नेकपा दाङद्वारा तीन बुँदे सहमति कार्यान्वयनका लागि धर्ना तथा कोणसभा

नेकपा दाङद्वारा तीन बुँदे सहमति कार्यान्वयनका लागि धर्ना तथा कोणसभा

दाङः नेपाल कम्युनिस्ट पार्टीले राज्यसँग गरेको ३ बुँदे सहमति कार्यान्वयनका लागि देशभर आन्दोलनका कार्यक्रम अन्तर्गत असोज १८ गते देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा कोणसभा सम्पन्न गरेको छ ।

नेकपा दाङले पनि ३ बुँदे सहमति कार्यान्वयन गर, सम्पूर्ण राजबन्दी रिहाइ गर र सम्पुर्ण मुद्धा खारेज गर लेखिएको ब्यानरसहित जिल्ला प्रशासन कार्यालय अगाडि करिब आधा घण्टा धर्ना पश्चात कोणसभा सम्पन्न गरेको हो । कोणसभालाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला कार्यालय सदस्य किरणले राज्यसँग सहमति भएको लामो समय बितिसक्दा पनि सहमतिलाई कार्यान्वयन गर्ने दिशातिर गम्भीर नबनेको भन्दै कडा आपत्ति प्रकट गरे । उनले भने, `केपी सरकार इमानदार भएन, देउवा पनि इमानदार नबने हामी घेरा तोड्छौँ ।` यो सहमति एउटा ऐतिहासिक सहमति हो, राज्य इमानदार भएन भने हामी जनतामा जान्छौँ,बिद्रोह गर्छौँ नेता किरणको भनाइ थियो ।

एक फरक प्रसंगमा नेता किरणले आफुहरु हिजो पनि शान्तिपूर्ण ढंगले राजनीतिक मागहरु राख्दा देउवाको सनकले जनयुद्ध गर्न बाध्य भएको र आज पनि आफुहरु तीन बुँदे सहमतिमार्फत शान्तिपूर्ण कार्यक्रम लिएर जनतामा जाँदाजाँदै राज्यले प्रतिबन्ध थोपरेको, निहत्था कार्यकर्ताहरुको हत्या गरेको र जनतामा भ्रम छर्दै आफ्नो पार्टी र जनताको न्यायपूर्ण आन्दोलन समाप्त पार्न खोजेको जिकिर गरे । राज्यले सम्पूर्ण राजबन्दी रिहाइ नगरे र नेताकार्यकर्ताहरु माथी लगाइएका सम्पूर्ण मुद्धाहरु खारेज नगरे देश फेरि युद्धको भुमरीमा फस्ने खतरा रहेको स्पष्ट पारेका थिए । नेकपाले सोमबार आन्दोलनका कार्यक्रम अन्तर्गत देशभरका जिल्ला प्रशासनमा धर्ना तथा कोणसभा कार्यक्रम गरेको छ । केन्द्रीय घोषित कार्यक्रम अनुसार असोज २० गते देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :