नेकपा झापाद्वारा वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा

नेकपा झापाद्वारा वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा

झापा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति झापाको आयोजनामा पार्टी केन्द्रीय सदस्य वीरजङ्गको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

पार्टीका झापा जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथ्यता पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बु रहेका थिए भने विशेष अतिथिका रूपमा पार्टीका केन्द्रीय सल्लाहकार होम खतिवडा रहेका थिए । त्यस्तै अतिथिहरूमा दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् मेची–कोशी ब्युरो संयोजक डिल्ली नेपाली, भर्खरै जेलबाट रिहा भएका तत्कालीन मेची–कोशी ब्युरो सदस्य एवम् इलाम जिल्ला इन्चार्ज पुष्प, पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय लगायतका जिल्ला नेताहरू रहेका थिए ।

उक्त श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला इन्चार्ज सुमनले दिवंगत भएका पार्टीका केन्द्रीय सदस्य नेता वीरजङ्गलाई श्रद्धाञ्जली अर्पण गर्दै मृत्यु अप्रिय लाग्ने तर स्वीकार्नु पर्ने प्राकृतिक नियम रहेको बताए । भावुक हुँदै नेता सुमनले कुनै मृत्यु पहाड जस्तै गहकिलो हुने र कुनै मृत्यु रुवा जस्तै हलुका हुने भन्दै वीरजङ्गको निधन पहाड जस्तै गहकिलो भएको बताए । एकीकृत जनक्रान्ति सम्पन्न गर्न वीरजङ्गले देखेको सपना र अपनाएको बाटोलाई इमानदारीपूर्वक पूर्ण गर्न सकेको खण्डमा मात्रै वीरजङ्गप्रति साँचो श्रद्धाञ्जली अर्पण गरेको हुने भन्दै क्रान्तिमा अर्को वीरजङ्ग पाउन दशक गुजार्नु पर्ने र उनको निधनले पार्टी र क्रान्तिमा अतुलनीय क्षति पुगेको सुमनले बताए ।

कार्यक्रमका विषेश अतिथि एवम् केन्द्रीय सल्लाहकार होम खतिवडाले नेता वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण गर्दै विगतका धोकाहरूबाट पाठ सिकेर वीरजङ्ग जस्तो कर्मठ योद्धाहरूले अँगालेको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न कटिबद्ध बनेर लाग्नु नै सबैको जीवन सार्थक हुने बिचार व्यक्त गरे ।

उक्त कार्यक्रममा १६ महिना जेल जीवन बिताएर भर्खरै रिहा भएका तत्कालीन इलाम जिल्ला इन्चार्ज एवम् मेची–कोशी ब्युरो सदस्य पुष्पलाई स्वागत तथा सम्मानसमेत गरिएको थियोे । कार्यक्रममा बोल्दै नेता पुष्पले आफ्नो जेल जिवनको अनुभूति सुनाएका थिए । वैज्ञानिक समाजवादी व्यवस्था नै अबको विकल्प रहकाले आफू एकीकृत जनक्रान्तिको बाटोमा कहिल्यै विचलित नहुने उद्घोष गर्दै सबै नेता तथा कार्यकर्ताहरू क्रान्तिप्रति प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष एवम् जिल्ला सचिव प्रशान्तले वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था ल्याएरै छाड्ने उद्घोष गर्दै सहिदहरूको बलिदान खेर नजाने र आवश्यक परे आफूहरू जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :