रूपन्देहीमा जनवादी देउसी–भैलो सांस्कृतिक कार्यक्रम सुरू

रूपन्देहीमा जनवादी देउसी–भैलो सांस्कृतिक कार्यक्रम सुरू

बुटवलः नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जनवादी देउसी भैलो सांस्कृतिक कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघ रुपन्देही अन्तर्गत संग्रामी सांस्कृतिक परिवारका कलाकारसहितको टिमले बुटवलबाट देउसी भैलो सांस्कृतिक कार्यक्रम सुरु गरेको हो । बुटवलको रानिगंजमा बिहीबार भैलो सुरू भएको हो । भैलो तथा सांस्कृतिक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृति, जिल्ला सेक्रेटरी विश्वास लगायत नेकपाका जिल्ला स्तरीय तथा स्थानीय कार्यकर्ता, शुभचिन्तक एवं पार्टी सदस्यहरूको सहभागिता रहेकोे छ ।

रुपन्देहीको बुटवल, देवदह खैरेनी, साझझण्डी, मुर्गिया, रानीगञ्ज लगायत विभिन्न ग्रामीण बस्तीहरुमा देउसी भैलो तथा जनवादी सांस्कृतिक नाँचहरु प्रस्तुत गर्ने नेकपा रुपन्देही सेक्रेटरी विश्वासले बताएका छन् ।

सांस्कृतिक कार्यक्रममा नेपालको विभिन्न संस्कृति झल्किने नाँच र गीतको प्रस्तुतिका साथै देशभक्त र क्रान्तिकारी प्रस्तुतिहरु समेत रहने महासंघका लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले बताए ।

दलाल पुँजीवादी संस्कृति विरुद्ध नयाँ संस्कृतिको अभ्यास, त्यसको प्रचारप्रसार गर्ने र वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम गरिएको तरामु मगरले बताए ।

देउसी भैलो सांस्कृतिक कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने नेकपाले बताएको छ । नेकपाले हरेक वर्ष देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :