जनपत्रकार संगठन भक्तपुरको भेला सम्पन्न, अध्यक्षमा रौले

जनपत्रकार संगठन भक्तपुरको भेला सम्पन्न, अध्यक्षमा रौले

काठमाडौँः जनपत्रकार संगठन नेपाल भक्तपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । नयाँ थिमी भक्तपुरमा सम्पन्न भेलाले नरेन्द्र रौलेको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

फ्रण्डलाइन नेपालका सम्पादक रौले विगत १५ वर्षदेखि व्यवसायिक पत्रकारितामा क्रियाशील छन् । जनपत्रकार संगठनको उपाध्यक्षमा लक्ष्मण लम्साल, सचिवमा अरुण ओली, कोषध्यक्षमा प्रकाश महतरा निर्विरोध निर्वाचित भएका छन् ।

भेलालाई सम्बोधन गर्दै भेलाकी प्रमुख अतिथि तथा जनपत्रकार संगठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिकी सदस्य जानकी चौधरीले जनपत्रकारहरु सधैँ जनताको पक्षमा सत्यतथ्य सूचना सम्प्रेषण गर्नुका साथै राष्ट्रियता, जनसरोकारका विषयलाई प्राथमिकता दिएर कलम चलाउनुपर्ने बताइन् । उनले भनिन्, नागरिकलाई बलियो बनाउन, समाजमा परिवर्तन र राज्यको मनपरी रोक्ने काम पत्रकारले गर्नुपर्छ तर पछिल्लो अवस्थामा कमाइ खाने थलोको रुपमा पत्रकारिता हो भन्ने जस्तो विकृत हुँदै गइरहेको भन्दै यसलाई सच्याउनुपर्ने बताइन् । ‘मन्त्रीको प्रेस सल्लाहकार भएको छ, पालिकामा अध्यक्ष वा मेयरको सल्लाहकार भएको छ । के ती पत्रकारले जनताका पक्षमा कलम चलाउँछन् ?’ भेलालाई सम्बोधन गर्दै चौधरीले भनिन्, ‘पत्रकारलाई प्रलोभनमा पारेर भ्रष्टाचारलाई बढावा दिएको भन्दै जनपत्रकारहरुले त्यसको प्रतिकार गर्दै सत्यतथ्य समाचारहरु जनताको माझमा ल्याउने कार्यभार रहेको छ ।’

भेलालाई सम्बोधन गर्दै नेकपा कम्युनिस्ट पार्टी भक्तपुरका सेक्रेटरी विजयले भक्तपुरमा भएका विकृति विसंगतिहरुको भण्डाफोर गर्न पत्रकारहरु उपस्थित पत्रकारहरुलाई आग्रह गरे । ‘हामीसँग थुप्रै प्रमाणहरु छन् । तपाईहरु समाचार लेख्ने आँट गर्नुहोस् ।’ विजयले भने, ‘हामीसँग भएका प्रमाणहरु तपाईलाई उपलब्ध गराउछौँ ।’

भक्तपुरमा संसदीय राजनीतिका कुरुप पात्रहरु पनि रहेको भन्दै त्यस्ता पात्रहरुलाई ठेगान लगाउन पत्रकार संगठन तयार हुनपर्ने उनको भनाई थियो । ‘सांसद अपहरणदेखि गुण्डागर्दीमा संलग्न व्यक्तिहरुको बसोबास भएको क्षेत्र हो यो । संसदीय राजनीतिले गर्दा यस्ता पात्रहरु जन्मिरहन्छन् । त्यही भएर हामी व्यवस्था परिवर्तनको आन्दोलनमा छौँ । पत्रकारहरुको कलम समाजवादी आन्दोलनका लागि पनि चलोस् ।’

कार्यक्रममा बोल्दै नेकपा जनसरकार प्रमुख नविन विष्टले प्रतिक्रियावादी तत्वहरुले भ्रामक समाचारहरु सम्प्रेषण गर्दै भ्रम छरेको भन्दै जनपत्रकार संगठन त्यसबाट सचेत हुनपर्ने बताए । ‘केही वर्ष पहिला पत्रकारहरु दिनभरी काम गर्ने र बेलुवा भारतीय दुतावासमा गएर भौचरमा हस्ताक्षर गर्दै पैसा बुझ्ने गरेका थिए ।’ उनले भने, ‘जनपत्रकारहरुले त्यो लोभ नगर्नुहोला । उसले तपाईलाई मात्र किनेको होइन तपाईको स्वाभिमानलाई समेत खरिद गरेको हो ।’

पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापतिले राज्य निकै कठोर भएर पत्रकारका विरुद्धमा उत्रिएको भन्दै जिल्लादेखि केन्द्रसम्म पत्रकारले संघर्ष गर्ने बेला आएको बताए । ‘संघिय संसदमा पत्रकार विरोधी विधेयकहरु दर्ता भएका छन्, विभिन्न प्रदेशमा प्रत्रकारलाई हतकडी लगाउन र समाचार लेखेकै भरमा लाखौँ जरिवाना तिराउने गरी विधेयक ल्याएको छ । त्यसको सशक्त प्रतिकार गर्नु पर्छ ।’ उनले भने, ‘त्यसका लागि जनपत्रकार संगठन डटेर लाग्ने अपेक्षा पत्रकार महासंघको छ ।’

नेकपा पत्रकार महासंघको भक्तपुर शाखा सचिव तथा प्रेस संगठन नेपाल भक्तपुरका अध्यक्ष संिजव शुभचिन्तकले पत्रकारलाई सरकारले सबैभन्दा ठूलो सत्रु देखेको बताए । ‘सरकारलाई पत्रकार तर्साएर तर्सिन्छन् भन्ने लागेको होला । यो भ्रम हो ।’ उनले भने, ‘पन्चायती व्यवस्थामा नढलेको कलम, लोकतन्तमा कसरी ढल्छ ? तर्साउन नखोजे हुन्छ, कानुनभन्दा प्रेस धेरै माथि छ । हेक्का होस् ।’

भेला आयोजक समितिका संयोग शोभराज बरालले भेलाको अध्यक्षता गरेका थिए । उनले पत्रकार महासंघका प्रतिनिधिहरुलाई जनपत्रकार संगठनलाई पनि भक्तपुरमा सशक्त संगठनका रुपमा बुझ्न आग्रेह गरे । ‘श्रमजीवीहरुको आवाज बुलन्द गर्ने जनपक्षीय पत्रकारहरुको साझा संगठन हो जनपत्रकार । श्रमजीवीका आवाज बुलन्द पारेकै भरमा हाम्रा धेरै साथीहरु पक्राउ पर्नुभएको छ ।’ उनले भने, ‘हाम्रो पक्षमा बोलिदिने, ओकालत गरिदिने काम महासंघबाट होस् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :