नेकपा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न

नेकपा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले कमलबजारमा नगरभेला सम्पन्न गरेको छ । जिल्ला सङ्गठन समिति अछामको आयोजनामा सञ्चालित सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियान निरन्तरताको क्रममा अछामको कमलबजार नगरपालिकामा नगर भेला सम्पन्न भएको हो । नगरभेलाबाट १९ सदस्यीय कमिटी विस्तार भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सचिव तपेन्द्र तिमिल्सिना ‘सङ्घर्ष’ ले नेपालमा महान् दशबर्षे जनयुद्ध विचार, राजनीतिक दृष्टिकोण, आदर्शबाट सञ्चालन भएको थियो तर पार्टीका गद्दार नेतृत्वहरूले नेपाली जनताको आशा, भरोसा र सहिदको सपनामा कुठाराघात गरेपछि पार्टीमा दुईलाइन सङ्घर्ष हुँदै जनताको सपना पूरा गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापना गरिएको बताए । उनले एनसेलको अरबौँ रुपैयाँ कर नउठाउने तर अनुदानका नाममा राष्ट्रघाती एमसीसी परियोजना पास गर्न सरकार र राजनीतिक दलहरू लागिरहेकोप्रति आपत्ति जनाउँदै एमसीसी परियोजना कुनैपनि हालतमा पास हुन नदिने र राज्यलाई कर नबुझाउने एनसेललाई जनकारवाही गर्ने चेतावनी समेत दिए । आफ्नो पार्टीको आगामी कार्यभारको बारेमा बोल्दै वर्तमान दलाल संसदीय व्यवस्था नेपालमा असफल भइसकेको र यसले राष्ट्रिय राजनीतिलाई निकास नदिने, यसको विकल्प प्रगतिशील संयुक्त सरकारले गर्ने जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद नै भएको सङ्घर्षले बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सचिवालय सदस्य निरक शाहीले सङ्गठनको आगामी कार्यभार र जिम्मेवारीको बारेमा प्रशिक्षण दिएका थिए र साथै नवनिर्वाचित कमिटीलाई जिल्ला कमिटी सदस्य तिलक बिष्टले बधाई तथा शुभकामना मन्तव्य दिए ।

उक्त कार्यक्रममा अध्यक्ष कमलबजार नगरपालिकाका इन्चार्ज युवराज, अतिथि जिल्ला सङ्गठन समिति अछामका सचिवालय सदस्य निरक शाही, मेल्लेख बान्यगडी जयगड गाउँपालिका इन्चार्ज तिलक बिष्ट लगायत विभिन्न जनवर्गीय सङ्गठनका प्रमुख तथा प्रतिनिधि रहेका थिए भने कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाका सचिव कुमार क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :