सत्ता परिवर्तनका लागि बल प्रयोग अनिवार्य सर्त : विप्लव

‘तीनबुँदे सहमति लागू नगरेर सरकारले गम्भीर गल्ती गरिरहेको छ’

सत्ता परिवर्तनका लागि बल प्रयोग अनिवार्य सर्त : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्ति आफूहरूको मनोगत चाहना वा इच्छाको विषय नभएर वस्तुगत आवश्यकता रहेको बताएका छन् । रुसी सशस्त्र विद्रोह, चिनियाँ दीर्घकालीन जनयुद्ध, नेपालको जनयुद्धका साथै संसारकै क्रान्ति र विद्रोहहरूको परिष्कृत र एकीकृत स्वरूप (फ्युजन) भएकाले एकीकृत जनक्रान्ति श्रमिक सर्वहारा वर्गको नयाँ, मौलिक र विकसित कार्यदिशा रहेको महासचिव विप्लवको भनाइ छ । वर्गसङ्घर्षको अन्तिम सत्य राज्यसत्ता बल प्रयोगबाटै कब्जा गर्न सकिने विषय, पुरानो विचार र सत्ताले आफ्नो वर्गस्वार्थको रक्षाका लागि बल प्रयोग अनिवार्य गर्ने भएकाले श्रमिक सर्वहारा वर्गले पनि सत्ता हातमा लिन बल प्रयोगको सिद्धान्तलाई अनिवार्य सर्तका रूपमा स्वीकार गरेको उनको भनाइ थियो ।

सरकारसँग भएको तीनबुँदे सहमतिपछि अवसरवादी, संशोधनवादी, दलाल र धोकेबाजहरूले नेकपाविरुद्ध विभिन्न किसिमका अनर्गल प्रचार गरेर धमिलो पानीमा माछा मार्ने दुष्प्रयास गरेको भए पनि एकीकृत जनक्रान्ति जारी रहेको र जनताको बलले यो विजयसम्म पुगेरै छोड्ने महासचिव विप्लवको उद्घोष थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव विप्लवले एकीकृत जनक्रान्तिको उर्लंदो लहरबाट अत्तालिएका दलाल र जनविरोधी शासकहरूले नेकपामाथि प्रतिबन्ध लगाए पनि अन्ततः हार स्वीकार गरेर प्रतिबन्ध फुकुवा गरेको प्रस्ट पारे । उनले भने, ‘तीनबुँदे सहमतिमा श्रमिक सर्वहारा वर्ग र क्रान्ति तल परेको छैन ।’

क्रान्तिलाई विजयसम्म पुर्याउनका लागि सदा क्रान्तिकारी भइरहन आवश्यक रहेको प्रस्ट पार्दै क्रान्तिकारी सांस्कृतिक चेत, व्यवहार र आचरणयुक्त हुन उनले क्रान्तिकारी संस्कृतिकर्मीलाई आह्वान गरे । क्रान्तिकारीहरूलाई उत्तेजित बनाएर समाप्त पारिदिने पुरानो सत्ताको षड्यन्त्रलाई नेकपाले नयाँ शैलीले चकनाचुर पारिदिएको र प्रतिबन्धबाट खारिएर विजयको शिखरतिर लम्किँदै गएको महासचिव विप्लवको संश्लेषण थियो । सत्ता दमनको प्रतिरोध गर्न र हत्या–संस्कृतिलाई धुजाधुजा पार्न पार्टीको योजना र कार्यक्रमसँगै जनसांस्कृतिक महासङ्घ र यसमा आबद्ध स्रष्टा–संस्कृतिकर्मी–शुभचिन्तकहरूको निरन्तरको आक्रामक आन्दोलन र सिर्जना पनि एउटा महत्वपूर्ण कारण रहेको संश्लेषण महासचिव विप्लवले गरे । प्रतिबन्धकालमा हिरासत र जेल मोर्चा जितेर, आस्था जोगाएर, दुस्मनसँग डटेर सम्मानपूर्वक खुला आकाशमा फर्किएका स्रष्टा, संस्कृतिकर्मी र फासिवादी सत्ताका विरुद्ध निरन्तर सिर्जनात्मक प्रतिरोध गर्ने स्रष्टा–संस्कृतिकर्मीलाई महासचिव विप्लवले बधाई दिए ।

क्रान्तिकारी पार्टी र श्रमिक सर्वहारा वर्ग तल नपर्ने गरी पुरानो सत्तासँग भएको तीनबुँदे सहमति लागू गर्न स्रष्टा–संस्कृतिकर्मीले पनि दबाब दिनुपर्ने धारणा राख्दै महासचिव विप्लवले झन्डै दुईतिहाइ कम्युनिस्ट र वामपन्थी जनता, मतदाता रहेको मुलुकमा दलाल पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवाद स्थापनाका लागि जनताको मत प्रयोग हुने पद्धति जमतसङ्ग्रह नै पर्याप्त भएको संश्लेषण पनि गरे । संसारका कुनै पनि दलाल र फासिवादी शासकले जनतालाई सधैँ धोका दिन नसकेका उदाहरणहरू प्रस्तुत गर्दै महासचिव विप्लवले जनमतसङ्ग्रहमा धोका भए विद्रोह र क्रान्ति गर्नु जनताको अधिकार रहेको पनि प्रस्ट पारे । जनता र पार्टीको शक्तिलाई एक बनाउनासाथ जस्तासुकै तानाशाह र षड्यन्त्रकारीहरू पनि परास्त हुने उनको विश्वास थियो ।

सरकारलाई तीनबुँदे सहमतिको उल्लङ्घन नगर्न चेतावनी

यसअघि शनिबार काभ्रेको बनेपामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको सातौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महासचिव विप्लवले सरकारले तीनबुँदे सहमति उल्लङ्घन गरेर गल्ती गरिरहेको बताएका छन् । महासचिव विप्लवले नेकपासँग गतवर्ष फागुन २१ गते भएको तीनबुँदे सहमति तत्कालीन सरकारले समेत पालना नगरेको र वर्तमान शेरहादुर देउवा नेतृत्वको सरकारले पनि उल्लङ्घन गरेको प्रस्ट पार्दै भने, ‘हिजो मात्र नेकपा इलामका तत्कालीन इन्जार्ज पुष्प कोइरालालाई अदालतले रिहा गरिसकेपछि पुनः पक्राउ गरेर सङ्खुवासभा लगिएकोलगायत देशैभरिका घटनाले सरकारले तीनबुँदे सहमतिको उल्लङ्घन गरेको पुष्टि भएको छ । यो राम्रो सङ्केत होइन ।’

महासचिव विप्लवले विराटनगर जुट मिलदेखि मजदुरले लगातार सङ्घर्ष गर्दै आएको तर अहिलेसम्म पनि अधिकार प्राप्त गर्न नसकेको बताए । उनले मजदुरले आफ्नो अधिकार प्राप्तिका लागि थप सङ्घर्ष गर्नु आवश्यक रहेकाले मजदुरको सङ्घर्षको नेतृत्व लिन आफ्नो पार्टी तयार भएको बताए ।

महासचिव विप्लवले आफ्नो पार्टीविरुद्ध सेना र प्रहरीलाई सरकारले भड्काउन खोजेको ठोकुवा गरे । उनले नेकपाबाट शान्तिसुरक्षामा थ्रेट छ भनी सेना र प्रहरीलाई अफवाह फैलाउन लगाइएको पनि प्रस्ट पारे । राष्ट्र र राष्ट्रियताको पक्षमा खडा भएको नेकपाको विपक्षमा नलाग्न उनले सेना र प्रहरीलाई आग्रह पनि गरे ।

कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले मजदुर सम्मेलन आफैँमा ऐतिहासिक रहेको र वर्तमान संसदीय व्यवस्थामा सबैभन्दा पीडित, अन्याय र ठगीमा मजदुर परेको बताए । उनले मजदुर आन्दोलन सही विचार र सही नीतिद्वारा निर्देशित हुनुपर्ने धारणा राख्दै पुँजीपतिहरूले जन्माइदिएका अभिजात वर्गीय पार्टीद्वारा सञ्चालित भएर मजदुरको हित र मुक्ति नहुने बताए । उनले सबै मजदुर एकताबद्ध भएर सङ्घर्षमा उत्रनुपर्ने प्रस्ट पार्दै मजदुर आन्दोलनमा आफ्नो पार्टीको साथ र सहयोग रहने बताए ।

प्रकाण्डले देश भयङ्कर सङ्कटमा रहेको उल्लेख गर्दै संसदीय व्यवस्था असफल भइसकेको ठोकुवा गरे । उनले संसदीय व्यवस्थाले आमजनतालाई आजित बनाएको ठोकुवा गर्दै भने, ‘संसदीय व्यवस्थाले नेपाली जनतालाई अन्याय, शोषण र अशान्ति मात्र दियो । भ्रष्टाचार र कमिसनको मात्रै खेल गरायो । विदेशीसँग दलाली मात्र गर्यो । आफ्नो सत्ता र कुर्सीका निम्ति असमान सन्धिसम्झौता गर्ने, राष्ट्र र जनतालाई दाउमा लगाउने कार्य मात्र गर्यो । यसको उदाहरणका लागि एमसीसी सम्झौता र दार्चुला तुइन घटनालाई लिन सकिन्छ ।’

प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था बदल्नुको विकल्प नभएको र वैज्ञानिक समाजवाद स्थापना गर्नु अनिवार्य भएको धारणा राखे । त्यसका निम्ति जनमतसङ्ग्रह नै एक मात्र सही विकल्प र सही नीति भएको उनको भनाइ थियो ।

महासङ्घको अध्यक्षमा थापा निर्वाचित

यसैबीच अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको सातौँ राष्ट्रिय सम्मेलनले विनोद थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । महासङ्घको उपाध्यक्षमा शिशिर थापा, महासचिवमा श्याम सेन्चुरी, सचिवमा डिल्ली ओली र कोषाध्यक्षमा लीलबहादुर बुढाथोकी निर्वाचित भएको महासङ्घले जनाएको छ । बनेपामा नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्यमा सुरु भएको सम्मेलन ३ दिनसम्म सञ्चालन भएको थियो । सम्मेलनमा नेकपा केन्द्रीय सदस्य तथा महासङ्घका फ्याक्सन इन्चार्ज चिरन पुन, पार्टीका केन्द्रीय सदस्य आधारलगायत अतिथिका रूपमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :