नेकपा प्युठानको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा प्युठानको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

प्युठान : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति प्युठानको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्ला स्तरिय नेता तथा अगुवा कार्यकर्ता प्रशिक्षणको लागि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दलबहादुर केसी ‘जागृति’ जिल्ला पुगेका थिए ।

प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टी सदस्य, जवस, मोर्चाका प्रतिनिधिहरू र इलाका स्तरका पार्टी सदस्यहरूको सहभागिता रहेको जिल्ला सेक्रेटरी अजय घर्तीले जानकारी दिए । नेपाल सरकारले नेकपामाथि लगाएको करिव २ बर्ष लामो प्रतिबन्ध फुकुवा तथा कोरोना माहामारी पछिको यो पहिलो र ठुलो केन्द्रिकृत कार्यक्रम हो ।

नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिमार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यसहित आफ्नो राजनैतिक तथा वैचारिक गतिविधिहरू जिल्लाका हरेक स्थानीय तहमा सञ्चालन गरिरहेको छ ।

हालको संसदीय व्यवस्थालाई दलाल पुँजीवादी व्यवस्थाको संज्ञा दिएको नेकपाले दलाल संसदीय पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि जनमतसङ्ग्रह गर्ने कार्यनीति लिएको प्रमुख प्रशिक्षक तथा नेकपा नेता जागृतिले बताए ।

कार्यक्रममा नेकपा प्युठानका पुर्व जिल्ला इन्चार्ज रत्न थापा ‘सुर्यप्रकाश’, पुर्व जिल्ला इन्चार्ज चिन्तामणी घिमिरे लगायतले एकीकृत जनक्रान्ति र नेपालमा वैज्ञानिक समाजवादको आवश्यकताबारे महत्वपूर्ण प्रशिक्षण मन्तव्य राखेका थिए ।

बृहत् सांस्कृतिक कार्यक्रम सहित सम्पन्न प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टी सचिवालय सदस्य तथा जिल्ला जनपरिषद् प्रमुख बामबहादुर बुढाको सञ्चालन र सचिवालय सदस्य केशव थापाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :