नेकपाद्वारा चितवनको विभिन्न स्थानमा मशाल जुलुस सम्पन्न

नेकपाद्वारा चितवनको विभिन्न स्थानमा मशाल जुलुस सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोध गर्दै चितवनका विभिन्न स्थानमा मशाल जुलुस सम्पन्न गरेको छ ।

नेकपा चितवनले पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध केन्द्रीय सङ्घर्षका कार्यक्रम अन्तर्गत शुक्रबार चितवनका भरतपुर, पुर्वि चितवनको टाँडी र माडीको बसन्तपुर बजारमा मूल्यबृद्धि खारेजीको माग गर्दै मशाल जुलुस गरेको हो ।

भरतपुरमा भएको मशाल जुलुस पछिको सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी चितवनका विशेष कमिटी सदस्य रुद्र भट्टराईले राज्यसत्ता लुटेराहरूको हातमा रहँदासम्म श्रमिक जनताहरूले महँगीको मारमा श्वाससम्म फेर्न नपाउने बताए । उनले जनताले मुठ्ठीभर दलाल पुँजीपतिको हातबाट सत्ता कब्जा गरेर मात्रै मुक्ति पाउने विचार व्यक्त गरे । उनले भने, ‘यो सत्ताको उपहार नै महँगी, कालोबजारी, भ्रष्टाचार, बेथिति, विसङ्गति हो ।’ नेता खड्काले यसबाट मुक्ति चाहने हो भने राज्यसत्ता बदल्नेमा जुट्नुपर्ने धारणा राखे ।

पुर्वि चितवनको टाँडी बजारमा भएको मशाल जुलुस सभामा बोल्दै नेकपा चितवनका जिल्ला कमिटी सदस्य रणदिपले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक पेट्रोलियम तथा खाद्यवस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गर्नुले जनता कङ्गाल हुने स्थिति सिर्जना भएकोप्रति आक्रोश व्यक्त गरे । उनले जनतामाथि गरिने दोहनलाई टुलुटुलु हेरेर आफ्नो पार्टी नबस्ने चेतावनी दिए । साथै उनले सम्पूर्ण मूल्यबृद्धि खारेज नहुँदासम्म आफ्नो पार्टीले सङ्घर्ष जारी राख्ने उद्घोष गर्दै मूल्यबृद्धिका विरुद्ध पार्टीले कात्तिक २५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेकोमा आन्दोलनमा ऐक्यबद्धता र सहभागिताका लागि अपिलसमेत गरे ।

त्यसैगरी माडीमा भएको मशाल जुलुससभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी चितवनका जिल्ला कमिटी सदस्य आशिस चौधरीले जनता लुट्ने लुटेरा शासकहरूका विरुद्ध सङ्गठन निरन्तर सङ्घर्षमा होमिने उद्घोष गरे । उनले विभिन्न वाहानामा दैनिकजसो गरिने मूल्यबृद्धिले गरिखाने वर्गलाई एक छाक टार्न मुस्किल परिरहेको भन्दै मूल्यबृद्धि फिर्ता नगरिए सडकबाटै आन्दोलनको आधिबेहरी सिर्जना गर्ने चेतावनी दिए । उनले भने, ‘हामी जनताका विरुद्ध हुने र जुनसुकै हर्कतका विरुद्ध शिरमा कफन बाँधेर हिडेका छौँ, बरू सडकमै मृत्यु स्वीकार गर्छौं तर सत्य बोल्छौँ ।’

मशाल जुलुसमा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि खारेज गर, दलाल सरकार मुर्दावाद, दलाल संसदीय व्यवस्थाको अन्त्य गरौँ, वैज्ञानिक समाजवाद जिन्दावाद जस्ता नाराहरू लगाएका थिए ।

यसअघि बिहीबार नेकपा चितवनले जिल्लाका विभिन्न ठाउँमा टायर बालेर मूल्यबृद्धिको विरुद्ध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :