जनक्रान्तिका दस्ताबेजसँगै बरामद सामग्री ‘सङ्ग्रामपुर’

जनक्रान्तिका दस्ताबेजसँगै बरामद सामग्री ‘सङ्ग्रामपुर’

पृष्ठिका
नेपाली महान् जनयुद्ध राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा कायापलट ल्याउने एक समग्र जनक्रान्ति थियो । त्यसले वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक रूपले शोषण, उत्पीडन र विभेदमा पिल्सिएका आमश्रमिक जनतामा नयाँ जागरण ल्यायो । नयाँ चेतना पैदा ग¥यो । त्यसलाई साहित्य जगत्मा एक स्वर्णयुग पनि मानिन्छ । त्यसले चेतनाका दृष्टिले सबैलाई ब्यँुझायो, हिँडायो र दौडायो । सामन्ती शोषण, उत्पीडन र विभेदबाट मुक्त पनि ग¥यो । नयाँ स्रष्टाहरू जन्मायो । महान् जनयुद्ध एक सङ्घर्ष, बलिदान र विजयको अमिट इतिहास हो । महान् माक्र्सले सन् १८७१ को मार्चमा पेरिस कम्युनका बारेमा ‘आकाशका विरुद्ध धावा बोलेका थिए’ भन्नुभएको थियो । निष्पट्ट अन्धकार रातको जूनकीरी एवम् सहारा मरुभूमिमा पानीको मूल मात्र होइन, किताब दर्शनलाई जीवन दर्शनमा बदल्ने महान् प्रयोग थियो– नेपाली महान् जनयुद्ध । बुलेट र ब्यालेटको फ्युजन नभएर कमरेड माओले चिनियाँ महान् जनयुद्ध मिलेट र बुलेटको योग भनेझैँ पुरानोको ध्वंस र नयाँको निर्माण थियो– नेपाली महान् जनयुद्ध । यद्यपि आज सामन्ती प्रभुको स्थान दलाल पुँजीजीवीहरूले ओगटेका छन् । जनयुद्धको उच्च विकास एवम् पूर्ण विजयका खातिर एकीकृत जनक्रान्ति जारी छ । यसको अद्वितीय लक्ष्य एवम् विकल्प वैज्ञानिक समाजवाद हो ।

४ मङ्सिर, २०७७ सामाजिक दलाल पुँजीवादी सरकारको फासिवादी जनदमनको वेलगाम रबाफमा हुर्मतहारा पुलिसले मलाई बुटवलबाट गिरफ्तार ग¥यो । करिब दुई घन्टापछि हामीलाई झूट्टा मुद्दामा फसाउने नियतले कहाँबाट कथित विस्फोटक पदार्थसँगै सङ्ग्रामपुर उपन्यास र केही पुस्तकहरू लिएर पुलिस आयो । हुर्मतहारा पुलिसले सङ्ग्रामपुर उपन्यासलाई पनि कथित बरामद सामग्रीमा राखेको देखेर ममा उनीहरुप्रति उपहास पैदा भयो । मैले पुलिसको उक्त कार्यको निन्दा गरेको थिएँ । यसमा चिरपरिचित एक स्रष्टा र भाडाका टट्टुहरूले कथित बरामदको सूचीमा राखेको सङ्ग्रामपुर उपन्यासको छोटो चर्चा गर्नेछु ।

उपन्यासकार

चिरपरिचित एक स्रष्टा, उपन्यासकार, काव्यकार, कवि, बुद्धिजीवी र योद्धाको अर्को नाम हो– कमरेड अग्निपुञ्ज (डा.शिवशङ्कर बस्याल) । समाजसेवी, कुशल प्राध्यापक र वर्गसङ्घर्षमा श्रेष्ठ विचारयुक्त एवम् उदात्त भावनासहित होमिएको एक योद्धा, स्रष्टा र उपन्यासकार हुनुहुन्छ– कमरेड शिवशङ्कर बस्याल । भयानक विचलन, महापतन र प्रतिक्रान्तिलाई नयाँ क्रान्तिमा पुनर्सङ्गठित गर्ने अभियानका क्रममा हामी परिचित भएका हौँ । केवल उपन्यासकार भएकाले चिरपरिचित होइन, एकीकृत जनक्रान्तिका अभियन्ता र योद्धा हौँ– हामी । तसर्थ करिब दुई वर्ष लामो समय हामीलाई एउटै भूगोल एवम् समितिमा सहकार्य गर्ने अवसर प्राप्त भयो । वैचारिक स्पष्टता, वर्गीय पक्षधरता, कार्यतत्परता, कुशलता र सरलता उहाँका मूल विशेषता हुन् । ‘जनसङ्ग्रामका सन्देशहरू’ काव्यले काव्यकार, ‘तिम्रा कानुनका फर्मानविरुद्ध’ कवितासङ्ग्रहले कवि र ‘बबिता’, ‘रानीफाल’ र ‘सङ्ग्रामपुर’ उपन्यासहरूले उपन्यासकार तथा समसामयिक लेखहरू लेख्ने लेखक पनि हुनुहुन्छ कमरेड अग्निपुञ्ज अर्थात् डा.शिवशङ्कर बस्याल । उहाँलाई कसैले अतिरञ्जित उपमा दिइरहनु वाञ्छित छैन । निजी वैभव, ऐसआराम र स्वार्थलाई तिलाञ्जली दिएर दर्शक बन्ने जीवन होइन, जिन्दगीमा एकीकृत जनक्रान्तिका योद्धा बनिरहनुभएको छ । उहाँले प्राध्यापन छोड्नुभयो । देश, जनता र क्रान्तिमा जीवन जोड्नुभयो । लु सुनले ‘म ठान्दछु– सुख–समृद्धिहरूका राम्रा दिनहरू देखिसकेपछि जसलाई दरिद्रताको जीवन बिताउनु पर्दछ, उनीहरूले संसार र समाजको वास्तविकतालाई अति राम्रोसँग हेर्न–बुझ्न सक्छन्’ भनेझैँ उहाँले पुरानो समाजले भन्ने गरेका कथित सुख–समृद्धिहरूका राम्रा दिनहरूसँग विद्रोह गर्नुभयो । संसार र समाजको वास्तविकतालाई अति राम्रोसँग हेर्न–बुझ्न सक्ने मात्र होइन, बदल्न प्रेरित गरिरहनुभएको छ । उहाँ एक सम्भावनायुक्त युवा नेता हो । कुनै पनि मुलुकमा तबसम्म सक्षम र योग्यहरू उनीहरूबाट शासित हुन विवश भइरहन्छन्, जबसम्म अक्षम एवम् अयोग्यहरूले राजनीतिक नेतृत्व लिइरहन्छन् । नेता बन्नु र नेतृत्व गर्नु फरक छ । ‘प्रत्येकलाई क्रान्तिले के बनाउँछ भन्ने थाहा हुँदैन, विशिष्ट रूप दिने र जिम्मेवारी बहन गर्ने हो’ भनेर नेताका बारेमा कमरेड गोन्जालोले भन्नुभएको थियो । तसर्थ प्रतिभाशाली, सक्षम र योग्य व्यक्तिहरू मुलुकको नेतृत्वमा आउन जरुरी छ । जहाँ दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको अपरिहार्यता छ ।
उपन्यास
उपन्यासकार डा..शिवशङ्कर बस्याल (कमरेड अग्निपुञ्ज) द्वारा लिखित ‘सङ्ग्रामपुर’ उपन्यास सङ्घर्ष, बलिदान र विजयको अमिट इतिहास निर्माण गर्न सफल महान् जनयुद्धको केवल शब्दचित्र एवम् पटकथा होइन, जीवनगाथा हो । महान् लेनिनले ‘समाजवादी सर्वहारा वर्गका लागि साहित्य व्यक्तिविशेष वा कुनै गुटको लाभको साधन हुन सक्तैन’ भनेझैँ ‘सङ्ग्रामपुर’ उपन्यास महान् जनयुद्धको साहित्यिक दस्ताबेज र वामपन्थी आन्दोलनको साझा पुँजी हो । दसबर्से महान् जनयुद्ध विशेषतः नेपालको सम्पूर्ण नवीन इतिहास निर्माणको अवधि थियो । मध्ययुगीन विचारधारा, सामन्तवाद र साम्राज्यवादविरुद्ध निर्णायक सङ्ग्राम थियोे– महान् जनयुद्ध । त्यही सङ्ग्रामको नाम हो– ‘सङ्ग्रामपुर’ । नेपाली महान् जनयुद्धको अभेद्य किल्ला एवम् येनान थबाङको अर्को नाम सङ्ग्रामपुर हो । थबाङ महान् जनयुद्धको येनान हो जहाँका जनताले पञ्चायती सत्ता र राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध निर्णायक सङ्घर्ष गरे । थबाङले आज पनि पुँजीवादी दलाल संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्ष गरिरहेको छ । सङ्ग्रामपुर एक प्रतीकात्मक गाउँको नाम हो । त्यसैको नामबाट कमरेड अग्निपुञ्ज (डा.शिवशङ्कर बस्याल) ले सङ्ग्रामपुर उपन्यासको नामकरण गर्नुभएको छ । ॐ श्री अफसेट प्रेस, काठमाडौँको मुद्रण र साहित्य दर्पणद्वारा २०७७ असोजमा प्रकाशित यो उपन्यास २५६ पृष्ठ र पैँसट्ठी अध्यायमा विभक्त छ ।


यस उपन्यासमा समग्र क्रान्तिको एक आदर्श एवम् मुख्य पात्र रूपमान हुन् । सुन्दर सपना र उत्कृष्ट लक्ष्यसहित समीर, दीक्षा, चमेली, उजेली र सुबेदार बा समग्र क्रान्तिमा होमिएका पात्रहरूले नौजवान युवाहरूलाई नयाँ क्रान्तिमा होमिन उत्प्रेरणा दिइरहेका छन् । राजाराम, तोयालगायत क्रान्तिका बाधक पात्रहरूको समुचित संयोजनले यो उपन्यासको आकर्षण मात्र होइन, क्रान्तिकारीहरूलाई एक शिक्षा पनि प्रदान गरेको छ । जनसङ्घर्ष, जनआन्दोलन र मूलतः महान् जनयुद्धमा अभिव्यक्त जनादेशको उपहास र क्रान्तिको सपनामा तेजोबध गर्न धृष्टता गर्ने धोकेबाज नेतृत्वको भयानक विचलन एवम् महापतनको प्रतिनिधि पात्र पुष्प र प्रेमलाई उपन्यासकारले स्पष्ट रूपमा औँल्याउनुभएको छ ।

लु सुनले ‘पिछडिएका र निर्बल देशका मानिसहरूका शरीर जतिसुकै बलिया र स्वस्थ किन नहोऊन्, तिनको उपयोग दण्ड दिनका लागि अथवा दण्ड दिएको तमासा हेर्नका लागि मात्र गरिन्छ । त्यस्ता मानिसहरू रोगले तड्पिएर मर्दछन् भने पनि कुनै दुःखद् कुरा होइन । सबभन्दा महत्वपूर्ण कुरा त मानिसहरूको भावना बदल्नु हो । तब यही लाग्यो, यस उद्देश्यका लागि साहित्य नै सबभन्दा बढी उपयोगी हुन सक्दछ । यस विचारबाट मैले एउटा साहित्यिक आन्दोलन सुरु गर्ने निश्चय गरेँ (लु सुनका उत्कृष्ट कथाहरू, पृष्ठ ७)’ मा भनेझैँ कमरेड अग्निपुञ्ज (डा. शिवशङ्कर बस्याल) ले हाम्रो मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिकलगायत शोषण, उत्पीडन र विभेदहरूको कष्टकर जिन्दगीको अवस्था तथा क्रान्ति (महान् जनयुद्ध) मा क्रान्तिकारी आमजनताको सङ्घर्ष, बलिदान र विजयको अमिट इतिहास यो उपन्यासमा जीवन्त ढङ्गले उजागर गरेर मानिसहरूको भावना र विचारमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान गर्नुभएको छ । नेपाली साहित्य जगत्मा नयाँ इँट थप्नुभएको छ ।
उपन्यासकारले ‘हामीले अधुरा क्रान्तिको सपनालाई पूरा गर्न एकपटक हतियार उठाउनुको विकल्प छैन समीर कमरेड ! विगतमा क्रान्तिका कुरा अघि बढाउँदै जाँदा काङ्ग्रेसले आपसी लोभ, भ्रष्टाचार र भारतीय शासनको छायामा दरबारसमक्ष आत्मसमर्पण ग¥यो । एमालेले झापा विद्रोहको उठान गर्दै आफ्नो कदमलाई यो वा त्यो बहानामा बिसाउन पुग्यो । छयालीस सालको आन्दोलनसम्म आइपुग्दा रगत बगाउने सहिदहरूको अपमान भएको छ । यो सामन्ती व्यवस्थाको नाइके राजा संविधानभन्दा माथि रहने व्यवस्थालाई शरीरमा बोकेर केवल बहुदलभित्र रमाउनु आत्मसमर्पणसिवाय केही होइन । जनताको आँखामा व्यवस्था बदलियो भन्ने भ्रम पार्न खोजिएको छ । सम्झौतामा टुङ्ग्याइएको यो व्यवस्थालाई लत्याउन एकपटक हतियारबद्ध भएर लड्नेछौँ । हामी अन्तिम विजय नगरेसम्म यो अभियान रोक्नेछैनौँ । (सङ्ग्रामपुर, पृष्ठ ४५, एघार अध्याय’ मा जनसङ्घर्ष र जनआन्दोलनको जनादेश एवम् जनअपेक्षाको उपहास भयो । आन्दोलनको लक्ष्य सम्झौताबाहेक अरू केही भएन । सम्झौताले आमजनतालाई धोका एवम् घात भयो । नेताहरूले सम्झौताका नाममा आत्मसमर्पण गरे तर आमजनताको आँखामा व्यवस्था बदलियो भन्ने भ्रम पार्न खोजिएको छ । अब प्रतिक्रियावादी सत्तामा आमूल परिवर्तनका खातिर महान् जनयुद्धमा होमिनु पर्दछ । हामी अन्तिम विजय नगरेसम्म यो अभियान रोक्नेछैनौँ भन्ने भाव जोडदार रूपले व्यक्त गर्नुभएको छ । ‘लेनिनले प्रस्ट भन्नुभएको छ— संसद् खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो । क्रान्तिकारीहरूले विगतमै रछ्यानमा मिल्काएर हिँडेको सिनो हामीले बोक्नुको कुनै अर्थ छैन । संसद्वादले कुनै मन्त्री, प्रधानमन्त्री र सरकारको चयन त ग¥यो होला तर कम्युनिस्ट सत्ताको यसमा कुनै गन्ध पनि देखिँदैन । बिनासङ्घर्ष र युद्धबिना जनवादी सत्ता जन्मेको विगत छैन । यसमा हामी पूरा सचेत हुनुपर्छ । त्यसैले माओले भन्नुभएको छ— सत्ता बन्दुकको नालबाट मात्र जन्मन्छ’ (उही, अध्याय अठार, पृष्ठ ६७) मा उपन्यासकारले संसद्वाद, आत्मसमर्पणवाद र विसर्जनवादको दृढ विरोध महान् जनयुद्धमा त्यसको पुनरावृत्ति नहुने नयाँ सङ्कल्प गर्नुभएको छ । उपन्यासकारले ‘महान् जनयुद्धको दिशामा अघि बढौँ’ नारा लेखाइले गाउँभरि तरङ्ग र हल्लीखल्ली थियो । पँधेरा, चौतारामा विभिन्न कुरा हुन्थे । अब जनयुद्ध हुने भएछ । सामन्त–फटाहालाई कारबाही गर्छन् रे अब । गुलेली चलाउन नजान्नेले के बन्दुक चलाउँछन् ? यिनको जनयुद्ध एक महिनामै तह लाग्छ ।’ (उही, अध्याय चौध, पृष्ठ ५४) त्यसपछि ‘अब माओवादीलाई कसैले जित्न सक्दैन ।’ (उही, अध्याय पैँतालीस, पृष्ठ १७१) मा महान् जनयुद्धको विकास एवम् उचाइ उल्लेख गर्नुभएको छ । ‘हिजो सात सालमा काङ्ग्रेसले त्यस्तै भन्यो । एमालेले त्यही भनेर पूर्वमा मान्छेका टाउका गिँड्यो । आज हेर त, तिनै नेता जसले कैयौँ वर्ष काराबास भोगे । आज तिनीहरूलाई देशको माटो र सम्पदा नै बेचेर खाने सुर्ता छ । विदेशीका गुलाम बन्ने होडमा छन् । कसैले सोच्न सकेको थियो, हिजोका यी यस्ता खराबमा बदलिएलान् ! तिमीहरूलाई भ¥याङ बनाउँछन् । भोलि तिम्रा नेता पुष्प–लालध्वजहरू पनि त्यस्तै नहोलान् भन्न सकिन्न । तिमीहरू फगत प्रयोग हुने मात्र हो ।’ (उही, अध्याय बाउन्न, पृष्ठ २०३ र २०४) मा उपन्यासकारले संसदीय व्यवस्था, नेतृत्व र प्रवृत्तिको धज्जी उडाउनुभएको छ । साथै जनस्तरबाट उठ्ने प्रश्न र ‘हाम्रो नेतृत्वले त्यसरी धोका दिनेछैन । मृत्युबाट आएको यो नेतृत्वले यसरी धोका कदापि दिनेछैन’ भनेर प्रतिक्रियावादी हल्लाको एक इमानदार कार्यकर्ताले गरेको प्रतिवादको उल्लेख गर्नुभएको छ । ‘यतिबेला महिला धेरै दुःखी भइन् र घोत्लिँदै भनिन्, ‘हेर यो समस्या पार्टीभित्र धेरैतिरबाट उठेको छ । अध्यक्षको नजिक रहेका मान्छेले जनसेनाका कतिपय नेतृत्वले चाकडी गर्दै गलत कुराको रिपोर्ट गरेर पार्टीभित्रका सक्षम र इमानदारलाई किनारा लगाइरहेका छन् । यहाँ धेरै मान्छे त्यसरी आएका छन् । सबैको गुनासो त्यस्तै छ । हेर, अध्यक्ष सहिदगेट र सडक उद्घाटनका लागि आउँदै हुनुहुन्छ । म त्यतिबेला तिम्रो पनि कुरा राख्नेछु ।’ (उही, अध्याय सन्ताउन्न, पृष्ठ २२२) मा उपन्यासकारले आफ्नो आत्मवृतान्तमा बीपीले गलत सल्लाह दिने सल्लाकारका कारण गल्ती भयो भनेझैँ जनयुद्धकालमा नेतृत्वको नजिक हुने र नेतृत्वको चाकडी गर्दै गलत कुराको रिपोर्ट गरेर पार्टीभित्रका सक्षम र इमानदारलाई किनारा लगाउने प्रवृत्तिको भन्डाफोर गर्नुभएको छ । महान् जनयुद्ध, कथित शान्ति सम्झौता, गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभासम्म पुगेर नेता पुष्प–लालध्वजहरूको आत्मसमर्पण, विसर्जन र महापतन भएको यथार्थ यो उपन्यासले पुष्टि गरेको छ । ‘हाम्रा सहिदले पोखेको रगत यो पुँजीवादी संसदीय व्यवस्थाका लागि थिएन जसको सौदाबाजीमा पुष्पलाई प्रधानमन्त्री र प्रेमलाई गृहमन्त्रीको पद मिलोस् । हामीलाई हाम्रै हिजोका कमान्डरविरुद्ध लड्न खुसी होइन, पीडा भएको छ । इतिहासमा नसोचेका निर्मम दृश्य आइपर्दा रहेछन्’ (उही, अध्याय पैंसट्ठी, पृष्ठ २५४) मा उपन्यासकारले आत्मसमर्पण, विसर्जन र महापतन मात्र होइन, महान् जनयुद्ध भयानक प्रतिक्रान्तिमा परिणत भएको वास्तविकता उल्लेख गर्नुभएको छ । ‘हौसला नछोडौँ कमरेडहरू, मरुभूमिबीचमा पनि सुन्दर पूmल फुल्छ । एउटा सपनाको अन्त्य भए पनि अर्को सपनाको सुरुआत गर्नु नै हामी क्रान्तिकारीहरूको जिन्दगी हो । निरन्तर सपना बोक्नेहरू नै विजेता बन्छन्, सपनाकै लिलाम बोल्नेहरू होइन । सजिलो जिन्दगी चाहनेहरू जसले भेडाबाख्राको जिन्दगी रोजिरहेछन् । भोलि तिनैका घाँटीमा पहिलो दाम्लो र पुरानो सत्ताको तरबार बज्रनेछ । यी कठोर परिस्थितिले हामीलाई जरुर प्रहार गरिरहेको छ । हामी विगतको असफलताको पीडाभित्रै नहराऔँ ! नडुबौँ । बरु यहाँबाट उम्केर अघि बढौँ !’ (उही, पृष्ठ २५५) मा उपन्यासकारले सपनाको मृत्यु हुँदैन, सपना साकार हुन्छ र निरन्तर नयाँ क्रान्तिमा सबैलाई अघि बढ्न आह्वान गर्नुभएको छ ।
अन्त्यमा, सङ्ग्रामपुर उपन्यास महान् जनयुद्धको यथार्थ साहित्यिक दस्ताबेज र वामपन्थी आन्दोलनको पुँजी हो । यसले सुन्दर सपना र सर्वोत्कृष्ट लक्ष्यमा नौजवान युवाहरूलाई शिक्षित–दीक्षित तुल्याउँदै नयाँ क्रान्तिमा होमिन उत्प्रेरणा दिइरहेको छ । यो उपन्यास एकपटक सबैले पढौँ । कथित शान्तिप्रक्रियाको असफलता, राजनीतिक प्रतिक्रान्ति, महान् जनयुद्धको मुख्य नेतृत्वमा वैचारिक विचलन, आत्मसमर्पण र महापतनपछि पँुजीवादी दलाल संसदीय व्यवस्थाका विरुद्ध आमजनताको विद्रोह गर्न पाउने अधिकार सुनिश्चित गर्न नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिको पुनर्गठन भएको हो । पुँजीवादी दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापना गर्ने एकीकृत जनक्रान्तिको नेतृत्व नेकपाले गरिरहेको छ । नयाँ क्रान्ति नै एकीकृत जनक्रान्ति हो । नयाँ आशा, पूर्ण विश्वास र दृढतापूर्वक अघि बढौँ । कमरेड अग्निपुञ्ज (डा. शिवशङ्कर बस्याल) लाई हार्दिक बधाई तथा शुभकामना ।

   २० कात्तिक, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :