नेता वीरजङ्गको जन्म घरमा नेकपा रोल्पाको श्रद्धाञ्जली सभा

नेता वीरजङ्गको जन्म घरमा नेकपा रोल्पाको श्रद्धाञ्जली सभा

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृतिमा रोल्पा इरिबाङ केवरीमा रहेको जन्मघरमै श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा परिवर्तन गाउँकमिटीको आयोजनामा बुधबार वीरजङ्ग जन्मिएको मूलघरमै श्रद्धाञ्जली सभा भएको हो ।

उक्त सभाको प्रमुख अतिथि अभियान कमान्डर पृथ्वी रहेका थिए भने, अतिथिमा गणतान्त्रिक खेलकुद महासङ्घका महासचिव बिनोद चन्द रहेका थिए । भक्त रिजाल सभापति रहेको श्रद्धाञ्जली सभालाई जगत बुढाले सञ्चालन गरेका थिए ।

नेकपाका महासचिव ‘विप्लव’ र उहाँकै सहोदर दाजु वीरजङ्ग जन्मिएको घर चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ २०१७ साल फागुन ७ गते रोल्पाको इरिवाङ केवरीमा जन्मनु भएको थियो । नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ र उहाँकै सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को जन्म यहि घरमा भएको थियो । वीरजङ्ग जन्मिएको घर हाल उहाँको कान्छो बुवाको छोराले रेखदेख गर्दै आएका छन् ।

त्यसैगरी रोल्पाको गंगादेव गाउँपालिका पातिहाल्नमा पनि नेता वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदाय तथा विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा नेकपा रोल्पा जिल्ला सदस्य तथा गंगादेव गाउँकमिटी इन्चार्ज किरण प्रमुख अतिथि रहेका थिए भने नेकपा गंगादेवका सत्ता प्रमुख पूर्णबहादुर वली सभापति रहेका थिए । कार्यक्रमलाई पार्टी एसिएम रामबहादुर डाँगीले सञ्चालन गरेका थिए । अर्का अतिथि तथा युवा सङ्गठन रोल्पाका अध्यक्ष डिल्ली रमण वली र प्रमुख अतिथि किरणले शोक मन्तब्य राखेका थिए ।

यस्तै नेता वीरजङ्गको स्मृतिमा बुधबार नै रोल्पाको माडी गाउँपालिका धारबासामा पनि श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । उक्त सभाको प्रमुख अतिथि नेकपा जिल्ला सदस्य तथा अभियान कमान्डर सन्दिप थापा रहेका थिए भने दिनेश वली सभापति रहेका थिए । कार्यक्रमलाई जिबन बाठाले सहजीकरण गरेका थिए ।

चन्द्रबहादुर चन्दको स्वास्थ्य उपचारकै क्रममा २०७८ साल असोज २८ गते देहावसान भएको थियो । १३ दिनको अवसर पारेर नेकपाले बुधबार देशभर श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :