युवा सङ्गठन रुपन्देहीले सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझायो

युवा सङ्गठन रुपन्देहीले सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझायो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, रूपन्देहीले नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भैरहवामा सिडियोमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्गठनका चौंथो राष्ट्रिय सम्मेलन कार्यालय सदस्य तथा निवर्तमान महासचिव सागरको नेतृत्वमा जिल्ला प्रशासन भैरहवामा सिडियोमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

युवा सङ्गठन नेपाल रुपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राजनीतिक आस्थाका आधारमा लगाइएका झुट्ठा मुद्दाहरू तुरुन्त खारेज गर्न, राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर्न र जनमतसङ्ग्रहका लागि उचित वातावरण तयार गर्न जोडदार माग गरिएको छ ।

ज्ञापनपत्र बुझाए पश्चात् जिल्ला प्रशासन कार्यालय अगाडि सङ्गठनका व्यापक नेताकार्यकर्ताको उपस्थितिमा नराबाजीसहत धर्ना दिएको थियो । धर्ना कार्यक्रममा तीनबुँदे सहमति कार्यान्वयन गर, आस्थाका बन्दीहरूलाई निःशर्त रिहाई गर, जनमतसङ्ग्रह घोषणा गर, युवा सङ्गठन नेपाल जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद लगायतका नाराहरू लगाइएको थियो ।

धर्ना कार्यक्रमपछि भएको कोणसभामा बोल्दै सङ्गठनका चौंथो राष्ट्रिय सम्मेलन कार्यालय सदस्य तथा निवर्तमान महासचिव सागरले ज्ञापनपत्रलाई कागजको खोस्टो बनाएर डस्बिनमा फालिए परिणाम नराम्रो हुने बताए । उनले आस्थाका राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै नेता कार्यकर्तामाथिको झुट्ठा मुद्दा खारेज गर्न माग गरे । त्यसैगरी सङ्गठनका रुपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले आस्थाका बन्दीहरूलाई तत्काल रिहाई नगरे कडा सङ्घर्ष गर्ने बताए । उनले तीनबुँदे सहमति तत्काल कार्यान्वयन गर्न मागसमेत गरे ।

कार्यक्रममा ओमसोतिया–रोहिणी सेक्रेटरी शिशिर, सिद्वार्थ नगरपालिका सेक्रेटरी जसवन्त, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य खोमा तरामु मगर, नेकपा माओवादी केन्द्र समाजवादीका नेता विनोद उपाध्याय, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्ला उपाध्यक्ष उषा पाठक लगायतको सहभागिता रहेकोे प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :