पुरानो सत्तामा चरम सङ्कट

‘जनताको न्यायपूर्ण आवाजलाई बन्दुकले दबाउन खोजियो भने हामी चुप लागेर बस्दैनौँ’

पुरानो सत्तामा चरम सङ्कट

नेपालका युवाहरू विगत ७० वर्षदेखि लडिरहेका छन् । नेपालको स्वाधीनता र देशको भविष्यका लागि नेपालका युवाहरू सङ्घर्ष गर्दै आइरहेका छन् र आज पनि जारी छ । मलाई सम्झना छ । पञ्चायतका विरुद्ध काठमाडौँमा महेन्द्रको सालिकमा उक्लने युवाहरूले सोच्दै थिए होलान्, सायद उनीहरू सोच्दै थिए होलान्– म मरे पनि देश स्वाधीन बन्नेछ । त्यति बेला महेन्द्रको सालिक तोड्न उक्लने युवाहरूलाई प्रहरीले गोली हान्दै ढाल्दै गर्यो तर युवाहरू आत्मसमर्पण गरेनन् । तपाईंहरूले इतिहास सुन्नुभएको राणाविरोधी आन्दोलनमा संलग्न युवाहरूलाई कलेजबाट, क्लबबाट गिरफ्तार गरे । उनीहरूले आत्मसमर्पण गरेनन् । राणाहरूले आत्मसमर्पण गराउन खोज्दा युवाहरूले आफ्नो जीवन बलिदान गरे तर झुकेनन् । उनीहरूले देशको भविष्यको सपना बोकेका थिए र आफ्नो जीवन आहुति दिए । उनीहरू सोच्थे होलान्– हामी मरेर गए पनि देश तानाशाही शासनको चङ्गुलबाट मुक्त हुनेछ ।

हामी युवा हुँदा कहिलेकहीँ यो रातो ब्यानर ओढेर पनि सुत्ने गथ्र्यौं र सपना देख्थ्यौँ । हामीसँग राम्रो खाने र लगाउने नै हुँदैनथ्यो । हामी काठमाडौँका गल्लीहरूमा बसेर सपना देख्थ्यौँ– एक दिन नेपालका जनता मुक्त हुनेछन् र नेपालका जनताले नयाँ भविष्य पाउनेछन् । हामीले दुःख उठायौँ भने नेपालका जनताले नयाँ भविष्य पाउँछन् भने हामी तयार हुनुपर्छ भन्ने कुरा सोच्थ्यौँ । तपाईंहरूजस्तै युवा हुँदा हामी कलेज छोडेर जनयुद्धमा हामफालेका थियौँ । हामीलाई प्रचण्ड, बाबुराम, किरण र बादलहरूले एउटा सपना भरिदिनुभएको थियो– हाम्रो जीवनभन्दा प्यारो हाम्रो मुक्ति हो । हामीले जनयुद्धमा हामफाल्दाखेरि हामीले आफ्नो जीवनका बारेमा कहिल्यै सोचेनौँ । हामी मर्छौ कि बाँच्छौँ, त्यो थाहा थिएन तर हाम्रो एउटै सपना थियो– जनताको सपनालाई पूरा गर्ने हाम्रो सपना थियो । तानाशाही सत्तालाई पराजित गरेर जनताको सपना स्थापित गर्ने हाम्रो सपना थियो । हामी हजारौँ युवा त्यो अभियानामा लामबद्ध बनेका थियौँ । हामीलाई थाहा छ– हजारौँ कमैयाहरू जमिनदारको घरबाट विद्रोह गरेर हाम्रो पार्टीमा आउनुभएको थियो । हामी सोच्थ्यौँ– जनताको शासन व्यवस्था स्थापना भएको खण्डमा यहाँ कोही कमलहरी हुनुपर्ने छैन । युवाहरू विदेशीको गुलाम बन्नुपर्ने छैन । यहाँका जमिनदार र तानाशाहहरूलाई धुलोमा मिलाइनेछ र जनताको व्यवस्था स्थापना हुनेछ भन्ने सपना देख्थ्यौँ । तर त्यो आजसम्म पूरा भएको छैन । म युवाहरूलाई भन्ने गर्छु– त्यो सङ्घर्षमा आज तपाईंहरू आइपुग्नुभएको छ । सायद युवाहरूको पनि त्यो सपना छ, यो देशलाई मुक्त गर्ने र स्वाधीन बनाउने सपना ।

विगत ७० बर्षदेखि चलेको आन्दोलन आज तपाईंहरूसँग पनि मिसिएको छ । नेपालमा गाउँगाउँमा जरा गाडेर बसेको सामन्तवाद ध्वस्त भएको छ । विदेशीको इसारामा चल्ने विदेशी दलालहरू, लुटेराहरूलाई गाउँगाउँबाट लखेट्नु पर्छ । नेपालका युवाहरूलाई विदेशमा बेचिएको छ । युवाहरूको ठूलो शक्ति विदेश पलायन भएको छ । युवाहरू विदेशीको खेलौना बनेका छन् । २१ औँ शताब्दीमा पनि १८ औँ र सत्रौँ शताब्दीको जस्तो हालत भोग्नु परिरेहेको छ । हाम्रा युवाहरूलाई जङ्गलको बाटो अमेरिका पुर्याउने र किनबेच गर्ने काम भइरहेको छ । नेपालका दिदीबहिनीहरूलाई विदेशका सडकमा उभ्याएर मोलमोलाइ गरी बेच्ने काम भएको छ जसरी १८ औँ शताब्दीमा अमेरिकामा काला जातिहरूलाई सिक्रीले बाँधेर गोराहरूले बेच्ने गर्दथे र वस्तुको जस्तै व्यापार गर्ने गर्दथे ।

हामी देशमा समाजवाद ल्याउन चाहने यो देशका क्रान्तिकारी युवाहरू, हरेकपल्ट विद्रोह गरेर तानाशाहरूलाई पछार्न सफल युवाहरूले आज १८ औँ शताब्दीको जस्तो अवस्था भोग्न बाध्य हुनुपरेको छ । हाम्रा युवाहरू बेचिँदा राज्य टुलुटुलु हेरेर बस्छ । सरकारको काम भनेको युवाहरूलाई विदेशमा बेच्नु हो । कुनै बेला अफ्रिकाका शासकहरू युवाहरूलाई बेचेर खान्थे । आज नेपालका हरेक शासकहरू युवकयुवतीहरूलाई बेचेर महल बनाउनेहरू प्रजातन्त्रको डिङ हाँक्दैछन् । नेपालमा यहीँ भएका मात्र होइन, विदेशमा बेचिएका ६०–७० लाख युवाले तपाईंहरूलाई हेरिरहेका छन् । देश र विदेशमा छरिएर रहेका युवकयुवतीहरूलाई तपाईंहरूले विश्वास दिलाउनुपर्छ । युवा सङ्गठनले अपिल गर्नुपर्छ– देश लुट्न नदिने हामी छौँ र देश लुट्नबाट बचाउने हामी छौँ भनेर । जसरी अग्रजहरूले बलिदान गरेका थिए त्यसरी हामी बलिदान गर्छौँ भनेर विश्वास दिलाउनुपर्छ । जसरी अग्रजहरूले जेल, नेल र यातना भोगेका थिए, जसरी घरबार त्यागेका थिए, देशलाई मुक्त गर्नका लागि होमिएका थिए । म राता टिसर्ट लगाएका युवालाई अपिल गर्न चाहन्छु– तपाईंहरूले यो देशलाई मुक्त गर्न तयार छाैँ भनेर आमयुवालाई आह्वान गर्नुपर्ने हुन्छ ।

नेपालमा विजयको नजिक पुगेको माओवादी पछारियो र अब उठेर धुलो टकटक्याएर उठ्नुपर्छ । केही समस्या आए पनि हामी फेरि उठेका छौँ । म दाङबासी जनतालाई भन्न चाहन्छु– हामी रगत पुछेर उठेका मान्छेहरू हौँ । रणमैदानमा साथी ढल्दा रगत र आँसु पुछेर हिँडेका मान्छे हौँ । हामी जनताको विजयका निम्ति सबैखाले दुःखकष्ट खपेर उठेका मान्छे हाैँ । आकाशमा कतै कालो बादल मडारिन सक्छ । कतै अविश्वास आउन सक्छ तर तपाईंले विश्वास गर्नुपर्छ । दलालहरूले काठमाडौँमा केही हल्लीखल्ली मच्चाउन खोज्दैछन् तर त्यो केही दिनका लागि मात्र हो । हामी निराश हुनु हुँदैन । हामी निरास भयौँ भने वैरीहरूले त्यसको फाइदा उठाउनेछन् । निरास भइयो भने फेरि जनताका लुटेरा हाबी हुनेछन् । शासकहरू हाम्रो टाउकोमा टेक्न आइपुग्नेछन् । हामी एउटा सपना, एउटा आशा र एउटा विश्वासका साथ जुट्नुपर्छ ।

आदरणीय जनसमुदाय र कमरेडहरू, हामी हाम्रो पार्टीको मात्र कुरा गर्न यहाँ आएको होइन । जनयुद्धमा पनि हामीले देश र जनताका कुरा गरेका थियाैँ । हामीले माओवादीको मात्र कुरा गरेका थियौँ भने जित्ने थिएनौँ । जनयुद्ध माओवादी पार्टीको मात्र थिएन । जनयुद्ध नेपालका श्रमिक जनताको युद्ध थियो । माओवादी पार्टीले साहसका साथ युद्ध गरेको हो । यतिबेला पनि हामीले हाम्रो पार्टीको मात्र कुरा गरेका होइनौँ । यसलाई कैयौँ मानिस सिध्याइदिने कुरा गर्छन् । हामी रोल्पा र दाङ हुँदै काठमाडौँ पुगेका थियौँ र भनेको थियौँ– हामी जनताको विजय नहुँदासम्म आराम गर्नेछैनौँ । हाम्रा नेताहरूले पनि त्यो भनेका थिए । हामीले उनीहरूलाई साथ पनि दिएका थियौँ तर पछि हाम्रा नेताहरू जनताको विश्वासबाट बाहिरिन थाले । जनता र देशको मुद्दाबाट पछि फर्किन थालेको जस्तो महसुस भएपछि हाम्रो बहस भयो । त्यही बेला हामीले भनेका थियौँ– माओवादीले लडेको कुरा केवल कुर्सीका लागि होइन । माओवादी प्रधानमन्त्री र मन्त्री हुनका लागि लडेको थिएन । प्रधानमन्त्री पनि हुने हो तर त्यसका लागि मात्रै लडेको थिएन । पैसाको अभाव भएर तलब खानका लागि मात्रै पनि लडेको थिएन । काङ्ग्रेस–एमालेले सरकारमा बसेर पैसा खाए भनेर हामी पनि पैसा खानका लागि जनयुद्ध लडेको होइन । हामीले रातीराती पहाडहरू उक्लेको, दुःख–कष्ट भोगेको कुरा मन्त्री हुनका लागि वा कुर्सी पाउनका लागि मात्र थिएन । जब माओवादी पार्टीभित्र समस्या आउन थाल्यो, हामीले भन्यौँ– काङ्ग्रेसले पनि इतिहासमा भुल गरेको छ । काङ्ग्रेसका साथीहरूले यही व्यवस्था ठीक भन्नुहुन्छ तर यो व्यवस्था पनि काङ्ग्रेसले ल्याएको होइन । यो व्यवस्था ल्याउने बेला सबैभन्दा बढी बलिदान माओवादी नेता–कार्यकर्ता र जनताको भएको छ । कुनै समय थियो– काङ्ग्रेसले पनि बन्दुक उठायो र लड्यो । सङ्कटकालमा हामी हिँड्दा पनि काङ्ग्रेसले खनेका ट्रेन्चहरूमा पनि हामी पुगेका थियौँ । काङ्ग्रेसले खनेका खाल्डाहरू अहिले पनि बाँकी छन् । काङ्ग्रेसका मान्छेहरूलाई गोलीले उडाइएको थियो र भिरबाट खसालिएको थियो । काङ्ग्रेसले पनि दुःख गरेको छ तर काङ्ग्रेस जब सत्तामा पुग्यो, जनतालाई बिस्र्यो । काङ्ग्रेसले धेरैपटक सत्ता चलायो तर काङ्ग्रेसले कहिल्यै पनि सत्ता जनतामा फर्काउन मानेन । आजसम्मको रोग भनेको जनताको शक्तिबाट सत्तामा पुग्ने र सत्तामा पुगेपछि लुट्ने प्रवृत्ति देखियो । यो प्रवृत्ति लगातार दोहोरियो र काङ्ग्रेस त्यसको सिकार भयो । तर नेपाली जनता मुक्ति चाहन्थे । झापा आन्दोलनसम्म आउँदा एमालेले पनि दुःख गर्यो केपीजीहरूले पनि दुःख गर्नुभयो । एमाले पनि सत्तामा पुग्यो तर एमालेले पनि सत्तालाई जनताको सत्तामा बदल्न सकेन । एमाले पनि कतै गएर भुल्यो र जनताको मतबाट त्यो पनि पूरा हुन सकेन । एमालेले नेपालको सत्तालाई जनताको सत्तामा बदल्न सकेन । माओवादी पनि सत्तामा आयो तर फेरि पनि त्यतैतिर घुम्यो । माओवादीले अकल्पनीय जनमत पनि पायो । कुनै बेला यस्तो समय थियो– हामीसँग हजारौँहजार पूर्णकालीनहरू थिए । ५० हजार त पूर्णकालीन कार्यकर्ताहरू थिए । ३५ हजार हाम्रा सेना थिए र प्रमाणित गरेकै पनि हाम्रा २० हजार सेना थिए । लाखौँ युवकयुवतीहरू माओवादीले भनेको बेलामा जर्याकजुरुक उठ्न तयार भएको शक्ति नेपालमा थियो ।

नेपालमा बुद्धिजीवीहरूले आफ्नो क्षमता आफ्नै देशमा लागू गर्न पाउने हो भने उद्योगीव्यवसायीहरूले आफ्नो क्षमता आफ्नो देशमा प्रयोग गर्न पाउने हो भने पैसाले केही परिवर्तन गर्छ तर सारा कुरा पैसा हो भनेर नेताहरू पैसाको पछि लाग्छन् भने, किनबेच चल्छ भने विदेशीको अगाडि लम्पसार पर्छन् भने पैसाका निम्ति विदेशीसँग लम्पसार पर्छन् भने पैसा हाम्रा लागि केही पनि होइन । नेपालमा अहिलेसम्म पैसा र कुर्सीका लागि देशको स्वाधीनता दाउमा राखियो । आज त्यसको मार भोग्नुपरेको छ । पैसाका लागी विदेशी मालिकहरूलाई लुटाउने काम भयो । जब माओवादी सत्तामा पुग्यो फेरि त्यही कुरा दोहोरिएपछि हामीले नयाँ पार्टी बनायौँ र सम्बन्धविच्छेद गर्यौँ । हामीलाई आरोप थियो– तिनीहरूले पद नपाएर, सुविधा नपाएर हो, तिनीहरू केही पनि होइनन् भनियो र २० बर्ष हामीलाई कसैले हल्लाउन सक्दैन भनियो । हाम्रा आधारइलाका र सेना बेचिएको हो । हामीले प्रचण्ड–बाबुरामहरूलाई विश्वास गर्यौँ । तर प्रचण्डहरूले धोका दिए । प्रचण्डले हामीलाई काडमाडौँमा लगेर बेच्न खोजे पनि हामीले नेपाली जनताको स्वाभिमानका लागि विद्रोह गर्यौँ । आज देशका ६० लाख युवाहरू विदेशमा छन् । युवाहरू गाउँगाउँमा ड्रग्स खाएर बस्ने अवस्था छ । आज गाउँगाउँमा पनि युवाहरूले ड्रग्स खाने अवस्था छ । युवाहरूलाई ड्रग्स खुवाउने काम पनि सत्तामा बसेका दलालहरूको हो । काठमाडौँमा बस्ने दलालहरूका गाउँका एजेन्टहरूको हो । सबैभन्दा बढी खट्नुपर्ने युवाहरूको हातमा काम छैन । राम्रो शिक्षा छैन । जनवादी शिक्षा छैन । २०४६ सालपछि शिक्षामा यस्तो व्यापार आयो । आज गरिबले त पढ्न नसक्ने अवस्था आएको छ । धनी र गरिबले पढ्ने दुईखाले शिक्षा छ । जुनसुकै पार्टीको व्यक्ति शिक्षामन्त्री भयो भने पनि शैक्षिक माफियाको चङ्गुलमा पर्ने गरेका छन् । मन्त्रीले कमिसन खाएर शिक्षामा व्यापार गर्ने कानुन बनाउने काम गर्छन् र माफियाहरूलाई सुम्पन्छन् । नेपालमा कम्युनिस्ट सरकार बन्छ तर कुनै पनि सरकारले युवाहरूको रोजगारीको सुनिश्चितता गर्न सक्दैन । सत्तामा बसेका मानिसहरू दिनदिनै लड्ने र झगडा गर्ने काम गर्छन् । केपीजीले काम गरेको तथ्याङ्क पेस गर्नुहुन्छ तर जनताका समस्या उही छन् । ३ महिनासम्म ५ जना मन्त्रीले सरकार चलाउँछन् । उद्योगीव्यवसायीहरूले हामीसँग भन्नुहुन्छ– हामीलाई काम गर्ने वातावरण नै छैन । कतै कर बढाउने, कतै व्यापारका लागि अवरोध गर्ने गरिन्छ तर विदेशी उद्योगपति आएपछि काठमाडौँमा मन्त्रालयमा स्वागत–सम्मान गरिन्छ तर स्वदेशी उद्योगीहरूलाई कुनै सहयोग गरिँदैन । नेपाल अस्तव्यस्त छ । नेपाल भाँडिएको छ जसको कारण राजनीतिमा मानिसहरूको वितृष्णा छ । आज राजनीतिबाट भाग्ने र घृणा गर्ने गरेको खण्डमा, निराश भएको खण्डमा झन् समस्या आउनेवाला छ । आज सत्तामा सङ्कट छ । सत्ताको सङ्कट भनेको यहाँका दलालहरूको सङ्कट हो । आज राजनीतिमा जे सङ्कट आएको छ, त्यो सत्तामा बसेको वर्ग र नेताहरूका कारणले आएको हो । अस्तिसम्म संसद्मा थियो, अहिले त अदालततिर सरेको छ । पहिले संसद् भवनमा हुने कुटाकुट चोलेन्द्रशमशेरको आँगनतिर सरेको छ । त्यो पनि सत्ताको सङ्कट हो । यो दलाल संसदीय व्यवस्थाको परिणाम हो । संसदीय व्यवस्था भनेको लुटेर खाने वर्गको व्यवस्था हो । नेपाली जनताले अधिकार चाहेका छन्, परिवर्तन चाहेका छन् । लेनिनले भनेझैँ जब सत्तामा सङ्कट पैदा हुन्छ, जनताले बुझ्नुपर्छ हामीले सत्ता चलाउने बेला आएछ । देशको कुल बजेटभन्दा बढी १७ खर्बभन्दा बढी बेरुजू छ । यो भनेको सत्तामा आएको सङ्कट हो । बेरुजू भनेको कर्मचारीले हिसाब मिलाउँदामिलाउँदै पनि मिलाउन नसकेको हो । जनताको १७ खर्ब पैसा हिनामिना भएको छ । पालिका बनेको ३ वर्ष पुगेको छैन तर पालिकामा मात्र १ खर्बभन्दा बढी बेरुजू छ । एउटै पालिकाले ६ करोडभन्दा बढी बेरुजू निकोलेको छ । त्यो हामीले होइन, महालेखा परीक्षकले निकालेको बेरुजू हो । भित्र झन् कति होला ! उदाहरणका लागि दाङकै एकजना माओवादी केन्द्रकै साथीले भन्नुभयो– मैले ७० लाख बजेट ल्याएँ तर विकासम १५ लाख खर्च भयो अरू सबै मिलेर खाए । यसरी खाने साथीहरू यहाँ पनि आउनुभएको होला, यो तपाईंहरूको समस्या होइन, यो त राज्यसत्ताको समस्या हो । आजभोलि पैसा देखेपछि वडाध्यक्षको दिमाग पनि ३ फन्का घुम्न थाल्छ । सुडानकाण्डमा रमेश चन्दले जेल जानुपर्यो । ७ प्रहरी अधिकारीलाई मुद्दा लाग्यो तर त्यसमा संलग्न त्यतिबेलाका गृहमन्त्री त उम्किए नि । अहिले सबैतिर बेथिति जुन छ त्यो राज्यको असफलता हो । जनताको सत्ता नहुनुको परिणाम हो यो । कुनै दिन राज्यका सबै क्षेत्रमा यो सङ्कट पैदा हुनेवाला छ । नेपालका दलाल र नेताहरूले नेपालमा राख्न नसकेको पैसा स्विट्जरल्यान्डको बैङ्कमा राखेका छन् । आज सत्तामा अर्थतन्त्रमा झन् ठूलो सङ्कट छ । व्यापारघाटा ठूलो छ । महँगी र मूल्यवृद्धि आकासिँदो छ । जनताको जीवन दिन–प्रतिदिन कष्टकर बन्दै गएको छ । हामीले देशमा भ्रष्टाचार नगर, देश बेच्ने काम नगर भन्दा, सामाजिक विभेद नगर, महँगी नबढाउन भन्दा हामीमाथि प्रतिबन्ध लगाइयो । हामीलाई प्रतिबन्ध लगाएको मुख्य घटना एनसेल हो । एनसेलका बारेमा तपाईंहरूलाई थाहा नै छ । एउटै एनसेलले नेपालको बजेटको १० प्रतिशत वरिपरिको पैसा हिनामिना गर्यो । १० खर्बभन्दा बढी पैसा एउटै कार्यालयले हिनामिना गर्यो । सर्वोच्च अदालतले नै ७२ अर्बको कर छली गरेको तथ्याङ्क पेस गर्यो । सरकारले कर उठाएन । यो वर्ष पनि हामी के सुन्दैछाैँ भने यो वर्ष पनि ६२ अर्ब पैसा एनसेलले तिरेको छैन । सत्तामा बसेका दलालहरूले एनसेलसँग साँठगाँठ गरेर २२ अर्ब मात्र तिराएर अरू मिनाहा गरिदिए । कर उठाउने होइन, छूट दिने काम गरे । जनताले हामीसँग गरेको मागबमोजिम हामीले एनसेलमाथि कारबाही गर्यौँ । त्यो हामीले गरेको कारबाही होइन नि, नेपाली जनताले गरेको विद्रोह थियो । कारबाही गरेपछि सरकारले नगरेको काम देशभक्तहरूले गरे भनेर हामीलाई धन्यवाद दिनुको सट्टा केपी ओली सरकारले हामीलाई प्रतिबन्ध लगायो । हामीलाई प्रतिबन्ध लगाएर आतङ्ककारी र देशद्रोही भनियो । नेपालमा भएको भ्रष्टाचार, करछली र लुटपाटका विरुद्ध लड्दा हामीलाई प्रतिबन्ध लगाइयो र देशद्रोही भनियो । एकजना नेपाली सेनाका जनरलले हामीलाई भने– नेपाल कम्युनिस्ट पार्टी देशद्रोही होइन । हामीलाई खुसी लाग्यो । यो कुरा त एउटै बिस्तरामा सुतेर गएको नेता प्रचण्डले भन्नुपथ्र्यो । तर उहाँले हामीलाई प्रतिबन्ध लगाउँदा ताली पिट्नुभयो । पछि त उहाँहरूबीचमै भनाभन भयो ।

हामीले भनेका थियौँ– हामी राष्ट्रियताका पक्षमा लड्ने हो, भ्रष्टाचारका विरुद्ध लड्ने हो । हाम्रा साथीहरू कुमार र राजुहरूलाई, झोला बोकेर हिँडेका मान्छेहरूलाई मारियो । यसको उद्देश्य थियो– हामीलाई उत्तेजित बनाउने र युद्ध निम्त्याउने । हामीले सेना र प्रहरीलाई पनि भन्यौँ– हामीले जनयुद्धमा पनि युद्ध तपाईंहरूको पनि हो भनेर अपिल गर्दा सयौँ साथीहरू हतियार बोकेर आउनुभयो । भिडन्तमा परेकाबाहेक जनयुद्धमा सेना र प्रहरीलाईसमेत ससम्मान हिँडाउने मान्छे हौँ हामी । हामीले सेना र प्रहरीलाई पनि अपिल गरेका थियौँ । हामीलाई प्रतिबन्ध लगाए पनि, नलगाए पनि त्यही कुरा भनिरहन्छौँ ।

हामीलाई भारत र अमेरिकाले गिद्दे आँखा लगाएका छन् । भारतले सीमा क्षेत्र फिर्ता गरेन भने हामीले प्रतिरोध गर्नुपर्छ र त्यसको नेतृत्व हामी गर्न तयार छौँ । अमेरिकाले हामीलाई बाहिर ५० अर्ब देखाउने तर टुप्पी समातेर उठबस बनाउने काम गर्छ भने हामीले लड्नुपर्छ ।

आज नेपालमा यहाँको सत्ताबाट कोही पनि सन्तुष्ट छैनन् । सामाजिक विभेद छ । जघन्य अपराधहरू बढिरहेका छन् । हामीलाई खोज्न प्रहरी भाइहरूलाई डाँडाकाँडा चढाउने ! हत्यारालाई खोज्न नसक्ने, देशबेचुवाहरूलाई नसमात्ने तर क्रान्तिकारीहरूलाई खोज्दै हिँड्ने यो राज्यसत्ता र यहाँका शासकहरू । हिजोका जालीफटाहा र शासकहरूले आफ्नो सत्ता बचाउनका लागि बनाइदिएको जात, भात र सीमाको कलङ्क मेट्न जरुरी छ । हामी लड्दैछौँ । नेपालको सत्ता असफल भएको छ । जनतालाई सुरक्षा दिन सकेको छैन । युवाहरूलाई रोजगारी र शिक्षा दिनसकेको छैन । सुकुमबासीहरूलाई घरबास दिन सकेको छैन । बुद्धिजीवी र वैज्ञानिकहरूले आफ्नो क्षमता प्रयोग गर्न पाएका छैनन् । उद्योगीव्यवसायीहरूले आफ्नो उद्योगधन्दा निस्फिक्री चलाउन पाएका छैनन् । यो देशमा भएका सबैखाले समस्याहरूको समाधान गर्न र राज्यसत्ताको सङ्कटको समाधान गर्न हामीले भनेका छौँ– जनमतसङ्ग्रह गरौँ भनेका छौँ । उहाँहरू हामीलाई हतियार बोकेर हिँड्ने पार्टी, हिंसाको बाटोमा हिँड्ने पार्टी भनेर आरोप लगाउनुहुन्छ । यो गलत हो । एउटा कुरा के हो भने हामीलाई बन्दुकद्वारा दमन गर्न खोजियो भने हामी त्यो सहँदैनौँ । जनताको न्यायपूर्ण आवाजलाई बन्दुकले दबाउन खोजियोे भने हामी चुप लागेर बस्दैनौँ तर हामी बन्दुक बोकेर हिँड्दैनौँ । यो व्यवस्था फेल खाएपछि साँच्चिकै प्रजातन्त्रवादी हुनुहुन्छ भने काङ्ग्रेसका साथीहरू पनि, एमालेका साथीहरू पनि प्रजातन्त्रवादी हौँ भने एकपटक चुनाव गर्न चाहन्छाैँ तर संसदीय व्यवस्थाको चुनाव होइन जनमतसङ्ग्रहको चुनाव हो । यसपटक जनमतसङ्ग्रहको चुनाव गराइयोस्, हामी लड्न तयार छौँ । हामी शान्तिपूर्ण तरिकाले जनमतसङ्ग्रह गर्न तयार छौँ । वैज्ञानिक समाजवाद रोज्ने कि दलाल संसदीय व्यवस्था रोज्ने भन्ने विषयमा हामी एकपटक जनतामा जान तयार छाैँ । हामी महिला, आदिवासी, जनजाति, दलित, मुस्लिम, मधेसी सबैलाई सोध्छौँ र भन्छौँ– तपाईंहरू परिवर्तनका पक्षमा जाने कि के गर्ने ? हामी भन्छौँ– नेपाललाई एकपटक परिवर्तन गर्नुपर्छ । हाम्रो प्रस्ताव यो छ । हामी प्रचण्डलाई पनि भन्छौँ– पार्टी ठूलो बनाउनका लागि होइन, जनमतसङ्ग्रहको बाटोबाट वैज्ञानिक समाजवादमा पुग्नका लागि हामी मिलेर जान तयार छाैँ । तर पार्टी सानो भयो भनेर मिलेर जाऊँ भन्नुभएको हो भने त्यो सम्भव छैन र कृपया त्यो एकता हामीबाट सम्भव छैन । हामी जस्तोसुकै दुःख र सङ्घर्ष गर्न तयार छौँ । तपाईंहरू हामीलाई आफैँजस्तो बनाउन चाहनुहुन्छ ? हामीलाई त्यो मान्य छैन । हामी यो सत्ता र यसका गतिविधि हेरेर वाक्क भैसकेका छौँ । त्यो सत्ताको कुर्सीमा बसेर केही गर्न सम्भव छैन र जनतालाई ढाँट्ने काम हामी गर्दैनाैँ । सरकारसँग तीनबुँदे सहमति गरेका छाैँ । सरकारले इमानदारीपूर्वक पालना गरेको छैन । सरकारले सहमतिभन्दा बाहिर गएर अनावश्यक कुरा गर्न खोजेको हो र हामीलाई घेराबन्दी गर्न खोजिएको हो भने घेरा तोडिन्छ र जनताको अधिकारका लागि लडिन्छ । सरकार इमानदार बन्नुपर्यो । ३ बुँदे सहमति लागू होस् । जनताबाट बहिष्कृत भएको सत्ता फेरि काँधमा बोकेर हिँड्नुहुन्छ भने यो सम्भव छैन । जनतालाई स्वाधीन र राष्ट्रलाई स्वाधीन बनाउनका लागि एकपटक फेरि लड्न आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टी आफ्ना लागि लडेको होइन । यो सरकारमा जानका लागि लडेको होइन । यो किसान, मजदुर, दलित, महिला, जनजाति, सुकुमबासी, मधेसी, मुस्लिम, जातजाति, क्षेत्री, बाहुन सबैलाई मुक्त गर्नका लागि लडेको पार्टी हो । हामीले राखेको प्रस्ताव शान्ति र स्वाधीनतामा मुक्तिको प्रस्ताव हो । यो प्रस्तावमा साथ दिन आमजनतालाई आह्वान गर्छु । क्रान्तिकारीहरूले राखेको प्रस्ताव सत्तामा बसेकाहरूले सुन्दैनन् भने राज्यलाई रूपान्तरण गर्ने र यो शताब्दीमा नेपाललाई सुन्दर देश बनाउने बाटो कसैले रोक्छ भने त्यसको विनास कसैले रोक्न सक्नेछैन । जनता विजयी भएर छोड्नेछन् । नेपाली समाजलाई रूपान्तरण गर्ने अभियानमा अघि बढेर देशलाई मुक्त गर्ने अभियानामा लामबद्ध हुन सबैलाई आह्वान गर्छु ।

(यही कात्तिक १३ गते दाङको घोराहीमा आयोजित युवा सङ्गठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटनका अवसरमा प्रमुख अतिथिका रूपमा महासचिव विप्लवले दिएको शुभकामना मन्तव्यको सम्पादित अंश– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :