सहमति कार्यान्वयनबारे नेकपा प्रवक्ता र गृहमन्त्रीसहितको सरकारी टोलीबीच सकारात्मक छलफल

नेकपाले रिहा हुन बाँकी नेता–कार्यकर्ताको सूची दिने र सरकारले सर्वोच्चदेखि जिल्ला प्रशासनसम्म रहेका मुद्दाको सूची तयार पार्ने समझदारी

सहमति कार्यान्वयनबारे नेकपा प्रवक्ता र गृहमन्त्रीसहितको सरकारी टोलीबीच सकारात्मक छलफल

काठमाडौँ : नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँडसहितको सरकारी टोलीबीच यसअघि सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा सकारात्मक छलफल भएको छ ।

नेकपा स्रोतका अनुसार मङ्गलबार भएको छलफलमा पार्टीका तर्फबाट प्रवक्ता प्रकाण्ड र सरकारका तर्फबाट मन्त्री खाँडका साथै गृहसचिव टेकनारायण पाण्डे, कानुन, न्याय तथा संसदीय मन्त्रालयका सचिव उदयराज सापकोटा, उक्त मन्त्रालयका सहसचिव र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहभागी थिए । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुसमेत छलफलमा सहभागी हुने तय भएकोमा प्राकृतिक प्रकोपसम्बन्धी विशेष काममा उपत्यकाबाहिर जानुपर्ने भएकाले सहभागी हुन नसकेको सरकारी स्रोतले जनाएको छ ।

छलफलमा सरकारका तर्फबाट नेकपाका नेता–कार्यकर्तामाथि सर्वोच्च अदालतदेखि उच्च अदालत, जिल्ला अदालत हुँदै जिल्ला प्रशासन कार्यालयसम्म रहेका मुद्दाहरूको सूची, स्थिति र विवरण केन्द्रित गर्ने र नेकपाका तर्फबाट हालसम्म रिहा भएका आस्थाका बन्दीहरूको विवरण र रिहा हुन बाँकी बन्दीहरूको अन्तिम नामावली केन्द्रित गरी सरकारसमक्ष प्रस्तुत गर्ने समझदारी भएको नेकपा स्रोतले जनाएको छ । बन्दी र मुद्दाको तथ्याङ्क केन्द्रित भएपछि दुवैतर्फबाट छिट्टै संयुक्त बैठक बसी आवश्यक कदम अगाडि बढाउने समझदारी पनि भएको छ ।

यस किसिमको समझदारी हुनुअघि यसअघि भएको समझदारीअनुसार तीनबुँदे सहमति कार्यान्वयन र विशेषगरी बन्दी रिहाइको पहलसम्बन्धी सरकारका तर्फबाट भएको कामबारे गृहमन्त्री खाँड, गृहसचिव, कानुनसचिव, सहसचिव र महान्यायाधिवक्ताले रिपोर्टहरूका साथ प्रगतिविवरण प्रस्तुत गरेका थिए । यसअघि भएको समझदारीलाई छिट्टै नै निष्कर्षमा पुर्याउन सरकार सकारात्मक रूपमा अघि बढिरहेको छलफलको निष्कर्षपछि बाँकी मुद्दा र बन्दीहरूको विवरण तयार पार्ने थप समझदारी भएको पनि स्रोतले बताएको छ ।

सरकार र नेकपाबीच तीनुबुँदे सहमति भएको आठ महिना बितिसक्दासमेत सहमति कार्यान्वयन परिणाममुखी नभएको र सकारात्मक परिणाम नदेखिइरहेको सन्दर्भमा मङ्गलबार नेकपाका प्रवक्ता र गृहमन्त्रीसहितको सरकारी टोलीबीच भएको छलफल र समझदारीले सहमति कार्यान्वयनमा सार्थक प्रगति हुने सङ्केत देखिएको आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :