वैज्ञानिक समाजवादी शिक्षाप्रणाली लागू गर्नु अबको हाम्रो कार्यभार हो

वैज्ञानिक समाजवादी शिक्षाप्रणाली लागू गर्नु अबको हाम्रो कार्यभार हो

रातो खबरमा तपाईंलाई स्वागत छ । साथै अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । तपाईंको नेतृत्वको सिङ्गो ‘टिम’ लाई रातो खबरका तर्फबाट सम्मेलन सफलताको शुभकामना !

सर्वप्रथम यहाँ र रातो खबर परिवारलाई पनि धेरैधेरै धन्यवाद । हाम्रो सङ्गठनको २२ औँ राष्ट्रिय सम्मेलन आज हामी सुरु गर्दैछौँ । नयाँ चयन हुने सिङ्गो नेतृत्वको टिमलाई रातो खबर परिवारका तर्फबाट शुभकामना भन्नुभएकोमा तपाईंलाई पुनः धन्यवाद छ ।

सङ्गठनलाई २२ औँ राष्ट्रिय सम्मेलनसम्म ल्याइपुर्याउनुभयो, होइन ? कसरी गर्नुहुन्छ आफैँले आफ्नो कार्यकालको समीक्षा ?

हो, हाम्रो २१ औँ राष्ट्रिय सम्मेलन २०७४ साल फागुन २७–३० मा भएको थियो । २१ औँ राष्ट्रिय सम्मेलनदेखि २२ औँ राष्ट्रिय सम्मेलनको सँघारमा आइपुग्दा हामीले हाम्रो सङ्गठन र हाम्रो पार्टीको विचार, मूल्य, मान्यता र आदर्शलाई दह्रोसँग पकड्दै नेपालका लाखौँ विद्यार्थी तथा जनताका पक्षमा बलिदानीपूर्ण सङ्घर्ष गर्यो । नेपालको शिक्षा क्षेत्रमा देखिएका तमाम समस्याहरूलाई हामीले विभिन्न सङ्घर्षहरूमार्फत उठान गर्यौँ । नेपालको राजनीतिक परिस्थितिमा पनि जनपक्षीय कामहरूलाई हामीले सधैँभरि प्राथमिकतामा राख्यौँ । हाम्रो देशको राष्ट्रिय स्वाधीनता, जनजीविका र जनतन्त्रका पक्षमा हामीले आवाज बुलन्द बनायौँ । तत्कालीन फासिवादी सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएसँगै हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) माथि पनि प्रतिबन्ध थोपरियो । नेपालका लाखौँ विद्यार्थीका हक र अधिकारका लागि गौरवपूर्ण विरासत बोकेको हाम्रो सङ्गठनले फासिवादी र सरकारी बर्बरताको डटेर सामना गर्यो । हामीले प्रतिबन्धको खरो प्रतिरोध र प्रतिवाद गर्यौँ । नेपालका विद्यार्थी सङ्गठनहरूलाई आमशैक्षिक तथा राजनीतिक विषयवस्तुहरूमा केन्द्रित भएर संयुक्त विद्यार्थी आन्दोलनको कुशलतापूर्वक नेतृत्व ग¥यौँ । यसरी हेर्दा हाम्रो यो कार्यकाल समग्र केन्द्रीय समितिको मातहतमा रहेर सिङ्गो सङ्गठनले देशव्यापी रूपमा गरेको सङ्घर्षले हाम्रो सङ्गठनलाई गौरवपूर्ण बनाएको समीक्षा गर्न चाहन्छु ।

आफ्नो कार्यकालमा उठाउनुपर्ने/समाधान गर्नुपर्ने शैक्षिक मुद्दाहरूमा ध्यान दिन नसकेको/नपाएको, सङ्गठनलाई आन्दोलनको मागअनुसार विकास, विस्तार र प्रशिक्षित गर्न नसकेको वा आफ्ना सीमाहरू रहेको अनुभूति त गर्नुभएको छैन नि ?

यो कार्यकालमा हामीले थुप्रै शैक्षिक मुद्दाहरूको उठान गर्यौँ र शैक्षिक मुद्दाहरूको उठान मात्र भएन, ती मागहरू सम्बोधन गर्नका लागि हामीले विभिन्न सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्यौँ । नेपालको शिक्षाप्रणालीका समस्याहरूलाई समाधान दिनका लागि हामीले निकै प्रयत्नहरू गर्यौँ । यसबीचमा विद्यालय शिक्षा, विश्वविद्यालय शिक्षा, प्राविधिक शिक्षालगायत थुप्रै विषयवस्तुहरूमा हामीले सङ्घर्षहरूलाई केन्द्रित गर्यौँ । हाम्रो सङ्गठनले उठान गरेको शैक्षिक आन्दोलन निकै बलशाली साबित भयो र नेपाल सरकार शिक्षा मन्त्रालयसँग २०७५ असार १८ गते राती १ बजे ९ बुँदामा सहमति भयो । हाम्रा थुप्रै क्षेत्रीय समन्वय समितिहरूले मातहतका शैक्षिक निकायहरूमा आन्दोलनको नेतृत्व गरे । जिल्ला र एकाइ समितिहरू पनि शैक्षिक विषयहरूलाई लिएर आन्दोलनमा उत्रिए । नेपालका शैक्षिक संस्थाहरूले गरेको बदमासी, विद्यार्थीका जायज मागहरूका सन्दर्भमा हामीले थुप्रै सहमतिहरू गरेका छौँ । हामीसँग गरेको सहमति सरकारले लागू गर्ने इच्छाशक्ति देखाएन जसले गर्दा आन्दोलनले निष्कर्ष दिन सकिरहेको छैन । हामीले शैक्षिक आन्दोलनमा पक्कै पनि केही सीमाहरूको महसुस गरेका छौँ । राज्यको चरित्र बुझेर हामीले आन्दोलनलाई सशक्त बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

नेपालको शैक्षिक आन्दोलनमा क्रन्तिकारी विद्यार्थी सङ्गठनले उठाउँदै आएका, उठाउँदै र छोड्दै गरेका अनि छोड्नै नहुने मुद्दाका विषयमा केही चर्चा गरिदिनुस् न ! किनकि प्रायः नेतृत्वलाई समस्याहरू उठाएर बीचैमा सम्झौतामा टुङ्ग्याइदिने गरेकालगायत आरोपहरू लाग्दै आएका छन् !

नेपालको शैक्षिक आन्दोलनमा अखिल क्रान्तिकारीले विगत लामो समयदेखि थुप्रै विषयहरू उठान गर्दै आएको छ । नेपालमा भएको शिक्षाको निजीकरण, व्यापारीकरण आदिको विरोध गर्दै आएका छौँ । चर्को शुल्क असुली, छात्रवृत्तिमा अनियमितता, शैक्षिक संस्थाहरूमा हुने भ्रष्टाचार, नातावाद, कृपावाद आदिको हामीले विरोध गर्दै आएका छौँ । यी मुद्दाहरू हामीले बीचैमा नटुङ्ग्याईकन छोड्नु हुँदैन ।

साझा सवालहरूमा पनि एकल, क्रान्तिकारी वा कम्युनिस्ट निकट भनिने, पार्टीले संयुक्त मोर्चा बनाएका विद्यार्थी सङ्गठनहरूसँग पनि धारिलो आन्दोलन उठाउन र टिक्न सकिएन भन्ने लाग्छ कि लाग्दैन ?

नेपालको विशिष्टतालाई अध्ययन गर्दा संयुक्त विद्यार्थी आन्दोलनको उठान गर्नुपर्ने देखिन्छ । यो कार्यकालमा हामीले सबभन्दा महत्वपूर्ण ढङ्गले संयुक्त विद्यार्थी आन्दोलनको कुशलतापूर्वक नेतृत्व गर्यौँ । नेपालको विद्यार्थी आन्दोलनमा थुप्रै समस्याहरू नभएका होइनन् तर हामीले ती समस्याको पहिचान गरी सकारात्मक ढङ्गले एकताबद्ध भएर अगाडि बढ्नुपर्दछ । नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनमा संयुक्त विद्यार्थी आन्दोलनको निकै ठूलो भूमिका रहनेछ । गत २१ औँ राष्ट्रिय सम्मेलनदेखि नै हामीले संयुक्त विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आयौँ र आगामी दिनहरूमा पनि यसको कुशलतापूर्वक नेतृत्व गर्नेछौँ ।

नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका साथै भ्रष्टाचार, साम्राज्यवादी हस्तक्षेपविरुद्धको आन्दोलनमा अखिल क्रान्तिकारीको योगदान कस्तो छ पछिल्लो अवस्थामा ?

नेपालको राष्ट्रियताका सम्बन्धमा सबैभन्दा बढी खरो तरिकाले सङ्घर्षमा उत्रिएको नेपालको सबैभन्दा जुझारु र सशक्त सङ्गठन हाम्रो हो । नेपाल–भारत सिमानामा नेपालको इतिहासमा पहिलोपटक हामीले काँडेतार लगायौँ । नेपालका विभिन्न ठाउँहरूमा भारतीय साम्राज्यवादले सिमाना मिचेको प्रति हाम्रा आवाजहरू सशक्त ढङ्गले बुलन्द पार्यौँ । जनजीविका र जनतन्त्रका विषयमा हामीले थुप्रै प्रदर्शन र आन्दोलनहरू सञ्चालन गरेका छौँ ।

‘हामीले भनेको वैज्ञानिक शिक्षाप्रणाली सामान, निःशुल्क, व्यावहारिक, विज्ञानप्रविधिमा आधारित राष्ट्र र जनताको आवश्यकतालाई सीधा सम्बोधन गर्ने, देशको प्राकृतिक साधन, स्रोत र मानवीय संसाधनलाई एकाकार गर्ने वा जोड्ने शिक्षाप्रणाली हो । हामी यो लागू गर्छौं ।’

२२ औँ राष्ट्रिय सम्मेलनका प्रमुख विषय, समस्या, मद्दा, एजेन्डा वा कार्यभार केके छन् ? कसरी सामना वा समाधान गर्ने योजना र कार्यक्रमहरू आँकलन गर्नुभएको छ ?

२२ औँ राष्ट्रिय सम्मेलनका मुख्य केही महत्वपूर्ण कार्यभारहरू छन् । जस्तो कि हामीले हाम्रो इतिहासको वस्तुनिष्ठ समीक्षा गर्नेछौँ, कम्युनिस्ट क्रान्तिकारी विचार र दर्शनलाई आत्मसात गर्नेछौँ, आगामी शैक्षिक कार्यदिशा निर्माण गर्नेछौँ र आगामी आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन कुशल नेतृत्वको टिम चयन गर्नेछौँ । यो नै हाम्रो २२ औँ राष्ट्रिय सम्मेलनको कार्यभार हो ।

नेपालको वामपन्थी राजनीतिक आन्दोलन र विद्यार्थी आन्दोलनका बीच अत्यन्त घनिष्ट सम्बन्ध रहेको पाइन्छ । विद्यमान राजनीतिक आन्दोलन र त्यसमा विद्यार्थी सङ्गठनको भूमिका हेर्दा चित्त बुझाउने ठाउँ छ ? यसका सीमाहरूका बारेमा केही चर्चा गरौँ न ।

यहाँले भन्नुभएको जस्तो नेपालको वामपन्थी राजनीतिक र विद्यार्थी आन्दोलनमा अत्यन्तै घनिष्ट सम्बन्ध रहेको छ । नेपालमा मात्र होइन, संसारभरि नै कुनै पनि राजनीतिक आन्दोलनमा विद्यार्थी आन्दोलन त्यसको घनिष्ट अङ्गका रूपमा रहँदै आएको कुरा जगजाहेरै छ । नेपालको सन्दर्भमा पनि विगतका विभिन्न राजनीतिक आन्दोलनमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण निर्णायक भूमिका रहेको पाइन्छ । विगतलाई फर्केर हेर्दा नेपालको राणा शासनविरुद्धको आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, २०४६/०४७ सालपछि राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध विद्यार्थी आन्दोलनले निर्णायक भूमिका निर्वाह गरे । यसर्थ विगतमा भएका जति पनि राजनीतिक आन्दोलनहरू छन् त्यसको अग्रभागमा रहेर विद्यार्थी आन्दोलनले आफ्ना कर्तव्य र भूमिका निर्वाह गरेको थियो । जहाँसम्म विद्यमान राजनीतिक आन्दोलन र विद्यार्थी सङ्गठनहरूको सम्बन्धको कुरा छ यो धेरै नै महत्वपूर्ण रहेको छ । यसरी हेर्दा विद्यमान नेपालको राजनीतिक अवस्था वा दलाल संसदीय व्यवस्थाका विरुद्ध विद्यार्थी सङ्गठनको भूमिका जुझारु, सशक्त र निर्णायक हुने देखिन्छ र हुन्छ । हाम्रो देशमा जति पनि विकृति, विसङ्गतिहरू जस्तै : भ्रष्टाचारलगायत विषयहरू छन् ती सबै विषयहरूलाई हेर्दा विद्यार्थी सङ्गठनको भूमिका अझै सशक्त बनाउनुपर्ने देखिन्छ । नेपालको राज्यन्त्रहरू जस्तैः व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका, शिक्षा, स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा आन्दोलन सशक्त बनाउनुपर्ने देखिन्छ । अहिले देशमा भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी र दलालीले राष्ट्र र जनताको हालत चौपट बनाएको छ । जनताका प्रतिनिधि भन्नेहरू आफ्नो निजी र निहित स्वार्थमा लिप्त भएका छन् । राष्ट्र र जनतालाई दुःख परेको बेला उनीहरूको दुःख र पीडालाई सम्बोधन गर्ने न राज्य छ, न त राज्यन्त्रहरूले त्यसअनुसारको काम गरिराखेका छन् । नेपालको राष्ट्रिय स्वाधीनतालगायत विषयमा विद्यार्थी सङ्गठनले सशक्त ढङ्गले आफ्ना कामहरूलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ । नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थी सङ्गठनले निर्वाह गरेको भूमिका ज्यादै नै महत्वपूर्ण छ । तर यो भूमिकालाई अझै निर्णायक र सशक्त बनाउनुपर्ने देखिन्छ । यसरी हेर्दा नेपालको विद्यमान राजनीतिक आन्दोलनमा विद्यार्थी सङ्गठनले आपूmलाई दृढतापूर्वक उभ्याउनुपर्ने आवश्यकता रहेको छ । विभिन्न सीमाहरू हुँदाहुँदै नेपालको राजनीतिक आन्दोलनमा विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहेको कुरा सबै विद्यार्थी सङ्गठनहरूले मनन गर्न जरुरी छ ।

नेपाल कम्युनिस्ट पार्टीले वर्तमान व्यवस्थालाई दलाल पुँजीवादी व्यवस्था ठहर गर्दै यसलाई प्रतिस्थापन गरी वैज्ञानिक समाजवादी व्यवस्था कायम गर्ने नारा र कार्यक्रम अघि सारेको छ । यसमा विद्यार्थी सङ्गठनको दृष्टिकोण, सम्बन्ध र भूमिका कस्तो रहन्छ ?

हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई अन्त्य गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न आफ्ना नीति, योजना र कार्यक्रमहरुलाई अगाडि सारेको छ । यस सन्दर्भमा हाम्रो प्रस्ट दृष्टिकोण के छ भने हाम्रो पार्टीले अगाडि सारेको नारा र कार्यक्रमले मात्रै राष्ट्र र जनताको हित गर्नेछ । यसर्थ पार्टी लिएको राजनीतिक कार्यक्रममा हाम्रो विद्यार्थी सङ्गठनको महत्वपूर्ण र निर्णायक भूमिका रहन्छ । पार्टीले घोषणा गरेका राजनीतिक आन्दोलनलाई अग्रभाग्य मोर्चामा रहेर हामीले हाम्रो भूमिकालाई सुनिश्चित गर्दैछौँ । नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्था नै राष्ट्र र जनताको उत्पीडन र दुःखको कारण हो । यसकारण हाम्रो विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले पार्टीको लाइनलाई दह्रोसँग फकड्नेछ र नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि विगतमा जस्तै सङ्घर्षको नेतृत्व गर्नेछ ।

नेपालमा वैज्ञानिक समाजवादी शिक्षाप्रणाली कस्तो हुनेछ ? अन्यत्रका अनुभव कस्ता छन् ? यहाँ केही खाका कोर्नुभएको छ ? शिक्षामा रहेको असमानताको खाडल कसरी पुर्नुहुन्छ ? कि जनवादी शिक्षाको नाराजस्तै (बुर्जुवाहरूको भाषामा अमूर्त, जटिल र केही जार्गनहरूले भरिएको) आकाशको फल त साबित हुनेछैन ?

नेपालमा विद्यमान शिक्षाप्रणाली दलाल पुँजीवादमा आधारित भएकाले यो शिक्षाले राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन । यसकारण अब विलम्ब नगरीकन हामीले वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको बहस र यसको कार्यान्वयनलाई तीव्र गतिमा अगाडि बढाउनु पर्नेछ । हामीले भनेको वैज्ञानिक शिक्षाप्रणाली सामान, निःशुल्क, व्यावहारिक, विज्ञानप्रविधिमा आधारित राष्ट्र र जनताको आवश्यकतालाई सीधा सम्बोधन गर्ने, देशको प्राकृतिक साधन, स्रोत र मानवीय संसाधनलाई एकाकार गर्ने वा जोड्ने शिक्षाप्रणाली हो । यसर्थ विगतमा भनेजस्तो अमूर्त, जटिल र विभिन्न जार्गनहरूले लेपन गरेर हामीले वैज्ञानिक समाजवादी शिक्षाप्रणालीको बहस गरेका होइनौँ । वैज्ञानिक समाजवादी शिक्षाप्रणालीका बारेमा हामीले थुप्रै बहसहरू चलाएका छौँ र नेपालको शिक्षाप्रणालीको निर्विकल्पका रूपमा यसलाई अगाडि सारेका छौँ ।

अन्त्यमा, अब २२ औँ राष्ट्रिय सम्मेलनबाट चयन हुँदै गरेको नयाँ नेतृत्वलाई के सन्देश÷सुझाव दिनुहुन्छ आगामी आन्दोलन र आफूले चाहेर पनि गर्न नसकेका, नभ्याएका, नजानेका विषयहरूमा ?

हाम्रो सङ्गठनको ऐतिहासिक २२ औँ राष्ट्रिय सम्मेलन हाम्रो पार्टीका आदरणीय महासचिव कमरेड विप्लवले पोखरामा उद्घाटन गर्दै हुनुहुन्छ । खुला सभाका रूपमा उद्घाटन गरिने उक्त कार्यक्रममा दसौँ हजार विद्यार्थी, प्रतिनिधि पर्यवेक्षक र आमजनसमुदायको उत्साहपूर्ण सहभागिता रहनेछ । नेपालका विद्यार्थी आन्दोलनका नेताहरूको, शिक्षाविज्ञहरूको, राजनीतिककर्मीहरूको र नेपालको अग्रगामी रूपान्तरणमा विशिष्ट भूमिका निर्वाह गरेका व्यक्तिहरूको सहभागिता रहनेछ । यसर्थ हाम्रो २२ औँ राष्ट्रिय सम्मेलन ऐतिहासिक र क्रमभङ्गताको सम्मेलन हुनेछ । यस सम्मेलनबाट निर्वाचित हुने नयाँ नेतृत्वले नै अगामी विद्यार्थी आन्दोलनलाई सशक्त र प्रभावकारी ढङ्गले अगाडि बढाउनेछ । आजसम्म विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिहरूको आन्दोलनलाई संस्थागत गर्दै नेपालका लाखौँ युवा विद्यार्थीको शैक्षिक अधिकारका लागि बलिदानीपूर्ण सङ्घर्ष गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । यो ऐतिहासिक कार्यभार हामी पूरा गर्नेछौँ । धन्यवाद !

प्रस्तुति : अशोक सुवेदी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :