कालिकोटमा विप्लव नेतृत्वको नेकपाको ५ चमत्कारी योजना सुरु हुँदै

कालिकोटमा विप्लव नेतृत्वको नेकपाको ५ चमत्कारी योजना सुरु हुँदै

कालिकोटः नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको आधारभूमि कालिकोटको माल्कोटमा ५ वटा चमत्कारी तथा महत्वाकाँक्षी योजना सुरु गर्न थालेको छ । पछिल्लो एकीकृत जनक्रान्तिको बेला पनि चुनाव वहिष्कारमा प्रतिरोध गर्दा बलिदान गरेको माल्कोटमा मोडेल बस्ती बनाउन पाँच चमत्कारी तथा महत्वाकाँक्षी योजना नेकपाले सुरु गर्न थालेको हो ।

नेकपाले स्वास्थ्य, शिक्षा, सडक निमार्ण, कृषि तथा पार्टी कार्यालय र कार्यक्रम हल निमार्णका ५ वटा योजना कार्यन्वयन गर्न काठमाडौवाट प्राविधिक टोली बोलाएर मंगलबारबाट सर्वे डिजाइनको सुरुवात गरेको छ । सर्वे डिजानाईनमा नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा `प्रकाण्ड` समेतको सहभागिता छ ।
प्रवक्ता प्रकाण्डले जनयुद्ध र एकीकृत जनक्रान्तिको आधारभूमि माल्कोट भएकाले यहाँको बस्तीलाई मोडेल र समाजवादीकरण गर्न पार्टीले यस्तो योजना ल्याएको बताएका छन् । उनले सुरुवात माल्कोटबाट भएपनि हरेक नेपालका बस्तीबस्तीहरु शिक्षा ,स्वास्थ्य, कृषि,सडक निमार्ण, लगायतका विकासका पूर्वाधारबाट बञ्चित हुन नपर्ने समाजवादी व्यवस्था ल्याउन नेकपाले चाहेको प्रतिक्रिया दिएका छन् ।

आखिर नेकपाका चमत्कारी तथा महत्वाकाँक्षी ५ वटा योजना के के रहेछन् ?

१) अस्पताल निमार्ण ः नेकपाले माल्कोटमा एउटा सुविधा सम्पन्न अस्पतालको महत्वकाँक्षी योजना बनाएको छ । लालुदेखि कोटवाडासम्मको भू–भागमा सुविधा सम्पन्न कुनै अस्पताल छैन । गाहे पर्दा जिल्ला अस्पताल पुग्नु पर्ने त्यसक्षेत्रका जनताको बाध्यता छ । बिरामी हुँदा समयमै स्वास्थ्य उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको छ । त्यसकारण नेकपाले अकालमा त्यस क्षेत्रका जनताले उपचार नपाएर ज्यान जाने अवस्थाको अन्त्य गर्न एउटा सूविधा सम्पन्न अस्पतालको परिकल्पना गरेको हो । अस्पतालको मंगलबार काठमाडौबाट बोलाइएको प्राविधिक टोलीका दुई जना आर्केटेक्चर रोहन श्रेष्ठ र सिभिल इन्जिनियर योगराज पन्थीले विस्तृत डिपिआरका लागि सर्वे डिजाइन गरेका छन् ।

२) सेरापाटा स्कुलको भवन निमार्ण ः नेकपाले माल्कोटको सेरापाटा स्कुलको भवन नयाँ र आधूनिक मोडेलबाट बनाउने योजना बनाएको छ । भवनको नेकपाका प्रवक्ता सहितको प्राविधिक टोलीले सर्वे डिजाइन गरेको छ । जनयुद्धकालमा पनि नेकपाले सो स्कुलको भवन बनाएको थियो । तर राज्यका सुरक्षाकर्मीहरुले विद्यालय समेत माओवादीले बनाएको भनेर भत्काउनसम्म भ्याएका थिए । फेरी पनि नेकपाले सो विद्यालयलाई आधूनिक वनाउन र नमूना विद्यालय बनाउन चाहेको छ । विद्यालयको पढाईको स्तर पनि बढाउने र भवन, शैक्षिक साम्रगी लगायतको कुरामा अभाव हुन नदिने पार्टीको योजना छ ।

३) लालुलैफु सडक निमार्ण ः नेकपाले लालु देखि लैफुसम्म सडक जोड्ने योजना बनाएको छ । सडकको प्रतिवन्धका बेला समेत काम थालनी गरेको नेकपाले पुन सुचारु गरेको छ । प्रतिबन्धका बेला राज्यले काम गर्न रोक लगाएको थियो । विकास निमार्णका काममा नेकपा लागेर लोकप्रिय बन्छ भन्ने डरले राज्यमा भएका पार्टीहरुले काम रोकेका थिए । अहिले सो सड्कको काम अगाडि बढाउन हिल्सा सिमिकोट सडक योजनाका प्रमुख विशुन्दास लामा सहितको सडक विभागको टोलीलाई लिएर नेकपाले मंगलबारबाट खुलालुदेखि रुप्सासम्मको सडक बाँकी रहेको निरीक्षण र सर्वे डिजाईन सुरु गरेको छ । यो ग्रामीण सड्कले जनतालाई आवत जावतमा निकै सुविधा दिनेछ ।

४) माटो अनुसार उन्नत खेतीका लागि माटो परिक्षण ः नेकपाले माल्कोटलाई कृषिमा पनि नमुना गाउँ बनाउन चाहेको छ । जसका लागि माल्कोटको सबै क्षेत्रको माटो परिक्षण गरि माटो अनुसारको बाली लगाउने र उन्नत तथा आधूनिकरण खेती प्रविधिको सुरुवात गर्ने योजना छ । नेकपाले यसका लागि साविकको माल्कोटका सबै वडाको माटोको नमुना संकलन गरेको छ । नेकपाले नमुनाहरु काठमाडौ पठाई परिक्षण पछि कुन माटोमा कुन बाली लगाउने र कसरी लगाउने भन्नेबारे जनतालाई भन्ने छ ।

५) पार्टी कार्यालय र कार्यक्रम हल निमार्ण ः नेकपाले माल्कोटमा सुविधा सम्पन्न आधूनिक पार्टी कार्यालय र कार्यक्रम हल बनाउन लागेको छ । उसले पार्टी कार्यालयमा जिल्लाका सबै सहिदहरुको फोटो राख्ने र विशेष घटनाहरुका अभिलेखहरु राख्ने बताएको छ । माल्कोटबाट मात्रै जनयुद्धकालमा ३४ जनाको उच्च सहादत भएको छ । यस्तै जिल्लावाटै जनयुद्ध र एकीकृत जनक्रान्तिमा १२ जना वेपत्ता सहित ४५० जनाको बलिदान भएको छ । सवै सहिद र वेपत्ताहरुको रेकर्ड कार्यालयमा राख्ने गरि आधुनिक भवन बनाउने नेकपाको योजना छ । यस्तै आधूनिक कार्यक्रम हल पनि बनाउने छ । यसका लागि पार्टी प्रवक्तासहित सहभागी भएर मंगलबार काठमाडौंबाट आएको प्राविधिक टोलीले सर्वे डिजाइर्न गरेको छ । कार्यक्रम हल भने यसअघि पनि बनाएको थियो । अधूरो हललाई आधूनिक र व्यवस्थित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :