नेकपा उदयपुरद्वारा राष्ट्रघाती एमसीसीबिरुद्ध विरोध सभा

नेकपा उदयपुरद्वारा राष्ट्रघाती एमसीसीबिरुद्ध विरोध सभा

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप उदयपुरमा एमसीसीविरुद्ध विरोध सभा सम्पन्न भएको छ ।

विरोध सभालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि तथा उदयपुर ओखलढुङ्गा इन्चार्ज बिबेक कुमालले, संसदीय दलहरूले कुनै बेला हाम्रो टाउकोको मोल तोक्दा पनि फरक नपरेको, अझैँ पनि सङ्घर्ष गर्न तयार रहेको बताए । उनले भने, ‘हिजो हामीले नेपाली जनताको गाँसबास, कपास, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्, निरंकुश राजतन्त्रको अन्त्य गर् भनेर हामीले आन्दोलनमा लागेका थियौँ । संसदीय व्यवस्था भनेको खसीको टाउँको झुन्डाएर कुकुरको मासु बेच्ने थलो हो । यो दलाल समसदीय व्यवस्थाको अन्त्य गर्नुपर्छ भनेर हामीले सुरुवात गरेका हौँ । आन्दोलन गर्दै जानेक्रममा दलाल संसदीय व्यवस्थाका मतियारहरूले हामीलाई टाउँकोको मूल्य तोक्ने गरे । तर हामीले कसैको सामु नझुकेर हाम्रो विजयको झन्डा फहराएर यहाँसम्म आइपुगेका छौँं । नेपालमा जबसम्म वैज्ञानिक समाजवाद आउँदैन, जबसम्म नेपालमा वैज्ञानिक समाजवादमार्फत साम्यवादको सपनातिर मुलुक अगाडि बढ्दैन तबसम्म यो देशको प्रगतिको सम्भावना छैन, नेपाली जनता वैदेशिक हस्तक्षेपबाट मुक्त हुन सक्दैनन् ।’

बिबेक कुमालले वैदेशिक हस्तक्षेपबाट मुक्त हुनको लागि नेपालमा गाँसबास, स्वास्थ, शिक्षाको ग्यारेन्टी गर्न र जनतालाई अधिकार सम्पन्न बनाउनको लागि नेपालमा वैज्ञानिक समाजवादको आवश्यकता भएको बताए । उनले नेपालमा वैज्ञानिक समाजवादको आवश्यकता पर्यो र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गर्ने बताए । नेपाली जनतालाई भ्रममा पारेर दलाल भ्रष्टाचारीहरूले आफ्नो दुनो सोझाउनुको लागि मरिहत्ते गरेर लागि परेको पनि उनले बताए । कुमालले एमसीसी जस्तो रास्ट्रघाती परियोजनालाई पास गर्न लागिपरेको भन्दै एमसीसी परियोजना पास गर्न हस्ताक्षर गर्ने संसदलाई गाउँगाउँबाट लखेट्ने र जुन सुकै चोर बाटोबाट पास गराएर ल्याए पनि लागू गर्नु कुनै हालतमा नदिने र हामीले जनताको आवाज उठाउँदा हामीलाई बन्दुकले दबाउन खोजिन्छ भने, त्यसको प्रतिवाद गर्न तयार रहेको चेतावनी दिए ।

कुमालले नेपालमा संसदीय व्यवस्था असफल भएको हुँदा, जनमतसङ्ग्रहबाट आफ्नो राज्यव्यवस्था छान्ने अधिकार नेपाली जनतालाई दिनुपर्ने बताए । उनले त्यसको नेतृत्व नेकपाले गर्ने बताउँदै सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी तथा सम्पूर्ण बुद्धिजीवी वर्गहरूलाई सङ्गठित हुनको लागि आह्वान्समेत गरे ।

त्यस्तै उदयपुर जिल्ला सेक्रेटरी लक्षमण पौडेलले देश बहुध्रुवीकरणमा गएको बताएका छन् । उनले भने, ‘देश बहुध्रुवीकरणमा गएको अवास्था छ, एकतर्फ एमसीसी सम्झौता पास गराउन भारतीय र अमेरिकी साम्राज्यवादीहरूको दूतावास धाइरहेका छन् भने अर्कोतर्फ एमसीसी खारेजीको विषय लिएर सडकमा आन्दोलन चर्कीरहेको अवस्था छ, त्यही आन्दोलनलाई नेतृत्व गर्दै नेपाल कम्युनिस्ट पार्टी अगाडि बढिरहेको अवस्था छ ।’

सम्बोधनकै क्रममा उनले अगाडि भने, ‘संसदीय दलहरूले जनतालाई सामान्य ढङ्गले नसोच्दा हुन्छ, नेपालमा १०४ बर्षको जहानीय राणाशासन पनि नेपाली जनताले हटाएको इतिहास हामीलाई राम्रोसँग थाहा छ । दुई अढाई सय बर्षको राजतन्त्र पनि नेपाली जनताले फालेर नेपालमा गणतन्त्र नेपाली जनताले ल्याएको इतिहास छ । जनताको आवाज उठाएर हिँड्दा हामीले २ बर्ष प्रतिबन्ध यो दलाल सरकारले लगायो र विभिन्न जेलनेल भोग्दै आएका छौँ, जनताको आवाज लिएर हिड्दा हामीलाई फेरि पनि जेलनेल हत्कडी लगाइन्छ भने पनि जनताको मुक्तिको निम्ति जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :