राष्ट्रघाती एमसीसीविरुद्ध रूपन्देहीमा २२ दलीय मोर्चाको संयुक्त वक्तव्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय मोर्चाले रुपन्देहीमा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध संयुक्त वक्तव्य जारी गरेको छ । वक्तव्यमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमिक, अखण्डता र असंलग्न परराष्ट्र नीतिको खिलाफमा रहेको कुरा पुनपुष्टि भएको भन्दै रूपन्देहीमा २२ दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

वक्तव्यमा सरकारले एमसीसी विरूद्धको आन्दोलनलाई असफल पार्न अनेकौँ षड्यन्त्र, धम्की, गिरफ्तार गर्ने कार्य गरिरहेको भन्दै राष्ट्रघाती एमसीसी सम्झौताको बिरूद्ध हुने आन्दोलनलाई दबाउन सरकारको तर्फबाट गर्ने कुनै पनि क्रियाकलापको तीब्र शब्दमा भत्र्सना गर्दै गिरफ्तार आन्दोलनकारीको अबिलम्ब रिहा गर्न जोडदार माग गरेको छ ।

वक्तव्यमा भनिएको छ, “एमसीसी सम्झौता पास गराउने उद्देश्यले एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेपालको चार दिवसीय भ्रमणमा आएकी छिन् । काठमाडौँ अबतरण गर्ने वित्तिकै उनले राजनैतिक भेटघाटलाई तीव्रता दिएकी छिन् । उनको भेटघाटपछि कतिपय राजनैतिक दलहरूको स्वर बदलिएको छ । कतिपय पार्टीहरूले सम्झौतामा उल्लेखित राष्ट्रघाती प्रावधान संशोधनपछि लागू गर्न सकिने भनिरहेका छन् । अमेरिका एमसीसी सम्झौतामा उल्लेखित राष्ट्रघाती प्रावधान संशोधन गर्न मानिरहेको छैन । जनताको व्यापक विरोधका वावजुद एमसीसी सम्झौता पूर्ण रूपमा खारेज गर्नुको सट्टा संसदबाट पारित गरेर जान खोज्नु लज्जास्पद कार्य हो । अतः एमसीसी सम्झौता संशोधन गरेर लागू गर्ने होइन कि पूर्ण रूपमा खारेज गरेर जानको लागि जोडदार माग गर्दछौँ ।”

संयुक्त वक्तव्यमा नेकपाका सेक्रेटरी विश्वास, नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादीका विनोद मरासिनी, राष्ट्रिय जनमोर्चाका टानबहादुर खत्री, नेकपा मालेका रघुनाथ अर्याल, देशभक्त जनगणतान्त्रिक मोर्चाका रामप्रसाद शर्मा, विवेकशील साझा पार्टीका केशवराज खनाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका डोलराज विश्वकर्मा, राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापा, राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका अध्यक्ष पदम कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :