जनगणतन्त्र कोरियाद्वारा शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण

कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गर्यो : दक्षिणकोरिया

जनगणतन्त्र कोरियाद्वारा शक्तिशाली ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ : आफ्नो देश, समाजवादी व्यवस्था र जनताको सुरक्षाका लागि विचारसँगै विज्ञान र प्रविधिको उच्च विकास र प्रयोग गर्दै आएको जनगणतन्त्र कोरिया (उत्तरकोरिया) ले फेरि एक शक्तिशाली आणविक क्षेप्यास्त्र (मिसाइल) प्रदर्शन, परीक्षण र प्रयोग गरेको छ । दक्षिणकोरियाली स्रोतका अनुसार जनगणतन्त्र कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको हो । कोरिया आफैँले भने यसबारेमा केही बताएको छैन ।

कोरियाले समयसमयमा नयाँनयाँ आणविक परीक्षण गरिरहने गर्छ । उसले अमेरिकासम्म मार हान्नसक्ने आणविक क्षेप्यास्त्रको पनि सफल परीक्षण गरिसकेको छ । यो तथ्य सार्वजनिक भएपछि अमेरिकालगायत साम्राज्यवादी मुलुकहरूले कोरियालाई सीधै हेप्न नसकेर संयुक्त राष्ट्रसङ्घको लोगोमार्फत प्रतिबन्ध लगाइरहेका छन् । कोरियाले संसारकै प्रतिबन्धको सामना गरिरहेको छ ।

दक्षिणकोरियाको सेनालाई उद्धृत गर्दै दिइएको उक्त समाचारमा जनगणतन्त्र कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ । दक्षिणकोरियाली सेनाका प्रमुखले भनेका छन्– जनगणतन्त्र कोरियाले हानेको उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान छ ।

उक्त क्षेप्यास्त्र दक्षिणकोरियाको पूर्वी सामुद्रिक तटमा खसेको अनुमान दक्षिणकोरियाले गरेको छ । उक्त ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्नसक्ने क्षमताको हो भन्नेबारेमा भने केही बताइएको छैन ।

कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समयअघि मात्र पनि कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको बताइएको थियो । उक्त क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।

अमेरिकी साम्राज्यवादले इराकलगायत पश्चिमएसियाली मुलुकहरूमा विभिन्न बहाना बनाएर हवाईहमला गरी देशभक्त सरकारहरू ढालेर कठपुतली सरकार निर्माण गर्न थालेपछि कोरियाले आणविक क्षेप्यास्त्र निर्माण र परीक्षणमा जोड दिँदै आएको छ ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :