एमसीसी खारेज नभएसम्म आन्दोलन अघि बढाइरहने नेकपाकाे घोषणा

एमसीसी खारेज नभएसम्म आन्दोलन अघि बढाइरहने नेकपाकाे घोषणा

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज नभएसम्म आन्दोलन अघि बढाइरहने उद्घोष गरेको छ । उक्त पार्टीले शनिबार प्रज्ञा भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले एमसीसी खारेज नभएसम्म र देशले स्वाधिनता प्राप्त नगर्दासम्म झन् ठूलो आन्दोलन अघि बढाउने उद्घोष गरेका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्डले एमसीसी नेपाली जनता र आफ्नो पार्टीका लागि स्वीकार्य नभएको बताए । प्रतिक्रियावादी सत्ता र दलालहरु बाहेक सबै नेपाली जनता संस्थागत र व्यक्तिगत रुपमा यसको विरोध गर्दै आएकोले नेपाल कम्युनिष्ट पार्टीले एमसीसी खारेज गराएरै छाड्ने उद्घोष समेत गरे । एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन निर्णायक आन्दोलनको आवश्यक रहेकाले आफ्नो पार्टी केन्द्रीय समितिको बैठक स्थगित गरेर एमसीसीविरुद्धको संघर्षमा सम्पूर्ण रुपले होमिएको बताउदै यसकै विरोधमा भदौ २८ गते काठमाडौँमा विशाल जनप्रदर्शनसहित जनसभा गर्न लागेको बताए । उनले भदौ २८ गते हुने उक्त जनप्रदर्शनको नेतृत्व र जनसभालाई सम्बोधन महासचिव विप्लवले गर्ने जानकारी दिदै जनसभामा सम्पूर्ण देशभक्ति शक्तिहरु, राष्ट्रवादी दल, नेता तथा जनताहरुलाई आमन्त्रण गरेकाे  बताए ।

प्रवक्ता प्रकाण्डले राष्ट्रियतासँगसँगै देशको जलस्रोत तथा अन्य प्राकृतिक स्रोत र सम्पदाको संरक्षणको विषय समेत रहेकाले एमसीसीको विरुद्धमा सबै जनता, राष्ट्रवादी शक्तिहरु एकजुट हुन आह्वान गरे । सरकारले एमसीसी संसदबाट पास गराउने षड्यन्त्र गरिरहेको बताउदै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पास गराउने मूर्खता गरे भने देश ठूलो भूमरीमा फस्ने चेतावनी दिए ।

नेपाली शासकहरु आफ्नो आयु लम्ब्याउनका लागि राष्ट्रघाती कदमहरु अगाडि बढाइरहेको बताउँदै प्रवक्ता प्रकाण्डले भने,–‘एमसीसीको नाममा हाम्रो राष्ट्र र जनताप्रति धाबा बोल्न खोजिएको छ, हामीले यसलाई खारेज गर्न सकेनौँ भने देशको स्वाधिनताको रक्षा हुन सक्दैन त्यसकारण राष्ट्र र जनताको स्वाधिनताका लागि हामी लड्छौँ, राष्ट्र र जनताको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने दाबी गरे ।’

प्रवक्ता प्रकाण्डले सरकारसँग तीन बुँदे सहमति गरेको तर त्यो कार्यान्वयन नभएको बताउँदै नेपाली क्रान्ति र आन्दोलनको विरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गरे ।
जनताको प्रतिनिधित्व गर्ने व्यवस्था नै वैज्ञानिक समाजवाद भएकाले जनताले आफ्नो व्यवस्था चुन्ने अधिकार पाउनु पर्छ उनले भने,-‘त्यसका लागि जनमत संग्रह गरौँ भनेका छौँ, यी कुरा सम्बोधन भएन भने एकपटक जनतासँग संवाद गर्छौ र फेरि आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौ ।’

देशमा संसदीय चुनाव होइन जनमत संग्रहको चुनाव हुनुपर्ने बताउदै प्रवक्ता प्रकाण्डले संसदीय चुनाव भए देशमा विद्रोहको आगो बल्ने चेतावनी दिए ।
प्रवक्ता प्रकाण्डले संसदीय चुनाव नभई जनमत सङ्ग्रह हुनुपर्नेमा जोड दिँदै जनमत संग्रहबाट वैज्ञानिक समाजवादको विकल्प नभएको उल्लेख गरे ।

पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन प्रचारप्रसार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :