चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा महासचिव विप्लवको सम्बोधन

चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा महासचिव विप्लवको सम्बोधन

काठमाडौँ: चिनियाँ कम्युनिस्ट पार्टीले १९ औँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकका निर्णय र सङ्कल्पबारे दक्षिणएसियाका कम्युनिस्ट पार्टीहरूलाई ब्रिफिङ गर्ने क्रममा नेकपाका महासचिव विप्लवले पनि जुम बैठकलाई सम्बोधन गरेका छन् ।

कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीमध्ये नेकपाका साथै भारत, बङ्गलादेश र श्रीलङ्काका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा महासचिव विप्लवले सम्बोधन गरेका हुन् ।

भर्चुअल रूपमा आयोजना गरिएको बैठकमा महासचिव विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीलाई एक सय वर्ष पूरा गरेकोमा र छैटौँ विस्तारित बैठकले लिएका ऐतिहासिक निर्णयका लागि बधाई दिएका थिए । चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गर्दै महासचिव विप्लवले आफूहरू पनि नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको र यसका लागि आन्तरिक र बाह्य धेरै चुनौतीहरू रहेको पनि उल्लेख गरे । उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सङ्क्षिप्त मन्तव्य राखेका थिए । कार्यक्रममा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का सीताराम येचुरी, बङ्गलादेशको कम्युनिस्ट पार्टीका नेता दिलीप बरुवालगायतले चिनियाँ कम्युनिस्ट पार्टीलाई शुभकामना दिएका थिए ।
महासचिव विप्लवले बैठकमा प्रस्तुत गरेका बुँदा यसप्रकार रहेका छन् :

१. चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक सम्पन्न गरी ऐतिहासिक निर्णय लिएकोमा हाम्रो पार्टी तपाईंको पार्टीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

२. आज दुई विश्व–दृष्टिकोण र दुई व्यवस्था छन् । एउटा समाजवादी र अर्को पुँजीवादी । विश्वमा शान्ति, स्थिरता र समृद्धिको नेतृत्व समाजवादी विश्वले गर्दै आएको छ र गर्नुपरेको छ भने भूमण्डलीकृत पुँजीवादले अस्थिरता, अराजकता, पर्यावरणीय प्रदूषण र अतिक्रमणको नेतृत्व गरिरहेको छ । हामी कम्युनिस्टहरूले विश्व–समाजवादका लागि अझै राम्रो योगदान गर्नु पर्नेछ । चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ व्यवस्थाको जुन दृष्टिकोण राखेको छ, त्यो हामीलाई ठीक लागेको छ ।

३. हामी नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेका छौँ । नेपाली जनता समाजवादका पक्षमा छन् तर समाजवाद स्थापना गर्ने बाटोमा हाम्राअगाडि थुप्रै चुनौतीहरू छन् । समाजवादलाई रोक्नका लागि देशी तथा विदेशी पुँजीवादी प्रवृत्तिले अनेक हस्तक्षेप गरिरहेको छ । हामी नेपालमा परिवर्तन, शान्ति, स्वाधीनता, मित्रता र समृद्धि चाहन्छौँ । यसमा सबैको सहयोग रहोस् भन्ने हामी चाहन्छौँ ।
धन्यवाद !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :