नेपाल बन्दमा सरकारको व्यापक धरपकड, काठमाडौँलगायत देशभरबाट आन्दोलनकारी गिरफ्तार

नेपाल बन्दमा सरकारको व्यापक धरपकड, काठमाडौँलगायत देशभरबाट आन्दोलनकारी गिरफ्तार

काठमाडौँ : मूल्यवृद्धिविरुद्ध नेपाल बन्दलगायत आन्दोलनमा उत्रिएका नेकपाका नेता–कार्यकर्तालाई सरकारले व्यापक मात्रामा गिरफ्तार गरेको छ । काठमाडौँ, ललितपुर, काभ्रेलगायत देशका विभिन्न जिल्लामा नेकपाका नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका थप समाचारहरू प्राप्त भएका छन् ।

प्राप्त समाचारअनुसार प्रहरीले ललितपुरबाट नेकपा ललितपुरका सेक्रेटरी रमेश डङ्गोल, काठमाडौँ कालीमाटीबाट श्रमिक समुदाय मोर्चा काठमाडौँ सदस्य राज गजमेर र जमलबाट अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सदस्य एवम् पशुपति क्याम्पस अध्यक्ष सुवास महतलाई गिरफ्तार गरेको छ ।

नेपाल बन्दका क्रममा सरकारले पैदल यात्रुलाई पनि गिरफ्तार गर्न बाँकी राखेन । प्रहरीले काठमाडौँ क्षेत्रपाटीबाट नेवाः मोर्चा काठमाडौँका अध्यक्ष दीपक मानन्धर र सङ्घर्षलाई पनि गिरफ्तार गरेको छ । बाफलमा चारजना पैदलयात्रुलाई पनि प्रहरीले गिरफ्तार गरेको समाचारमा जनाइएको छ ।

त्यस्तै साँखु र महाराजगन्जबाट नेकपाका ६ जना गिरफ्तार भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार बस्नेतले नै पुष्टि गरेका छन् । गिरफ्तार हुने अन्यमा रामकृष्ण गिरी, भुवन तामाङ, सुकबहादुर तामाङसहित ६ जना छन् ।

पार्टी केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज आधार र युवा सङ्गठनकी महासचिव विदुषी, नेकपा कास्कीका सदस्य एवम् कार्यालय सचिव काजी गुरुङ, अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलगायत गिरफ्तार भएको समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :