नेकपा दाङद्वारा पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध विभिन्न ठाउँमा मशाल जुलुस

नेकपा दाङद्वारा पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध विभिन्न ठाउँमा मशाल जुलुस

दाङः नेपाल कम्युनिस्ट पार्टी दाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध जिल्लाका विभिन्न ठाउमा मशाल जुलुससहित प्रदर्शन गरेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका स्थित बिरेन्द्र चोकमा भव्य मशाल जुलुस प्रदर्शन पछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङका कार्यालय सदस्य एवम् जिल्ला उत्पादन विभाग प्रमुख किरणले दलाल सत्ताको उपहार केवल महंगी र मुल्यबृद्धि भएको जिकिर गरे । उनले पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता नभए आफुहरु मशालको मुस्लो बोकेर संसद भवनसम्म छिर्ने चेतावनी दिए। उनले भने, हामी प्रचण्ड प्रजातिका कम्युनिस्ट होइनौं, हामी भिन्न प्रजातीका कम्युनिस्ट हौं, जनताको मुक्तिका खातिर बलिदान गर्न तयार भएर हिडेका छौं ।
नेता किरणले श्रमजीवी जनतामाथीको दोहन तत्काल नरोके आफुहरुको संघर्ष भयानक हुने उद्घोष गरे । कांग्रेस एमाले लगायतका संसदवादी राजनीतिक पार्टीका युवाहरुलाई आफ्नो सरकारले गरेको गलत कार्यका विरुद्ध लड्ने साहास गर्न नेता किरणको जोड थियो । कम्तिमा जनतालाई टाट पल्टाउने गरि गरिएको मुल्य बृद्धिका विरुद्धमा बोल्ने आँट गर्नुस्, नेता किरणले भने ।

नेता किरणले पेट्रोलियम पदार्थमा गरिएको चरम मुल्यबृद्धिका विरुद्ध आफ्नो पार्टीले घोषणा गरेका संघर्षका कार्यक्रम अन्तर्गत आज देशव्यापी मशाल जुलुस गरेको बताए । ३० गतेको नेपाल बन्द आम जनताको प्रत्यक्ष जिवनसँग जोडिएको पेट्रोलियम पदार्थको मुल्यबृद्धिका विरुद्ध भएकोले ऐक्यबद्धता तथा सहभागिताका लागि सम्पूर्ण दंगाली जनसमुदायलाई अपिल समेत गरे ।

यस्तै नेकपा दाङ अन्तर्गत घोराही उपमहानगर कमिटीले घोराही स्थित तुलसीपुर चोकमा भव्य मशाल जुलुस सहित कोणसभा सम्पन्न गरेको जनाएको छ । घोराहीको विरोध कोणसभालाई अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अनिलले सम्बोधन गरेका थिए ।
यता नेकपा राजपुर गाउँपालिकाले मोतिपुरमा मशाल जुलुस प्रदर्शन गरेको छ । मशाल जुलुस प्रदर्शन पछिको कोणसभालाई सम्बोधन राजपुर गाउँपालिका इन्चार्ज उज्ज्वले गरे । कोणसभाको संचालन हरीले गरेको बताइएको छ । यस्तै नेकपा बबई गाउँकमिटीले पालिकाका दुई मुख्य स्थान हापुरे र हंसपुरमा मशाल जुलुससहित कोणसभा कार्यक्रम सम्पन्न गरेको जनाएको छ । हंसपुरमा भएको मशाल जुलुस पछिको कोणसभालाई नेकपा दाङ जिल्ला सदस्य रण बहादुर वलीले सम्बोधन गरेका थिए भने हापुरेमा भएको मशाल जुलुस प्रदर्शन पछिको कोणसभालाई सम्बोधन नेकपा विशेष कमिटी सदस्य दिल बहादुरले गरेका थिए भने कोणसभाको सहजीकरण पार्टी गाउँकमिटी सदस्य तारा वलीले गरेका हुन् ।


यस्तै नेकपा लमही नगरकमिटिले नगरको लमही चोकमा भव्य मशाल जुलुससहित पेट्रोलियम पदार्थमा राज्यले गरेको चरम मुल्यबृद्धिको विरोध गरेको जनाएको छ भने नेकपा राप्ती गाउँपालिकाले पनि मुल्यबृद्धिका विरुद्ध मशाल जुलुस कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ।

यस्तै नेकपाले जिल्ला अन्तर्गत रहेका अन्य पालिकाका मुख्य सहरहरुमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्धमा भव्य मशाल जुलुस प्रदर्शन कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :