मेवारी नभएको प्रष्ट देखिएको उनको भनाई थियो । उनले एमसीसी लागु भए देश नै भड्खालोमा जाने भएकाले नेकपाले त्यसलाई नेपालमा कुनै पनि हालतमा लागु हुन नदिने बताए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य तथा काभे जिल्ला जिल्ला इन्चार्ज मोहनलाल चन्द आधारले आठौ पार्टी पुनर्गठन दिवसलाई स्मरण गर्दै पार्टीको मूल नेतृत्व, विचार र कार्यदिशालाई जनतासामु लिएर जान नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

यसैगरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्दीय अध्यक्ष बन्धु चन्दले पुनर्गठन दिवसको शुभकामना मन्तव्य राख्दै महिला मुक्तिको लागि आफु लडिरहने बताइन् । उनले नेपाली श्रमिक महिलाको मुक्ति नेपाल कम्युनिष्ट पार्टीले मात्र गर्ने भएकाले एकीकृत जनक्रान्तिमा लामबद्द् हुन सबैलाई आग्रह गरिन् ।

मजदुर सङ्गठनका अध्यक्ष विनोद थापा र अखिल (क्रान्तिकारी) का केन्द्रीय उपध्यक्ष नरेन्द्र विकले शुभकामना मन्तव्य राखेका थिए । यस्तै कार्यक्रमको बिचबिचमा राजेन्द्रले कविता वाचन गरेका थिए ।

काभ्रे जिल्ला सेक्रेटरी प्रताप लामाले कार्यक्रमको संचालन गरेका थिए भने अध्यक्षताको सिट आसनपनि आफैले गरेका थिए । पिकनिक कार्यक्रममा सयौँको संख्यामा जनता र कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सबैले एकअर्कामा टिका आवरण गरी ८ औँ पार्टी पुनर्गठन दिवसको शुभकामना आदानप्रदानसहित उत्सवको रुपमा खुशीयाली साटासाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :