एकीकृत जनक्रान्ति र अनुशासन

एकीकृत जनक्रान्ति र अनुशासन

१. आमुख
अनुशासन भन्नाले आफू रहेबसेको घर, परिवार, समाज, संस्थामा प्रचलित मूल्य मान्यताअनुसारको बानी, व्यवहार आचरण र कार्यशैलीलाई बुझिन्छ । यो मानसिक, शारीरिक र मनोवैज्ञानिक अवस्था, मनोवृत्ति र प्रवृत्तिमा भर पर्छ । अनुशासन वातावरणबाट समेत प्रभावित हुन्छ । यो सम्पूर्ण जीवविज्ञान, भौतिक विज्ञान र प्रकृतिसँग समेत अन्तरसम्बन्धित छ । यी सबै पक्षलाई आफ्नो परिस्थितिअनुसार उपयोग गर्ने मानव समुदायका लागि त झन् अत्यावश्यक छ । अनुशासनले हामीलाई परिपक्व, सोच्न, कार्य गर्न र जिम्मेवार निर्णयहरू लिन सक्षम गर्दछ । यसले हामीलाई आत्मसञ्चालित, आत्मनियन्त्रित र आत्मनिर्देशित व्यक्ति बनाउँछ । यसले हामीलाई जिम्मेवार र प्रधान व्यक्ति बनाउँछ । अनुशासनले एक व्यक्तिलाई सफल पार्नका लागि प्रेरित गर्न र उसको जीवनमा प्रगति गर्न ठूलो र महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अनुशासन क्रान्तिकारीहरूको मुख्य हतियार हो ।

एकीकृत जनक्रान्ति सफल पार्न पार्टीपङ्क्तिमा फलामे अनुशासन, कम्युनिस्ट अनुशासन अक्षरशः लागू गर्नुपर्छ । हाम्रो एकीकृत जनक्रान्ति तब मात्र अगाडि बढ्छ जब प्रतिबद्ध, अनुशासित सदस्यहरूको लामबद्ध टिम हुन्छ । क्रान्तिकारीहरूले सधैँ ख्याल गर्नैपर्ने कुरा भनेकै अनुशासन हो । एउटा अनुशासित कम्युनिस्ट सदस्यले पार्टीको विधि, पद्धति अनुसरण गर्नैपर्छ । कम्युनिस्ट नेता–कार्यकर्ताहरूले पार्टीको नीति, विधिलाई कार्यान्वयनका सन्दर्भमा सधैँ तदारुकता साथ अगाडि बढाउन अनुशासित भएर लाग्नुपर्छ । जब हामीले एकीकृत जनक्रान्तिको बाटोमा जाने उत्साह देखाउँछौँ, पार्टीको सही राजनीति, कार्यदिशा र सिद्धान्तलाई पूरा लागू गर्ने सुनिश्चित गर्न हामीले सर्वहारावादी अनुशासनको सम्मान पनि गर्नैपर्छ ।

हामी नेपाललाई स्वाधीन बनाउन चाहन्छौँ । अहिले देश एकदमै सङ्कटग्रस्त अवस्थामा छ । यस्तो परिस्थितिबाट हामी यो देशलाई दलालहरूबाट मुक्त गर्न चाहन्छौँ । विदेशीहरूको हस्तक्षेपको चङ्गुलबाट निकाल्न चाहन्छौँ । त्यसकारण हामीले एउटा सङ्कल्प के पनि गरेका छौँ भने जबसम्म यो धर्तीमा दलाल र भ्रष्टहरूको शासनसत्ता अन्त्य नभएसम्म श्रमिक वर्गको सत्ता प्राप्त हुन सक्दैन । त्यसकारण यी भ्रष्ट र दलालहरूलाई सदाका निम्ति लखेट्न पनि हामी सबै न्यायप्रेमी युवा, श्रमिक, मजदुर सबै अनुशासित र एकजुट भएर अगाडि बढ्न आवश्यक छ ।

२. एकीकृत जनक्रान्तिमा अनुशासनको आवश्यकता र महत्व

नेपाल कम्युनिस्ट पार्टी एउटा अनुशासित पार्टी हो । अनुशासन किन आवश्यक छ भने नेपाली श्रमिक जनताका आवाजहरू पूरा गर्नका निम्ति पार्टीले लिएका कार्यनीति र रणनीतिहरू सफल गर्न अनुशासित र सक्षम सदस्यहरू आवश्यक छ । एउटा अनुशासित सदस्य मात्र पार्टीले अगाडि सारेको योजना कार्यान्वयन गर्न अग्रसर हुन्छ ।

अनुशासित र एकताबद्व पार्टीले मात्र व्यापक श्रमिक जनसमुदायलाई एकजुट पार्न सक्दछ, विशाल तथा बलियो क्रान्तिकारी जनसेना निर्माण गर्न सक्दछ, आफ्ना पार्टीभित्र र बाहिरका दुस्मनलाई पराजित गर्न सक्दछ र एकीकृत जनक्रान्तिको सङ्घर्षमा विजय हासिल गर्दछ । दलाल संसदीय पुँजीपति वर्गको उल्मूलन गर्न र वैज्ञानिक समाजवादसम्म पुग्नका निम्ति सर्वहारा वर्ग र सम्पूर्ण श्रमजीवी जनसमुदायलाई नेतृत्व प्रदान गर्ने योग्यता हासिल गर्न सर्वहारा वर्गको राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टी सही राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति र आफ्नो सङ्गठनको शक्तिमा भर पर्नु पर्दछ । नेपाल कम्युनिस्ट पार्टीको क्रान्तिकारी अनुशासन र कम्युनिस्टहरूको विजय सधैँ घनिष्ट रूपले जोडिएको हुन्छ । यसकारण श्रमिक सर्वहारा वर्ग र कम्युनिस्ट पार्टीको अनुशासनलाई निरन्तर रूपमा बलियो बनाइराख्ने कुरालाई एकीकृत जनक्रान्तिको विजय र निर्माणका निम्ति एउटा अनिवार्य सर्तका रूपमा लिइएको छ । हामीले कम्युनिस्ट अनुशासनलाई पालना गर्ने, त्यसलाई जोगाएर मात्रै एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यान्वयन सुनिश्चित गर्नुपर्दछ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी सम्पूर्ण श्रमजीवी नेपाली जनताको नेतृत्वदायी केन्द्र हो । त्यसकारण पार्टी अनुशासित भए मात्र हरेक कामका लागि यसको एउटै विचार, एउटै चाहना र एउटै दिशा हुन्छ र एकीकृत जनक्रान्तिको राजनीतिक सिद्धान्त, आर्थिक सिद्धान्त, साङ्गठनिक सिद्धान्तहरूलाई पूर्ण रूपमा लागू गर्न सकिन्छ ।

जब हामी अनुशासनको कुरा गर्छौं, त्यसको अर्थ सिद्धान्तमा आधारित अनुशासन हो । महासचिव क. विप्लवले नेतृत्व गरेको केन्द्रीय समितिको वरिपरि अनुशासित, एकताबद्ध भएर गोलबन्द हुनु हो । अनुशासन भनेको माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत जनक्रान्तिको कार्यदिशामा आधारित अनुशासन हो भन्ने बुझ्नु पर्दछ । यी सिद्धान्तहरूलाई दह्रोसँग पकडेर मात्रै सिङ्गो पार्टीमा सच्चा कम्युनिस्ट अनुशासन पैदा गर्न र एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयन गर्नका निम्ति अगाडि बढ्न सम्भव छ । कम्युनिस्ट अनुशासन आफँै पैदा हुँदैन, पार्टी विधि र पद्धतिले हुन्छ । समाजमा वर्गहरू र वर्गसङ्घर्ष रहेसम्म पार्टीमा अनुशासित र अराजकबीच सङ्घर्ष अनिवार्य रहनेछ ।

३. एकीकृत जनक्रान्तिमा अनुशासन लागू गर्न कठिनाइहरू

हरेक सिद्धान्तहरू अक्षर पालना र जीवन व्यवहारमा उतार्न गाह्रो कुरा हो । त्यसैले एकीकृत जनक्रान्तिमा पनि यसका विधि, पद्धति लागू गर्ने सन्दर्भहरूमा केही सीमाहरू पक्कै होलान् तर मुख्यतः अक्षरशः पालना नै हुनुपर्छ । यी सवालहरूमा केही पात्रगत सीमाहरूलाई हामीले जरैदेखि उखेलेर फाल्न सक्नुपर्छ । समितिको कुराभन्दा समितिबेगरका कुरा बढी प्राथमिकतामा पर्ने, चिनजानका आधारमा अन्य सम्बन्धजस्ता केही पात्रगत समस्यहरूका कारण अनुशासन कार्यान्वयनको सवालमा कहिलेकहीँ कठिनाइहरू उत्पन हुने गर्दछ । भूगोलअनुसार, भाषा, संस्कृति, जातजातिजस्ता विशिष्ट कारण केही कठिनाइ तथा एकरूपतामा ल्यााउन कठिनाई छ ।

पार्टीलाई बलियो बनाउने आवश्यक सर्त पार्टीभित्र सङ्घर्षको सही पहिचान हो । हाम्रो पार्टीमा सङ्गठनात्मक रूपले जोडिएको तर वैचारिक रूपमा र अनुशासित रूपले परिपक्व नभएका पनि कतिपय कमरेडहरू हुनुहुन्छ । त्यसकारण पार्टीमा सधैँ दलाल पुँजीवादलाई सहयोग पुग्ने र निम्नपुँजीवादी विचारहरू अभिव्यक्त भैरहन सक्छन् । यसले पार्टीको अनुशासनमा अवरोध पैदा गर्दछ । त्यसमाथि थुप्रै गद्दारहरू, गोप्य दलालहरू, दलाल संसदीय पुजीवादी महत्वाकाङ्क्षीहरू र गैरश्रमजीवी तत्वहरू पनि पार्टीमा घुस्न सक्छन् । यस्ता व्यक्तिहरू पार्टीभित्र घुसेका पुँजीपति वर्गका दलालहरू हुन् र दलालहरूका योजनालाई कार्यान्वयन गर्न र तिनीहरू सधैँ अराजक र पार्टीको अनुशासनलाई ध्वस्त गर्न खोज्छन् । यसले पार्टीमा हुने अराजक अभिव्यक्तिहरू वर्गसङ्घर्षका प्रतिबिम्बहरू पनि हुन् भन्ने स्पष्ट गर्दछ । पार्टी अनुशासनको रक्षा गर्न र पार्टीपङ्क्तिलाई चोखो राख्नका लागि हामीले माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत जनक्रान्तिको सिद्धान्तमा आधारित रहेर पार्टीभित्र सक्रियतापूवर्क सङ्घर्ष सञ्चालन गर्नुपर्छ । हाम्रो पार्टीमा घुसेका खराब तत्वहरूका सन्दर्भमा भने तिनीहरूको पूरा भन्डाफोर गर्नुपर्छ, दृढतापूर्वक सङ्घर्ष गर्नुपर्छ र तिनीहरूलाई पार्टीबाट निष्कासन गर्नुपर्दछ । अवसरवाद र संशोधनवादका विरुद्ध हामी निरन्तर सङ्घर्षमा छौँ ।

अवसरवाद र संशोधनवादविरुद्धको सङ्घर्षका बीचबाट नै हाम्रो पार्टीको विस्तार भएको छ र अराजकतावादविरुद्ध सङ्घर्ष गरेर नै अनुशासित पार्टी बनेको छ । हाम्रो पार्टी श्रमिक तथा सर्वहारावादी पार्टी हो । यो श्रमजीवी तथा सर्वहारावर्गका उन्नत तत्वहरूबाट बनेको हुन्छ र आफ्नो वर्गदुस्मनका विरुद्धको सङ्घर्षमा सर्वहारा वर्ग र क्रान्तिकारी जनतालाई निर्देशन गर्ने बलियो अग्रसर सङ्गठन भएकाले पार्टी सङ्गठनमा अनुशासन र गोपनीयता पहिलो हुनुपर्दछ । एकीकृत जनक्रान्तिलाई वैज्ञानिक समाजवादसम्म पु¥याउनका निम्ति हाम्रो पार्टीलाई समाज विकासका नियमहरूलाई आत्मसात गर्न नेपालको क्रान्तिको वर्तमान यथार्थ तथा इतिहासलाई वैज्ञानिक विश्लेषण गर्न, सही कार्यदिशा तथा सही राजनीतिक सिद्धान्तहरूको व्याख्या गर्न, दलाल पुँजीपति तथा अन्य शोषक वर्गहरूमाथि एवम् वाम तथा दक्षिणपन्थी अवसरवादका विरुद्ध सर्वहारा वर्ग र आमक्रान्तिकारी जनतालाई नेतृत्व गर्न सक्षम बनाउने कुरा हो । क्रान्तिकारी सङ्घर्षको १० बर्से जनयुद्ध, शान्तिप्रक्रिया, दुई लाइन सङ्घर्ष, एकीकृत जनक्रान्तिका ८ वर्षका क्रममा पार्टीले धेरै अनुभव, प्रशिक्षण, तथा शिक्षा आर्जन गरेको छ र सबै प्रकारका जटिल सङ्घर्षहरू र कठिन अवस्थाहरूको परीक्षामा बसेको छ । यसको विकास तथा वृद्धि, रक्षा गर्न र यसले देशका सबै भागका जनताको समर्थन र विश्वास आर्जन भइरहेको छ । हामीले अराजकताबाट मुक्त गरी एक अनुशासित पार्टी निर्माण गरेर पार्टीको केन्द्रीकृत नेतृत्वको सम्मान र रक्षा गर्न सक्नु पर्दछ ।

४. निष्कर्ष

हाम्रो पार्टी झन् शुद्ध, झन् बलियो र सबैभन्दा अनुशासित पार्टी भएको छ । पार्टीमा अनुशासन नरहेमा सदस्यहरू लगामबिनाका घोडाजस्तै हुन्छन् र त्यो सदस्यले पार्टीको योजना सफल गर्न सक्दैन । हामी कम्युनिस्ट पार्टीका सदस्यहरूमा पार्टीको अनुशासन पालना आफूभित्रैबाट हुनुपर्छ ।

अनुशासनभित्र नै हाम्रो समग्र आन्दोलनको भविष्य छ । पार्टीमा विधि, पद्धति र अनुशासन राम्रोसँग लागू हुन्छ भने सर्वहारा वर्ग जितनजिक छ । पार्टीपङ्क्तिमा अनुशासन, विधि पद्धति लागू गर्नेमा नेता अनुदार हुन्छ भने हाम्रो जित गाह्रो कुरा पनि हो । प्रचण्ड र बाबुरामहरू कम्युनिस्ट मूल्य, मान्यता र अनुशासनमा बस्दासम्म जनताले माया गरेकै थिए तर आज यिनीहरूको नाम पनि नेपाली जनताले सुन्न चाहन्नन् र आज प्रचण्डहरूको पतनको प्रमुख कारण भनेको नै आफ्नो वर्गीय अनुशासन र मूल्य, मान्यता त्याग्नु हो । त्यसैले हामी कम्युनिस्ट पार्टीका सदस्यहरूको गहना भनेको नै कम्युनिस्ट अनुशासन हो । १० बर्से जनयुद्ध यो सफलतामा पुग्नुको मुख्य कुरा भनेको अनुशासन, त्याग, समर्पण र गोपनीयता नै हो ।

आज एकीकृत जनक्रान्तिमा पनि हिजोको जनयुद्धको जस्तो कमरेड्ली भावना, त्याग, समर्पण, उदात्तता, अनुशासित पार्टीपङ्क्ति निर्माण गर्नु आवश्यक छ । हामी विगतको इतिहासबाट पाठ सिक्दै अब अहिले एकीकृत जनक्रान्तिमा सबैभन्दा उत्कृष्ट मानव अनुशासनको विकास गराई मानव सभ्यताको विकासमा ध्यान पु¥याउनु आवश्यक छ । हामीमा दर्शन र व्यवहारमा केही अन्तर छ, त्यो भनेको नै अनुशासनको कमी हो । त्यो कमीलाई हामी समाधान गर्न चाहन्छौँ । कसैले समधान गर्न नसकेको विषयको समाधान गर्न चाहन्छौँ । त्यो अनुशासन अनुशासित भएर मात्रै पूर्ति गर्न सकिन्छ । हाम्रो लडाइँ पनि कम्युनिस्ट अनुशासन निर्माणका लागि नै हो । हामीलाई सबैले आशा र भरोसाको केन्द्र मान्नु भनेकै हाम्रो पार्टीको अनुशासन हो । हामीले पार्र्टी एकरूपतामा ल्याउन, योजना सफल बनाउन र एकीकृत जनक्रान्ति सफल बनाउन अनिवार्य रूपमा कडाइसाथ अनुशासन र गोपनीयतालाई सधैँ शीर्ष स्थानमा राख्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :