नेता वीरजङ्गको निधन बलिदान र सहादत स्तरको हो : हितमान

नेता वीरजङ्गको निधन बलिदान र सहादत स्तरको हो : हितमान

ललितपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर/ललितपुर जिल्ला इन्चार्ज नवीन बिश्वकर्मा ‘हितमान’ ले नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को निधन बलिदान र सहादत स्तरको रहेको बताएका छन् ।

नेकपा ललितपुरले बुधबार पुल्चोक, पाट्नढोकामा आयोजना गरेको श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै भने, ‘नेकपामाथि प्रतिबन्ध लगाएर, झूट्टा मुद्दा लगाएर, नेताहरूलई जेल हालेर उपचार नगराई मारिएको छ । जेलबाट उपचारका लागि सिधै अस्पताल लगिएका नेता वीरजङ्गको निधन स्वाभाविक मृत्यु नभएर राज्यले उपचार नगरेर र यातना दिएर गरेको हत्या हो । यो सहादत स्तरको निधन हो ।’ देश, जनता, आफ्नो वर्ग र क्रान्तिका पक्षमा निरन्तर लागिरहने नेता वीरजङ्ग अनुकरणीय चरित्र र स्वभाव भएका व्यक्तित्व भएकाले उनीबाट क्रान्तिकारीहरूले पाठ सिक्नुपर्ने नेता हितमानले बताए ।

इमानदार र क्रान्तिकारी कम्युनिस्ट नेता वीरजङ्गको निधनले घरपरिवार र पार्टी परिवार दुवै शोकसन्तप्त रहेको भन्दै उनले मर्माहत सबैलाई शोकलाई शक्तिमा रूपान्तरण गर्न र वीरजङ्गहरूको हत्या गर्ने राज्यसत्ताका विरुद्ध विस्फोट हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । समाजका लागि, आमूल परिवर्तन र क्रान्तिका लागि व्यक्तिगत स्वार्थ त्यागेर हिँडेकाहरू नै महान् बन्ने उदाहरण प्रस्तुत गर्दै नेता हितमानले हामी सबैले गौरवशाली जीवन, गौरवपूर्ण मृत्यु र अमर बन्ने यात्रामा लामबद्ध हुनुपर्ने धारणा राखे ।

नेता वीरजङ्गको जीवनी र सङ्घर्षको इतिहास प्रस्तुत गर्दै नेकपा ललितपुर जिल्ला सेक्रेटरी रमेश डङ्गोलले योद्धाहरूको मृत्यु पहाडभन्दा गह्रौँ र कायरहरूको मृत्यु प्वाँखभन्दा हलुका हुने माओको उद्धरण नेता वीरजङ्गको जीवनमा लागू हुने बताए । इमानदारी, जुझारुपन, लगनशील र क्रान्तिकारिताका पर्याय वीरजङ्गको निधन सहादतको स्तरमा रहेको र निधनको प्रकृति कृष्णलाल, गोञ्जालो र ग्राम्सीहरूकै स्तरको रहेकाले सहिद घोषणा गर्नुपर्ने धारणा राखे ।

निजी जीवनलाई त्यागेर सिङ्गो परिवारलाई नै क्रान्तिकारीकरण गर्ने नेकपाका नेता वीरजङ्गबाट सबैले पाठ सिक्नुपर्ने उनको भनाइ थियो । क्रान्तिका दलाल र गद्दारहरूलाई ललकार्दै हरेक विद्रोहमा क्रान्तिकारीहरूको साथ दिने नेता वीरजङ्ग दुर्लभ त्यागी नेताहरूको कोटीमा अग्रभागमा रहेको उनले सुनाए ।

नेकपा ललितपुरका सेक्रेटरी रमेश डङ्गोलको अध्यक्षता र सञ्चालन नेकपा ललितपुर जिल्ला सदस्य एवम् महालक्ष्मी नगरपालिका सेक्रेटरी प्रतिबद्धले गरेका थिए । श्रद्धाञ्जली सभामा नेकपा पूर्व सेक्रेटरी रुपसिंह बोहरा, विभिन्न जवस मोर्चाका संयोजक, जिल्ला पार्टीका सदस्य र जवस मोर्चाका सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :