नेकपा र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न माग गर्दै चितवनमा दबाबमूलक धर्ना

नेकपा र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न माग गर्दै चितवनमा दबाबमूलक धर्ना

चितवनः नेपाल कम्युनिस्ट पार्टी चितवनले नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भरतपुर दबाबमूलक धर्ना दिएको छ ।

धर्ना कार्यक्रमपछि भएको कोणसभामा बोल्दै नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद सापकोटाले तीन बुँदे सहमतिमा राज्य इमान्दार नभएको भन्दै दुख व्यक्त गरे । उनले नेकपा तीन बुँदेमा प्रतिबद्ध रहेको र राज्यले सहमति कार्यान्वयन नगरे देशमा आन्दोलनको आँधीबेहरी सल्कने चेतावनी दिए । नेकपाका नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्धा तत्काल खारेज गरि सबै राजबन्दीलाई यथाशिघ्र रिहाई गर्नुपर्ने सापकोटाको माग थियो ।

सापकोटाले जनताको चाहना अनुरुप जनमत संग्रहद्वारा वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नु नै अहिलेको सही विकल्प रहेको बताए । उनले संसदीय व्यवस्था सबै हिसाबले पतन भइसकेको धारणा व्यक्त गरेका थिए । उनले भने– ‘दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादको स्थापना गर्नु नै नेपाली श्रमिक जनताको चाहना हो ।’

नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, बुद्धिजीवी, व्यापार, व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायतको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रममा तीन बुँदे सहमति कार्यान्वयन गर, झुटा मुद्धा खारेज गर, सम्पूर्ण राजबन्दीलाई रिहाई गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वीर सहिदहरू लाल सलाम, एमसीसी खारेज गर, जनमत संग्रहको घोषणा गर लगायतका नाराहरू समेत लगाइएको थियो ।

गत फागुन २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच तीन बुँदे सहमति भएको थियो । तर राज्यले ३ बुँदे सहमति कार्यान्वयन गरेको छैन । नेकपाका थुप्रै नेताकार्यकर्ता अझै पनि जेल र हिरासतको जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :