मङ्सिर ८ को कार्यक्रम भव्य बनाउने निर्णय गर्दै नेकपा रामेछापको बैठक सम्पन्न

मन्थली (रामेछाप) : आगामी मङ्सिर ८ गते काठमाडौँमा आयोजना हुने पार्टी पुनर्गठन दिवस भव्य रूपमा सफल पार्ने निर्णय गर्दै नेकपा रामेछापको पन्धौँ पूर्ण बैठक बुधबार सम्पन्न भएको छ ।

बैठकमा नेकपा केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली इन्चार्ज रणवीरले तीन लाल (पुष्पलाल–गङ्गालाल–कृष्णलाल) को गौरवशाली बलिदानको इतिहास बोकेको रामेछापले एकीकृत जनक्रान्तिको कार्यदिशामा जारी वर्गसङ्घर्ष र वैज्ञानिक समाजवाद प्राप्तिको अभियानमा अग्रणी र सफल भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

‘हामी महान् इतिहास निर्माण गर्ने प्रक्रियामा छौँ । निराशा र पलायनले होइन, कृष्णलाल, गङ्गालाल र पुष्पलालको त्याग र बलिदानको स्पिरिटले मात्र यो सम्भव छ’, नेकपा नेता रणवीरले भने, ‘पुरानो सत्ता र शासक असफल भइसकेका छन् । सत्ता सञ्चालन गर्नुपर्ने भविष्य र सपना बोकेको हाम्रो पार्टी क्रोध र प्रतिशोधमा नभएर संयम्पूर्वक आफ्नो जिम्मेवारी र दायित्वबोध गरिरहेको छ । जनमतसङ्ग्रहबाट वैज्ञानिक समाजवाद स्थापनाको कार्यक्रम त्यसैको एउटा परिणाम हो ।’

वैज्ञानिक समाजवाद नेपाली जनताको हातबाट धेरै टाढा नरहेको प्रस्ट पार्दै नेता रणवीरले वर्गसङ्घर्षबाट थाकेका, भागेका, गलेका र दलाली र गद्दारीको बाटोमा पलायन भइसकेकाहरूले आफ्नो पार्टीले सरकारसँग तीनबुँदे सहमति गरेपछि आफ्नो भाग खोसिदिने भयले नेकपामाथि दुष्प्रचार गर्दै हिँडेको भए पनि जनक्रान्तिले त्यसलाई असफल सिद्ध गरिदिने बताए । एकीकृत जनक्रान्ति नयाँ कम्युनिस्ट बनाउने नयाँ स्कुल रहेको भन्दै नेता रणवीरले यसअघि कम्युनिस्ट बनिसकेको दाबी गर्नेहरू त्यसलाई आफ्नो बपौती बनाउँदै साँढेझैँ बाटो छेकेर बसेको तर नेकपाले त्यो अवरोध हटाएर एक्काईसौँ शताब्दीको विज्ञानप्रविधि र नयाँ कार्यदिशासहितको कम्युनिस्ट पार्टी निर्माण गरेर वैज्ञानिक समाजवाद स्थापना हुने सुनिश्चित गरेपछि तिल्मिलाउँदै दुष्प्रचारमा उत्रिएको प्रस्ट पारे ।

बैठकमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले रामेछापले दोरम्बाको बलिदानमा भएको क्षतिपछि नयाँ नेतृत्व विकास गरेको र यसले रामेछापको कम्युनिस्ट आन्दोलनलाई वैज्ञानिक समाजवादसम्म पुर्याउने विश्वास व्यक्त गरे । नेपालको राजनीतिक–सांस्कृतिक कुनै पनि इतिहास रामेछापबाटै सुरु हुने तथ्यहरू प्रस्तुत गर्दै उनले नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल, नेपालका प्रथम विद्यार्थी सहिद गङ्गालाल, नेकपाका संस्थापक महासचिव पुष्पलाल र जनयुद्धको प्रथम सफल फौजी मोर्चा बेथानमा बलिदान प्राप्त गर्ने प्रथम सांस्कृतिक–छापामार–महिला–विद्यार्थी सहिद दिलमाया बम्जनको त्याग, शौर्य र बलिदानका कारण एकीकृत जनक्रान्ति सफल पार्न रामेछापको इतिहास र वर्तमान ऊर्जाशील बन्ने धारणा राखे । एकीकृत जनक्रान्तिका आठौँ सहिद रामकुमार श्रेष्ठ निरन्तर क्रान्तिकै उत्कर्ष रहेको उनको भनाइ थियो ।

बैठकको अध्यक्षता गरेका नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठले दलाल र गद्दारहरूले रछ्यानमा फ्यालेको क्रान्तिको रक्तिम झन्डा उठाएर यहाँसम्म ल्याइपुर्याउन केही समय लागे पनि क्रान्ति विजयको शिखरतर्फ लम्किँदै गएको धारणा राखे ।

बैठकमा जिल्लाका निवर्तमान इन्चार्ज–सेक्रेटरी तीर्थ कार्की, गुन्जन, अभिलाषलगायतले जिल्लाको राजनीतिक, आर्थिक, सांस्कृतिक अवस्था र आफ्नो पार्टीले सञ्चालन गरिरहेको आन्दोलनका विषयमा बोलेका थिए । बैठकमा जिल्ला सदस्यहरूले क्रान्ति सम्पन्न गर्न आफूले निर्वाह गर्नुपर्ने भूमिका बढिरहेको बताएका थिए ।

यसैबीच नेकपा रामेछापले आज जिल्ला सदरमुकाम मन्थलीमा विभिन्न राजनीतिक पार्टी, सरकारी निकाय, सङ्घसंस्था र जनसमुदायको उपस्थितिमा ‘समाजवादको भविष्य र राजनीतिक पार्टीहरूको भूमिका’ विषयक अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :