नेकपाको नवौँ महाधिवेशन आगामी फागुनमा

एकीकृत जनक्रान्तिको कार्यदिशा जनतामा लैजान महासचिव विप्लवको विशेष निर्देशन

नेकपाको नवौँ महाधिवेशन आगामी फागुनमा

बन्दीपुर (तनहुँ) : आगामी फागुनमा पार्टीको नवाैँ महाधिवेशन गर्नेलगायत महत्वपूर्ण निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टीको ११ औँ पूर्ण बैठक तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ ।

करिब ३ वर्ष लामो सरकारी प्रतिबन्ध बेहोरेपछि २ जना केन्द्रीय सदस्यबाहेक सबैको उपस्थितिमा पहिलोपटक सम्पन्न एघारौँ बैठकले राजनीतिक, वैचारिक र विचारधारात्मक रूपले पनि व्यापक बहस र छलफल गरेको छ ।

नेकपाको उक्त बैठकले आगामी फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा विशाल जनसभा तथा जनप्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै पार्टी निकट सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेला/सम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ । महाधिवेशनको तयारीका लागि पार्टीका आधारभूत तहदेखि जिल्लासम्म सबै तहका सम्मेलनहरू गर्ने बैठकको निर्णय छ ।

केन्द्रीय समितिको बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमतसङ्ग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध र एकताबद्ध गर्दै जनमतसङ्ग्रहका लागि अभियान सञ्चालन गर्ने’ राजनीतिक निर्णय गरेको छ । यस्तै सर्वाधिक चर्चा र विवादमा रहेको राष्ट्रघाती एमसीसीविरोधी सबै शक्तिहरूसँग सहकार्य गर्दै नेपालबाट एमसीसी खारेज नहुँदासम्म एमसीसीविरोधीसँगको सहकार्यलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा आन्दोलन अघि बढाउनुका साथै भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध सङ्घर्ष गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै सरकारद्वारा पार्टीमाथि प्रतिबन्ध लगाइएपछि भत्किएका साङ्गठनिक संरचनाहरूलाई पुनर्संरचित गर्न देशव्यापी सङ्गठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा पार्टी कार्यदिशाको व्याख्या गर्दै पार्टी महासचिव विप्लवले तेस्रो अन्तर्राष्ट्रिय, नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनका सन्दर्भमा नयाँ संश्लेषण गर्नका लागि आफ्नो पार्टी लागिपरेको बताए । साथै उनले नेपाली जनताका सबैखाले समस्याहरूको समाधान गर्ने तरिका जनमतसङ्ग्रह भएको भन्दै उक्त विषयमा सबै शक्तिहरूसँग सहकार्य र एकाकार भएर अघि बढ्नुपर्ने पनि बताए । १० बर्से नेपाली जनयुद्धले बाँकी छोडेका अधुरा कार्यभार पूरा गर्ने जिम्मा आफ्नो पार्टीको काँधमा आएको भन्दै विप्लवले पार्टी नेताहरूलाई एकीकृत जनक्रान्तिको कार्यदिशा जनतामा लिएर जान विशेष निर्देशन दिएका छन् ।

बैठकले पार्टी महासचिव विप्लवले पेस गरेको राजनीतिक दस्ताबेज व्यापक छलफल र आवश्यक परिमार्जनसहित पारित गरेको छ । बैठकमा सबै केन्द्रीय सदस्यले आआफ्नो कार्यक्षेत्रको रिपोर्टिङ र धारणा राखेका थिए । केन्द्रीय समितिको बैठकअगाडि २ दिनसम्म चलेको सचिवालयको बैठकमा महासचिव विप्लवले बैठकका लागि प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनउपर व्यापक बहस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :