कात्तिक १० गते देशभर नेता वीरजङ्गको श्रद्धाञ्जलीसभा

नेकपा केन्द्रीय कार्यालयले शिवगढीमा र जिल्ला समितिहरूले जिल्ला–जिल्लामा श्रद्धाञ्जलीसभा आयोजना गर्ने

कात्तिक १० गते देशभर नेता वीरजङ्गको श्रद्धाञ्जलीसभा

काठमाडौँ : नेकपाले कात्तिक १० गते पार्टीका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृति र सम्मानमा देशभर श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयस्रोतले दिएको जानकारीअनुसार पार्टी केन्द्रीय कार्यालयले नेता वीरजङ्गको घर रहेको गाउँ कपिलवस्तुको शिवगढीमा र पार्टीका जिल्ला समितिहरूले जिल्लाजिल्लामा श्रद्धाञ्जलीसभाहरू आयोजना गर्नेछन् ।

केन्द्रीय कार्यालयले शिवगढीमा आयोजना गर्ने कार्यक्रममा पार्टी महासचिव विप्लव र केन्द्रीय सचिवालयका सदस्यहरूले नेता वीरजङ्गको जीवनी र उनले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानका बारेमा चर्चा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी जिल्ला सदरमुकाम र स्थानीय स्तरसम्म आयोजना गरिने श्रद्धाञ्जलीसभामा केन्द्रीय सदस्यहरू, विशेष समितिका सदस्यहरू, जिल्ला समिति, जवस मोर्चाका नेताहरूले नेता वीरजङ्गका योगदानहरूका बारेमा परिचर्चा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा मुटुरोगको उपचार गराइरहेकै अवस्थामा असोज २८ गते राती ६१ वर्षको उमेरमा नेकपाका पूर्वपोलिटब्युरो सदस्य एवम् वर्तमान केन्द्रीय सदस्य वीरजङ्गको असामयिक निधन भएको थियो । विगतमा भएका ग्रामीण वर्गसङ्घर्ष, पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म सहभागी हुँदा हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो ।

२०१७ साल फागुन ७ गते रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुन् । वीरजङ्गका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।

यसअघि गत शनिबार नेता वीरजङ्गको भावपूर्ण बिदाइ गरिएको थियो । कपिलवस्तु शिवगढीस्थत घरमा श्रद्धाञ्जलीसभापछि स्थानीय चिराई नदीमा नेता वीरजङ्गको अन्तिम संस्कार गरिएको हो । पार्टी नेता, कार्यकर्ता, प्रियजन, आफन्त, विभिन्न पार्टीमा आबद्ध व्यक्तित्व, सामाजिक कार्यकर्ता र स्थानीय जनसमुदायले अश्रुपुरित हुँदै सामूहिक रूपमा जनप्रिय नेता वीरजङ्गलाई बिदा गरेका हुन् ।

श्रद्धाञ्जली कार्यक्रममा पार्टी महासचिव एवम् नेता वीरजङ्गका भाइ विप्लवले वीरजङ्गले अन्तिम समयमा ‘आन्दोलन र क्रान्तिलाई धोका नहोस्’ भनी एकीकृत जनक्रान्ति र जारी वर्गसङ्घर्षप्रति चिन्ता व्यक्त गरेको स्मरण गराउँदै भनेका थिए, ‘कमरेड, तपाईंको सपना हामी पूरा गर्नेछौँ । देश, जनता, हाम्रो वर्ग र जारी क्रान्तिलाई धोका हुनेछैन ।’

महासचिव विप्लवले नेता वीरजङ्गलाई क्रान्तिकारी र इमानदार योद्धाका रूपमा स्मरण गरेका थिए । सहयोद्धा र अभिभावक दुवै भूमिका एकसाथ निर्वाह गरेको स्मरण गर्दै महासचिव विप्लवले योद्धा वीरजङ्गका योगदानहरूको जति प्रशंसा गरे पनि कमै हुने बताएका थिए । त्यस्तै नेकपाका प्रवक्ता प्रकाण्डले शोकसन्तप्त पार्टी महासचिव विप्लव, आमा, वीरजङ्गका परिवारका अन्य सदस्य र पार्टीपङ्क्तिप्रति हार्दिक समवेदना प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :