तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै चितवनमा विरोध प्रदर्शन

तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै चितवनमा विरोध प्रदर्शन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले राष्ट्रघाती एमसीसी सम्झौतका विरुद्ध र नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेकपाको केन्द्रीय कार्यक्रम अनुसार भरतपुरको चौबिसकोठीमा भएको विरोध प्रदर्शन पछिको विरोध सभामा बोल्दै नेकपा चितवनका विशेष कमिटी सदस्य उत्सवले राष्ट्रघाती अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता देशभक्त जनताको विरोधका बाबजुत पनि दलालहरूले पारित गर्न लागेको भन्दै आक्रोश व्यक्त गरे । उनले एमसीसी सम्झौता पारित भए देश भारत र अमेरिकाको क्रिडा स्थल बन्नुका साथै चीन विरोधी गतिविधि गर्ने क्षेत्र बन्ने र अन्तमा रणमैदानमा परिणत हुने भन्दै आफूहरूले कुनै पनि हालतमा पारिन हुन नदिने बताए ।

त्यसैगरी विरोधसभामा बोल्दै नेता उत्सवले नेकपा र सरकारबीच भएको तीनबुँदे सहमतिमा राज्य इमान्दार नभएको भन्दै दुःख व्यक्त गरे । उनले नेकपा तीन बुँदेमा प्रतिबद्ध रहेको र राज्यले सहमति कार्यान्वयन नगरे देशमा आन्दोलनको आँधीबेरी सल्कने चेतावनी दिए । नेकपाका नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्दा तत्काल खारेज गरि सबै राजबन्दीलाई यथाशिघ्र रिहाई गर्नुपर्ने नेता उत्सवको माग थियो । उनले जनताको चाहना अनुरुप जनमत संग्रहद्वारा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नु नै अहिलेको सहि विकल्प रहेको बताए । उत्सवले संसदीय व्यवस्था सबै हिसाबले पतन भइसकेको धारणा व्यक्त गरेका थिए । उनले भने– ‘दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गर्नु नै नेपाली श्रमिक जनताको चाहना हो ।’

नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, बुद्धिजीवी, व्यापार, व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रममा तीनबुँदे सहमति कार्यान्वयन गर !, झुटा मुद्दा खारेज गर !, सम्पूर्ण राजबन्दीलाई रिहाई गर !, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !, एकीकृत जनक्रान्ति जिन्दावाद !, वीर सहिदहरू लाल सलाम !, एमसीसी खारेज गर !, जनमतसङ्ग्रहको घोषणा गर ! लगायतका नाराहरू समेत लगाइएको थियो ।

गत फागुन २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो । तर राज्यले तीनबुँदे सहमति कार्यान्वयन गरेको छैन । नेकपाका थुप्रै नेताकार्यकर्ता अझैँ पनि जेल र हिरासतको जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :