मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीमा ईश्वरी तरामु मगर

मगर मुक्ति मोर्चा नेपाल रुपन्देहीमा ईश्वरी तरामु मगर

बुटवल : मगर मुक्ति मोर्चा नेपाल जिल्ला समिति रुपन्देहीको प्रथम भेला सम्पन्न भएको छ । आइतबार जिल्लाको बुटवलस्थित बेलबासमा सम्पन्न भेलाले ईश्वरी तरामु मगरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । जसको उपाध्यक्षमा बलमान पुन मगर, सचिवमा हुमकुमारी राना मगर, सह–सचिवमा हिरा पुन मगर, कोषाध्यक्षमा दलबहादुर बुढा मगर रहेका छन् ।

नेकपाका रुपन्देही जिल्ला सेक्रेटरी तथा भेलाका प्रमुख अतिथि विश्वासले दश वर्षे जनयुद्धमा मगर समुदायले ठूलो मात्रामा बलिदान गरेको इतिहास साक्षी रहेको तर त्यो इतिहासलाई दलालहरूले बेचेर खाएको बताए । उनले मगर जातिभित्र उत्पीडनमा परेका समुदाय, श्रमिक जनता एकताबद्ध भएर वर्तमान दलाल संसदीय व्यवस्थाविरुद्ध कठोर सङ्घर्ष गर्नुपर्ने बताए ।

विश्वासले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा, भ्रष्टाचारी, कालोबजारी गर्ने दलाल र माफियाहरूलाई कारवाही गर्दा राज्यले आफ्नो पार्टीमाथि दुई वर्ष प्रतिबन्ध लगाएको आरोप लगाए । उनले त्यो प्रतिबन्ध नेपाली श्रमिक जनता र नागरिकको हितविरुद्ध रहेको बताउँदै एउटा नयाँ परिस्थितिमा राज्यसँग तीनबुँदे सहमति पश्चात् नयाँ एजेण्डा र कार्यक्रमका साथ जनताको माँझ आएको बताए । उनले आफ्नो पार्टीले विकास गरेको नयाँ कार्यनीतिको बारेमा स्पष्ट पारेका थिए । दलाल पुँजीवादी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्ने र त्यसको छिनोफानो जनमतसङ्ग्रहद्वारा नेपाली श्रमिक जनताले गर्ने उनले बताए । विश्वासले सडक र विद्युत परियोजनाको नाउँमा अमेरिकाले नेपालमा जर्बरजस्त एमसीसी ल्याउन खोजेको बताउँदै त्यसको विरुद्ध आफ्नो पार्टीले काठमाडौँमा बृहत जनप्रदर्शन गरेको समेत बताए । उनले इतिहासले नेपाली श्रमिक जनताको काँधमा महत्वपूर्ण जिम्मेवारी सुम्पिदिएको र त्यसको उपयोग वैज्ञानिक ढङ्गले गर्नुपर्ने बताए । उनले आफूहरू बलिदान गर्न तयार रहेको तर क्रान्तिको कार्यभार पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय महासचिव इन्द्रबहादुर घर्ती मगरले मगर समुदायको बारेमा संक्षिप्त व्याख्या र विश्लेषण गर्दै उत्पीडित मगर समुदायको वैज्ञानिक समाधान वैज्ञानिक समाजवादी राज्यसत्ताले मात्र दिने बताए । उनले मगर समुदायमा प्रचलित खराब प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने र निमित्यान्न पार्नुपर्ने धारणा व्यक्त गरेका थिए । नेपाल एकीकरण र दश वर्षे जनयुद्धको समयमा मगर समुदायले ठूलो बलिदानी खेप्नुपरेको बताउँदै उनले राज्यले मगर भाषाको संरक्षण र सम्बोधन गरेको नगरेको बताए । दलाल संसदीय व्यवस्थाबाट वर्गीय÷जातीय उत्पीडनको अन्त्य सम्भव नरहेको भन्दै उनले त्यसको अन्त्य वैज्ञानिक समाजवादले गर्ने बताए । मगरले वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको लागि व्यापक र गहन छलफल, अन्तक्रिया र बहस गरेर वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताए ।

सङ्गठनका लुम्बिनी ब्युरो संयोजक हरिप्रसाद घर्ती मगरले सङ्गठनको बारेमा संक्षिप्त चर्चा गर्दै सम्पूर्ण उत्पीडित मगर समुदाय प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध सङ्घर्ष गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए । उनले मगर मुक्तिका लागि दश वर्षे जनयुद्धमा होमिएका र त्यसबाट स्थापित नेताहरू संसदीय व्यवस्थामा गएर विसर्जन भएको धारणा व्यक्त गरेका थिए । उनले सङ्गठनको चौठो राष्ट्रिय सम्मेलन मङ्सिर ११ र १२ गते म्याग्दीमा हुने र त्यसको व्यापक तयारीका लागि देशभर जिल्ला भेला र सम्मेलन गरिरहेको बताए ।

कार्यक्रममा युवा सङ्गठन नेपालका जिल्ला उपाध्यक्ष भक्त थापा मगरले शुभकामना मन्तव्य, सङ्गठनका लुम्बिनी ब्युरो संयोजक हरिप्रसाद घर्ती मगरले प्यानल प्रस्ताव पेस गरेका थिए भने नेकपाका जिल्ला सदस्य तथा सैनामैना सेक्रेटरी वर्षाले नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए ।

नेकपाका जिल्ला स्तरीय नेताकार्यकर्ता, जबस÷मोर्चाका प्रमुख, पत्रकार, विभिन्न मगर समुदायको व्यापक उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता सङ्गठनका जिल्ला संयोजक ईश्वरी तरामु मगर र सञ्चालन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :