वैज्ञानिक समाजवाद स्थापना, रक्षा र विकासका लागि बलिदान दिनसम्म तयार छौँ

वैज्ञानिक समाजवाद स्थापना, रक्षा र विकासका लागि बलिदान दिनसम्म तयार छौँ

युवा सङ्गठन नेपालको अध्यक्षमा पुनः चयन हुनुभयो, हार्दिक बधाई छ ।

धेरैधेरै धन्यवाद ।

मुलुकको परिवर्तित राजनीतिक परिवेशमा युवा सङ्गठन नेपालका चुनौती र सम्भावना केकस्ता छन् ?

वर्तमान नेपालको राजनीतिक परिवेशमा हाम्रो सङ्गठनका लागि थुप्रै चुनौती र सम्भावनाहरू छन । विशेषगरी क्रान्तिकारी युवाहरूको सङ्गठन युवा सङ्गठन नेपालले उठन गरेका राजनीतिक, आर्थिक, सामाजिकलगायत जनताको जीवनसँग प्रत्यक्ष जोडिएका सवालहरू छन् । यी र यस्ता जनजीविकासँग जोडिएका मुद्दाहरू उठान गर्दा कथित राज्यसत्ता र तिनका सञ्चालकहरूबाट अवरोध हुने गरेको छ । आजको परिवेशमा हाम्रा मूल मुद्दाका रूपमा रहेका राष्ट्रियता, जनजीविका, सार्वभौमसत्ता र स्वाधीन नेपाल हो । राज्यसत्तामा मौलाएको भ्रष्टाचार, कमिसनखोर, व्यभिचार, बलात्कार, जातीय विभेदजस्ता जघन्य अपराधहरूको अन्त्य गर्ने र सुन्दर समाज निर्माण गर्ने एक मात्र चाहना छ तर यसको बाधकका रूपमा दलाल संसदीय व्यवस्था र त्यसका सञ्चालनहरू छन् । हाम्रो मुख्य चुनौती यो व्यवस्था र यसले खडा गरेका अरू विभिन्न संरचनाहरू हुन् । तपाईले सोध्यको प्रश्नमा हामिले व्यापक छलफल बहस गरेका छौ र यो निष्कर्षमा पुगेका छौँ ।

युवा सङ्गठन नेपाल देशका लाखौँ युवाको भविष्यसँग जोडिएको सङ्गठन हो । युवाहरुका समस्या समाधान गर्ने नीति, योजना र कार्यक्रम के छन् तपाईंहरुसँग ?

सही नै भन्नुभयो, यो सङ्गठनका पछाडि लाखौँ युवाहरूको भविष्य मात्र होइन, सम्पूर्ण नेपाली जनता र देशको भविष्य पनि जोडिएको छ । जहाँसम्म युवा समुदायमा देखापरेका समस्याको विषय छ, पहिलो बुझ्नुपर्ने कुरा के हो भने नेपालमा जति पनि समस्याहरू उत्पन्न भएका छन्, त्यो अरूबाट नभई राज्य स्वयम्ले उत्पन्न गरेका समस्याहरू हुन् । यसको पूर्ण समाधानका लागि राज्य नै लाग्नुपर्छ तर यो दलाल राज्य व्यवस्थाबाट सम्भव छैन । त्यसैले हामीले नीति र कार्यक्रमका रूपमा के भन्दै आइरहेका छौँ भने समस्याहरूलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाबाट हल गरेर लैजानु पर्दछ । त्यसका लागि सर्वहारा वर्गको सत्ता अनिवार्य छ । तसर्थ अहिले हाम्रो मुख्य नीति र कार्ययोजना भनेको सबै समस्याहरूको समाधान गर्ने व्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका लागि युवाहरू खोज, अनुसन्धानमा लाग्नुका साथै त्याग, क्रान्तिप्रति समर्पणभाव र बलिदानीको उच्च मनोकाङ्क्षा बोकेका युवाहरू आवश्यक छ । त्यतातिर सबै युवाहरूलाई प्रोत्साहन गर्नु पर्दछ । हाम्रो सम्पूर्ण सङ्गठन देशका लाखौँ युवकयुवतीहरूलाई सङ्गठित गर्ने र नेपाललाई समृद्ध र स्वतन्त्र बनाउने मुख्य कार्यक्रमहरू रहेको छ ।

युवा सङ्गठनलाई नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठनका रुपमा पनि लिइन्छ । पार्टीका नीति, कार्यक्रम कार्यान्वयनमा केकस्तो भूमिका रहन्छ सङ्गठनको ?

हो, यो नेपाल कम्युनिस्ट पार्टिको साहयक सङ्गठन नै हो । यसले पार्टीका सम्पूर्ण नीति, कार्यक्रमलाई हुबहु लागू गर्दछ । पार्टीले तय गरेका नीति र कार्यक्रमहरू कार्यान्वयनको सवालमा सधैँ अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गर्दछ ।

अध्यक्षमा पुनः चयन भएर युवा–आन्दोलनको नेतृत्व समाल्दै गर्दा बिदेसिन बाध्य पचासौँ लाख युवाका असरल्ल सपनाहरुले कत्तिको पिरोल्छ ?

त्यो कुराले त सधैँ सताइरहन्छ । नेपालका युवाहरूको विदेशयात्रा रहर होइन, उनीहरूले आफ्नै देशमा बस्न नचाहेर पनि होइन । यो त बाध्यताको परिणाम हो । जुन सपना युवाहरूले देख्ने गरेका छन्, त्यो विदेशीलाई खुसी पार्ने गरी श्रम गरेर पूरा हुँदैन । त्यो त उनीहरूले आफ्नो व्यक्तिगत जीवनमा देखेका सपनाहरू पनि पूरा हुँदैनन् । त्यसैले यो गम्भीर विषय छ । मलाई सधैँ पोल्ने बिषय के छ भने लाखौँ युवाहरूको ऊर्जा खेर गइरहेको छ । देशको अवस्था अधोगतितिर छ र मानवीय संसाधनका रूपमा रहेको युवा शक्तिलाई राज्यले सही पहिचान र परिचालन गर्न सकिरहेको छैन । यी यावत् विषयले सोचमग्न बनाउँछ ।

एकीकृत जनक्रान्ति सम्पन्न गर्न समग्र युवा र सङ्गठनको भूमिका केकस्तो हुने देख्नुहुन्छ ?

आजको पुँजीवादी दुनियाँले उत्पन्न गरेका सम्पूर्ण समस्याहरूको समाधान भनेको वैज्ञानिक समाजवादी राज्यव्यवस्था हो । त्यो लक्ष्यमा पुग्ने एक मात्र सही बाटो भनेको एकीकृत जनक्रान्तिको बाटो वा कार्यदिशा हो । त्यसैले हाम्रो सङ्गठनको राजनीतिक प्रतिवेदन र विधानहरूमा पनि वैज्ञानिक समाजवाद र त्यसका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा भनी प्रस्ट गरेका छौँ । तसर्थ एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयनमा हाम्रो सङ्गठनका तर्फबाट कुनै पनि कसर बाँकी रहँदैन र दृढसङ्कल्पका साथ सम्पूर्ण सङ्गठनले भूमिका निर्वाह गर्नेछ ।

वैज्ञानिक समाजवाद स्थापना, रक्षा र विकासमा युवा–भूमिका, दायित्व र चुनौतीहरु के छन् ?

तपाईंको प्रश्नमा धेरै र महत्वपूर्ण विषयहरू छन । यो छोटोमा जबाफ दिन सम्भव छैन । जहाँसम्म वैज्ञानिक समाजवादको स्थापना, त्यसको रक्षा र विकासको कुरा छ यसका लागि युवाहरूको महत्वपूर्ण र निर्णायक भूमिका रहन्छ । क्रान्तिको अवधिमा र विजयपछि त्यसको रक्षा र विकासक्रमको निरन्तरताको मुख्य शक्ति भनेका युवाहरू नै हुन् । त्यसका लागि क्रान्तिकारी (माक्र्सवादी) विचार, सिद्धान्तमा गोलबन्द युवाहरू र सङ्गठन चाहिन्छ । त्यो भनेको युवा सङ्गठन नेपाल हो ।

एउटा समाजबाट अर्को समाजमा छलाङ मार्दा थुप्रै समस्याहरू र चुनौतीहरू हुनु स्वाभाविक हो । ती समस्याहरू हाम्रासामु छन् । यी चुनौतीहरूलाई सम्भावनामा बदल्दै जनताका अधिकारहरूलाई स्थापित गर्नु र त्यसका लागि आमयुवाहरूलाई गोलबन्द गर्नु हाम्रो मुख्य दायित्व हुन आउँछ । तसर्थ सङ्गठनलाई राजनीतिक तथा वैचारिक रूपमा सुदृढ र सुव्यवस्थित गर्दै क्रान्ति अघि र पछि हुने खराब तत्वका विरुद्ध तीव्र सङ्घर्ष गर्ने सङ्गठन बनाउनुपर्छ र त्यो सम्भव छ ।

आठौँ पार्टी पुनर्गठन दिवस कसरी मनाउँदै हुनुहुन्छ ?

मङ्सिर ८, हाम्रो पार्टी पुनर्गठन भएको ऐतिहासिक दिन हो । विभिन्न साम्राज्यवादी र दलाल संसद्वादी शक्तिहरूले माओवादी आन्दोलन र त्यसका एजेन्डाहरूलाई कहिल्यै नउठ्न नसक्ने गरी सिध्याउन खोजिरहेको बेला र प्रचण्ड, बाबुरामहरूको महापतनको बेला हामीले क्रान्तिको झन्डा उठाएको दिन हो । त्यसैले यो दिनलाई क्रान्तिकारी तथा उत्पीडित जनताको विजयको दिनका रूपमा मनाउनुपर्छ । यो प्रतिक्रान्तिकारी र प्रतिक्रियावादीहरूका विरुद्धको क्रान्तिको शङ्खघोष गरेको दिन हो । तसर्थ हामी यसलाई लगातार तीन दिनसम्म विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाउँदैछौँ ।

प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवाद स्थापनाका सम्भावना र चुनौती कस्तो देख्नुहुन्छ ?

हेर्नुहोस्, हाम्रो पार्टीले सुरुआती चरणदेखि नै समस्याहरूको समाधान शान्तिपुर्ण र लोकतान्त्रिक तरिकाले हल गरौँ भन्दै आइरहेको छ । हामी अन्तिम समयसम्म पनि शान्तिपूर्ण तरिकाबाट देश र जनताका समस्याहरूको समाधान चाहन्छौँ । तसर्थ लोकतन्त्रको उच्च अभ्यास गरौँ भन्ने हाम्रो प्रस्ताव छ । आजको नेपालका सम्पूर्ण समस्याहरूको एकमुष्ठ समाधानका लागि बृहत् राजनीतिक सभा, संयुक्त प्रगतिशील सरकार र जनमतसङ्ग्रह नै एक मात्र निकास हो । यसका लागि सम्पूर्ण दलहरू तयार हुनुपर्छ भन्ने हाम्रो धारणा हो किनकि जनताले आफ्नो शासन व्यवस्था चुन्न पाउने योभन्दा उच्च लोकतन्त्र दुनियाँमा कहीँकतै छैन र यसबाट कोही पनि आत्तिनु पर्नेछैन किनकि जनतालाई उच्च जनवाद दिनु र जनताले आफ्नो शासन व्यवस्था चुन्न पाउने अधिकार दिने कुराले कसैलाई अप्ठ्यारो पार्दैन । यो ढिलोचाँडो अनिवार्य छ । यो वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने माध्यम हो र यो सम्भव छ । यसो गर्दा स्वाभाविक रूपमा केही चुनौतीहरू हुन्छन् तर पनि ती चुनौतीहरूलाई छिचोलेर जान सकिन्छ ।

युवा–शक्तिलाई विदेश पलायन हुनबाट रोक्ने र क्रान्तिमा लामबद्ध गराउने केही योजना र कार्यक्रम सुझाउनुस् न !

सही प्रश्न गर्नुभो । हालै हाम्रो सङ्गठनको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्यहाँ हामीले गहन छलफल र बहस गरेका छौँ । युवाहरूलाई समाजवादी आन्दोलनमा कसरी लामबद्ध गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनले बहस गरेको छ । यसैगरी युवा समुदायमा रहेका धेरै प्रकारका समस्याहरू छन्, जस्तो राजनीतिक, सामाजिक, सांस्कृतिक र मूलतः आर्थिक समस्याहरू विकराल रूपमा पैदा भएका छन् । यसले युवाहरूलाई विक्षिप्त पारेको छ । यस विषयमा पनि हाम्रो बहस केन्द्रित भएको छ । साथै अब यसको हल के हुन सक्छ भन्ने विषयमा पनि हामीले गहिरो अध्ययनअनुसन्धान तथा बहस गरेका छौँ । हामी के निचोडमा पुगेका छौँ भने राजनीतिक क्रान्ति नै सबै समस्याहरूको समाधान हो भन्ने निष्कर्षमा पुगेका छौँ । यसका लागि युवा समुदायहरूलाई हाम्रा राजनीतिक कार्यक्रम र कार्ययोजनाहरू सुस्पष्ट ढङ्गबाट बुझाउँदै लग्ने र सङ्गठनलाई व्यवस्थित र विस्तार गर्नुपर्ने हुन्छ । त्यो हामी गर्छौं ।

रातो खबरमार्फत अरू थप सन्देश प्रवाह गर्न चाहनुहुन्छ कि ?

सर्वप्रथम त रातो खबरलाई सङ्गठनका तर्फबाट धेरैधेरै आभार तथा धन्यवाद ब्यक्त गर्न चाहन्छु किनकि हाम्रो सङ्गठनको विचार राख्ने अवसर दिनुभयो, यसका लागि विशेष आभार प्रकट गर्न चाहन्छु । अन्तिममा देशका सम्पूर्ण युवाहरूलाई के अपिल गर्दछु भने देशमा भैरहेको भ्रष्टाचार, कमिसनखोरी, राष्ट्रघात, जनघात, सार्वभौमसत्तामाथिको नाङ्गो हस्तक्षेपलगायत विषयका विरुद्धमा एकजुट हुन र आन्दोलित हुन अपिल गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :