युवा सङ्गठन नेपाल म्याग्दीले जिल्ला प्रशासनलाई बुझायो ज्ञापनपत्र

युवा सङ्गठन नेपाल म्याग्दीले जिल्ला प्रशासनलाई बुझायो ज्ञापनपत्र

म्याग्दी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल म्याग्दीले राज्यसँग गरिएको तीनबुंँदे सहमतिको कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई ज्ञापनपत्र बुझाएको छ । राज्यले सहमतिलाई कार्यान्वयन नगरेकोले कार्यान्वयनको माग गर्दै बुधबार ज्ञापनपत्र बुझाइएको हो ।

युवा सङ्गठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा ज्ञापनपत्र बुझाइएको हो । नेकपा धौलागिरी इन्चार्ज इन्द्र बिक्रम साउँदको नेतृत्वमा युवा सङ्गठन नेपाल म्याग्दीका अध्यक्ष्य नवीन विश्वकर्माले म्याग्दी जिल्ला प्रशासन प्रमुख गणेशबहादुर अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

राज्य आफैँले प्रतिबन्धित बनाएको नेकपालाई राज्य आफैँले तीनबुँंदे मागहरू कार्यान्वयन गर्ने सर्तमा वार्तामा बोलाए पनि उक्त मागहरू हालसम्म कार्यान्वन नभएकोले कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाइएको युवा सङ्गठन म्याग्दीका अध्यक्ष्य नवीन विश्वकर्माले बताए । खुल्ला राजनीतिमा आएसँगै विप्लव नेतृत्वको नेकपाले आफ्ना राजनीतिक गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ । हाम्रा मागहरू राज्यले कार्यान्वयन गर्नुपर्छ, नेकपाको धौलागिरी इन्चार्ज इन्द्र बिक्रम साउँदले जानकारी दिए ।

नेकपा र राज्यबीच भएको तीनबुँदे सहमतिहरूमा पहिलो राजनीतिक आस्थाका आधारमा लगाइएका झुठा मुद्दाहरू तुरुन्त खारेज गर्ने, दोस्रो राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका बन्दीहरूलाई निसर्त रिहाइ गर्ने तथा तेस्रो जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :